arrow

अद्भूत मुक्तिनाथ यात्रा

logo
शाश्वत घिमिरे,
प्रकाशित २०७६ पुष ७ सोमबार
muktinath-mandir.jpeg

स्कुल जीवन होस्टलमा बसेर बित्यो । त्यसपछिको पढाई घरबाट आउने जाने भएको छ । हामीलाई तक्षशीला एकेडमीले शैक्षिक भ्रमणका निम्ति मुक्तिनाथ लैजाने निधो भयो । विहान ७ बजेको लागि तय भएको हाम्रो मुक्तिनाथको यात्रा ८ बजेबाट प्रारम्भ भयो । दुईवटा बस भएपनि एउटा बस भरिभराउ अर्को बसमा केही सीट खालि थिए । म पनि त्यस भरिभराउ बसको सदस्य थिए । बसको पछिल्लो भागमा रमाईलो हुन्छ भनेर सुनील रावत, सुलक्षण थापा मगर, राप्तेन शेर्पा, विशाल अर्याल, सुरज काजी, सञ्जीव भट्टराई र म (शाश्वत घिमिरे) बसेका थियौं । 

पाँच जनाको सीटमा ६ जना बस्दा निक्कै असहज हुँदो रहेछ । त्यस असहजता सामाखुसीबाट कलंकीसम्म मात्र पुग्यो । कलंकी पुगेपछि राप्तेन गितार लिएर अगाडि गई बजाउन थाले । नौविसेमा चिया नास्ता गर्न केहीबेर रोकियौं । चना र अण्डासँगै चिया खाएर हामी बसमा चढ्यौं । नौविसेसम्म आइपुग्दा बसमा गित बजेन स्पीकर विग्रेको रहेछ, नौविसेमा स्पीकर बनाएर हामी हिड्यौं । बसमा हल्ला गुञ्जीरहेको थियो । मोवाइलमा बजाएको गीत स्पीकरमा बज्ने प्रविधिको उल्लंघन गर्दै गीत गाउँदै हामी कुरिनटार पुगेर खाना खायौं । खाना स्वादिष्ट थियो । मांसहारीका लागि मासुको व्यवस्था र साकाहारीको लागि घिऊको व्यवस्था थियो । मलाई मासुको स्वाद खास मिठो नलाग्ने भएकोले मैले घिऊ रोजे । खाना खाएपछि काउण्टरमा गएर सुप र केही सुपारी लिएर हामी बसमा चढ्यौं । खाना खाएर हिडेपछि हामी सबै केहीबेर निदाएछौं । सायद भोकोपेटमा खानाको पूर्तिले गर्दा होला !

आजको बास बेनीमा हुन्छ भनेर चक्र कोइराला सरले हामीलाई बसमा भन्नु भएको थियो । गन्तव्यमा पुग्न बेलुका ८ बज्ने भएकोले हाम्रो नाच्ने कार्यक्रम सुरु भयो । रिचार्ड खेवा लिम्बु, हरिप्रसाद गजुरेल, विराज कराञ्जीत नाच्न थाले । सुवाश आचार्यको नाच बडो जर्वजस्त भएकोले हामी दर्शकहरुको पनि मनोरञ्जन भइरहेको थियो । बेनीमा बसबाट झरेपछि आफ्नो शिर माथिनै पहाड देखेर अचम्म लाग्यो । रात परिसकेको कारण हामी सोझै होटलमा गयौं । पहाडै पहाडको विच होटल हिमालयन भन्दै हामी भित्र पस्यौं । होटलको दुईवटा फ्ल्याट हामीले लियौं । पहिलो पटक साथीहरुसँग होटलमा बस्नुको रमाईलो छुट्टै हुँदो रहेछ । म र अमित तामाङ्ग भएर प्रभाष मण्डल, सौगात रोक्का मगर, गोपी वयलकोटी लगायत सबै केटाहरुको कोठा गयौं । हरिप्रसाद गजुरेलले गीताको किताव, घण्टी र अन्य धार्मीक समाग्रीहरु बोकेको देखेर हामी आश्चर्य भयौं । 

