arrow

शीतलहरले तीन स्थानीय तहका विद्यालय बन्द

logo
प्रकाशित २०७६ पुष ६ आइतबार
saptari-district.png

सप्तरी । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये हाललाई आइतबारदेखि मङ्गलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ । बन्दको निर्णयपछि राजविराज नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय तीन दिनसम्म बन्द रहने नगरउपप्रमुख साधना झाले बताए । 

तिलाठी कोइलाडी गाउँपालिकाले समेत चार दिनका लागि सामुदायिक विद्यालय बन्द गरेको छ । गाउँपालिका अध्यक्ष शतिशकुमार सिंहले गाउँपालिकाका १७ सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।     सप्तकोशी नगरपालिकाले बिहीबारदेखि सोमबारसम्म पाँच दिनका लागि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बन्दको निर्णयपछि सोमबारसम्मका लागि सप्तकोशी नगरपालिकाका सात आधारभूत र चार माध्यमिक विद्यालय बन्द भएको शिक्षा शाखाका प्रमुख रामदेव चौधरीले बताए । 

सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित र विपन्न परिवारका भएकाले बाक्लो र पर्याप्त कपडा अभावमा चिसोले बिरामी पर्न सक्ने भन्दै स्थानीय तहले विद्यालय बन्द गरेका हुन् । बलानविहुल गाउँपालिकाले पनि विद्यालय बन्द गर्न मौसमको अवस्था मूल्याङ्कन गर्न केहीबेरमा बैठक बस्न लागेको गाउँपालिका अध्यक्ष दयानन्द गोइतले बताए । दिनभरि बाक्लो हुस्सु लाग्ने र कठ्याङ्ग्रिने जाडो बढेकाले त्यसको असरबाट बच्न जिल्लाका विभिन्न चोक र सार्वजनिकस्थलमा आगो बालिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