राति अवेरसम्म हल्ला गर्दै बसियो र २ बजे सुतियो । विहान खाजा खाएर हामी कागवेनी तर्फ लागियो । बाटो खराव भएकोले हामीलाई नाच्न मिलिरहेको थिएन । तर हामीसँग हल्ला गर्ने उपाय थियो । हामी गीत गाउदै गयौं । विशाल अधिकारी, सम्पन्न  अर्यालहरु पनि गीत गाउदै थिए । बाटोमा प्राकृत्तिक तातो पानीको मुहान रहेछ । त्यस मुहानलाई संरक्षण गरिएको रहेछ केही तल तातो पानीको पोखरी बनाइएको रहेछ । त्यस पोखरीमा हामी १५ मिनेट बस्यौं । बाटो विस्तारको कारण केहीबेर जाममा पर्दा हामी भोकले आकुल व्याकुल भयौं । जाम खुलेपछि ५ मिनेटको बाटो अघि गएर खाना खान बसियो । खाना खाने ठाउँबाट हिमाल छर्लङ्ग देखियो । हिमालको काखमा बसेर खाना खाएपछि हामी अझ अगाडि बढ्यौं । 

केहीबेरको हिडाई पछि हाम्रो अगाडि धौलागिरी हिमाल सुन्दर र शालिन भएर उभियो । ड्राइभर दाइले हिमालको तस्वीर लिन बस रोकिदिनु भयो । हामी हिमालसँग फोटो खिचेर कालिगण्डकीको तिरैतिर हिड्यौं । चिसो ठाउँमा पुगेको कारण मेरो टाउको दुखेको जस्तो भयो । टोपी लगाएर केहीबेर सुतेपछि अल्लिसन्चो भयो । केही अगाडि बढेपछि मार्फा पुगियो । मार्फामा स्याउको खेति हुँदो रहेछ । त्यहाँ हामीले रुखबाट टिपेर खाएको स्याउको मिठास एकदमै खास थियो । केहीबेर मार्फा घुमेर हामी हल्लै हल्लाको तालमा मुस्ताङ्गको सदरमुकाम जोमसोम बाटैबाट देखियो । त्यहाँको एयर पोर्टको रनवे बाटोबाट देख्दा सानो र सागुरो देखियो हामी अचम्मीत भयौं । यात्राकै केही बेरमा कागवेनी पुग्यौं । कागवेनीमा हामी होटल साँग्रीलामा बस्यौं । जाडो समय भएपनि होटल न्यानो थियो । होटल, होटल जस्तो नभएर घर जस्तो थियो । यहाँ पनि हामी साथीहरुका विच लामो कुराकानी गरेर १ बजे सुत्यौं ।

बिहान ५ बजे उठेर मुक्तिनाथ मन्दीर तर्फ लागियो । ठण्डीको स्वरुप थर्मकोट, स्वीटर, ज्याकेट, गलबन्दी, टोपी र पञ्जा अनिवार्य थियो । त्यस्तो ठण्डीमा पनि हामीले मुक्तिनाथमा नुहाउनु पर्छ भन्ने साहस लिएका थियौं । सन्देश प्याकुरेल, अशिम ढकाल, अमित, सुरज, प्रयुष केसी र म नुहाउन पर्छ भनेर आत्मबल बढाई रहेका थियौं । मुक्तिनाथ पुगेपछि घोडाको व्यवस्था देखेर रमाइलो लाग्यो । हामी घोडा चढ्यौं । तल हेलीप्याडदेखि केहीबेर माथि गएपछि मन्दिर देखियो । समुन्द्र सतहदेखि ३७१० मिटर माथि रहेको मन्दीरमा आराधना गरियो । यस मुक्तिनाथ मन्दिरमा भगवान विष्णुको वास छ भन्ने मान्यता छ । मन्दिर भित्र पुजा गरेपछि कपडा फेर्ने घरमा गएर कपडा फेरियो । नुहाउन साहस गर्दै सन्देश, अमित र म नुहाउन दौडियौं । १०८ धारा नुहाएर कुण्डमा डुबुल्की लगाउदा म दुई रुपैयाँको सिक्का टिप्न सफल भए । पानी जमेर हिऊ भएको ठाउँमा असिम चिप्लेर लडेछन् । असिमको घुडामा घाऊ भयो । ठण्डीको कारणले लुगा लगाउन साह्रै गाह्रो भयो । जसोतसो लुगा लगाएपछि आगोको व्यवस्था देखेर मन हर्षित भयो । केहीबेर जिउ तताएर हामी तल झ¥यौं । तल हेलीप्याडमा केही समय आफै घोडामा बसेर दौडाउन मिल्ने रहेछ । आफैले घोडा दौडाउदा एक किसिमको नयाँ अनुभूति भयो । रमाईलो र आनन्दको प्रतित भयो ।

मुस्ताङ्गको खाना मिठो हुन्छ भन्ने आश थियो । तर त्यो आश, आश नै रह्यो । बेलुका बास लेतेमा हुने भएकोले हामी मुस्ताङ्गबाट झ-यौं । बाटोमा सेल्फी डाँडो रहेछ । सेल्फी डाँडोमा बस रोकेर केही तस्वीरका साथ प्रकृतिको अवलोकन गरियो । हिमालै हिमालको बाटो हुँदै हामी फर्कियौं । बाटोमा बस रोकेर स्याउ र स्याउको सुकुटीहरु किन्यौं । स्याउ ताजा नभएर होला खासै मिठो थिएन । तर स्याउको सुकुटी मिठो थियो । चौरीको छुर्पीको स्वाद बेग्लै मिठो भएकाले छुर्पी पनि किनियो । बाटोमा डुम्बाताल पर्ने भएकोले त्यसको अवलोकन गर्ने कुरा भयो । डुम्बा तालमा जान जोमसोमको सदरमुकामको एयर्रपोटको बाटो हुँदै करिव १ घण्टा हिड्न पर्ने रहेछ । डुम्बातालमा नाङ्ग देवताको बास छ भन्ने मान्यता रहेछ । तालको सौन्दर्य हेरेपछि हामीलाई बस भएको ठाउँमा आइपुग्न आधा घण्टा लाग्यो । लामो हिमालको हिडाई भएको कारणले होला हामी भोकले रन्थनिन थाल्यौं । केहीबेर बस हिडेपछि मार्फामा होटल रेड एप्पलमा चाउचाउ खाइयो । चाउचाउको सुप ज्यादै मिठो लाग्यो । 

बेलुका लेतेमा खाना खाएपछि आगोको व्यवस्था थियो । आगोको वरिपरि बसेर गाउने बजाउने कार्यक्रम थियो । मादल प्रयुसले बजाउदै थिए, गीतार बजाउनेमा म पनि थिए । अमर चौधरी, सागर विडारी, हेमन्त कार्की, विजय भट्ट, मोहन अधिकारी, मनोज खकुरेल र सुरेन लगायत केहीबेर आगो तापेपछि स्पीकरमा सौगातको मोवाइलबाट गीत घन्काएर नाचियो । केहीबेर नाचेपछि कोठामा गएर साथीहरुसँग तास खेलेर ३ बजे सुतियो । सुतेको केही पहर पनि भएको थिएन चक्र कोइराला र नरेश भट्ट सरहरु हामीलाई उठाउन आउनु भयो । समयमा पुगिएन भने ४ घण्टा ढिला हुने अवस्था थियो । हामी सबै हतार हतार गरेर बसमा चढ्यौं । बाटो विस्तारको कार्य सुरु भइसकेको आधा घण्टा भएकाले हामी ४ घण्टा जाममा प¥यौं । पोखरा बेलुका ८ बजेतिर पुगिन्छ भन्ने अनुमान भयो । ४ घण्टा हिमाल हेर्दै, तास खेल्दै होटलमा समय विताइयो । समय भएपछि हामी पोखरा तर्फ लागियो । बाटोमा बाग्लुङ्ग कालिका मन्दिरको दर्शन पनि गरियो । पर्वतमा केहीबेर अडिएर त्यहाँको एक डाडोबाट अर्को डाडामा जाने झोलुङ्गे पुल तरियो । बेलुका ८ बजेतिर पोखरा लेकसाईटको फेवा रिसोर्टमा हामी पुगियो । हातमुख धोएर खाना खान सरले बोलाउनु भयो । खाना खाए लगत्तै हामी रात्रीको लेकसाईट घुम्न गयौं ।

विहानै उठेर फेवातालको माझमा भएको तालवाराही मन्दीरको दर्शनगरी त्यहाँ केही तस्वीरहरु लिइयो । डेविस्फल र गुप्तेश्वर गुफामा पसेर हामी खाना खान होटल गयौं । खाना खाएपछि विन्दवासीनी मन्दीर गएर दर्शन ग-यौं ।

पोखरामा मेरो मान्यजनहरु हुनुहुन्छ । मैले मेरो ठूली फुपु हरिमाया सिग्देललाई फोन गरे । उहाँको फोनमा सम्पर्क हुन सकेन । त्यसपछि मैले मेरो कान्छो बाबा शिवचन्द्र घिमिरेलाई फोन गरे । उहाँसँग मेरो कुरा भयो । उहाँ पोखराकै सिसुवामा बस्नु हुन्छ । उहाँले बेगनासताल आयौं भने मलाई फोनगर भन्नु भयो । मेरो ठूलो मामा रामभक्त पौडेल र माइजु तारा पौडेललाई फोन गरे । सम्पर्क हुन सकेन । मामाले फोन घरमा राखेर बाहिर जानु भएको समाचार म काठमाडौं आएपछि पाए ।

सरले हामीलाई बेगनास ताल पनि घुम्नजाने भनेर खबर दिनु भयो । खवर पाएपछि मैले कान्छो बाबालाई फोन गरे । उहाँ कक्षामा पढाउदै हुनुहुदो रहेछ । “केही समय बस्यौं भने हामी भेट्र्छौ” भन्नु भयो । समयको अनुकुलता नमिलेर हामी बेगनास तालबाट १५ मिनेटमा नै हिड्यौं । कान्छो बाबासँग भेट हुन सकेन । बाटोमा नाच्दै गाउँदै कुरिनटार आएर खाना खान रोकियौं । खाना खाएर बसमा नाच्दै हामी राति ८ बजे काठमाडौं आयौं । बाबा (रामचन्द्र घिमिरे) मलाई लिन हाम्रो कलेजसम्म आउनु भएको रहेछ । प्रकृति तिवारीलाई उनको घरनजिकसम्म पुर्याएर हामी घर आयौं ।

मेरो यस किसिमको पहिलो यात्रा भएको हुँदा ममा ज्यादै उत्सुकता थियो । यस्तो भ्रमणले हाम्रो मानसिक र शारिरिक अप्ठ्याराहरु भएपनि रमाइलो र आनन्दीत हुने रहेछ । हाम्रो अभिभावक बनेर यात्रामा हिड्नु भएको मिस, सर र स्कुल परिवार प्रति हार्दिक कृतज्ञता जनाउछौं । (लेखक शाश्वत घिमिरेका दुई कृति “सुन्दर नेपाल” कविता संग्रह र “होस्टल” उपन्यास सार्वजनिक भइसकेका छन् । उनी तक्षशिला एकेडमीमा १२ कक्षामा पढ्छन्)
 



नयाँ