arrow

फ्लेक्स बोर्डले इज्जत धानेको ‘मेरो सरकार’

कहिले पोल–पोलमा, कहिले फोहोर थुपार्ने टेकु टोलमा

logo
यमुना भण्डारी,
प्रकाशित २०७६ पुष ८ मंगलबार
flakes.jpeg.jpg

काठमाडौं । नेपाली खेलकूद इतिहासमा गएको मंसिर महिना सबैभन्दा सुखद् रह्यो । दक्षिण एसियाली खेलकूद (साग) मा हालसम्मकै सबैभन्दा ठूलो सफलता मिल्यो नेपाललाई । १३ औं सागमा स्वर्ण पदक मात्रै ५१ पर्यो नेपालको पोल्टामा ।

त्यति मात्रै होइन, सँगै पूर्वाधार निर्माण र सँगै १३ औँ सागको तयारी गरेको आयोजक नेपालले हतारमा पनि भव्य कार्यक्रम आयोजना गर्न सकिने उदाहरण पेश गर्यो । 

तर, व्यवस्थापनमा गरेका स–साना कमजोरीले आयोजक आलोचनाको भने नराम्ररी शिकार भयो । दौरा सुरुवाल काण्ड, अर्कै मुलुकका सहभागीसँग पेस्तोल मागेर सुटिङमा सहभागी हुनुपरेको परिस्थिति, जर्सी समेत अर्कैलाई माग्नु परेको अवस्था, रंगशालामा पत्रकार कुटिएको घटना र खेलाडीलाई पुरस्कार घोषणामा गरिएको विभेद–आलोचनाका कारण थिए । 

यहाँनेर उठाउन खोजिएको विषय भने अर्कै हो। १३औँ साग तयारी तथा व्यवस्थापन समितिको सचिवालयका अनुसार प्रचार–प्रसारका लागि मात्रै झण्डै ८ करोड बजेट थियो ।

त्यो मध्ये आधाबढी फ्लेक्स प्रिन्ट एवं पोष्टरमै खर्च भएको अनुमान गरिएको छ। यद्यपि फ्लेक्स प्रिन्ट एवं पोष्टरमा खर्च भएको यकिन विवरण आएको छैन। साग सम्पन्न गर्न विभिन्न १६ वटा समिति बनेका थिए । 

प्रचार–प्रसारमा राष्ट्रिय खेलकूद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले आफ्नै नजिकका मान्छे राखेका थिए । यतिसम्म कि उनको गोल्डेनगेट कलजेमा सँगै सहकार्य गरेका मान्छेहरु त्यो समितिमा थिए । उनीहरु कसैले पनि फ्लेक्स प्रिन्ट बनाउन र टाँग्न कति खर्च लाग्यो भन्ने जानकारी दिएनन् । 

साग सचिवालयका एक अधिकारीले अहिले बिल आउने क्रम जारी छ, सबै ठाउँबाट बिल नआएका कारण कति खर्च भयो ? भन्ने यकिन भएको छैन, भन्दिए । उनका अनुसार प्रचार–प्रसारको ८ करोड बजेट पनि पहिल्यै पास भएको होइन, सबै बिल भर्पाई बुझाएपछि बजेट पास हुने हो । 

फ्लेक्स प्रिन्ट छपाई हुने एउटा ठाउँमा बुझ्दा स्क्वायर फिटका आधारमा रुपैयाँ पर्ने जवाफ आयो। स्क्वायर फिटले हिसाब गर्दा यो, साईजको फ्लेक्स प्रिन्टको झण्डै पाँच हजार पर्ने देखियो । 

१३औँ साग तीन शहरमा आयोजना भएको थियो। काठमाडौं, पोखरा र जनकपुर । तीनै शहरमा यसरी फ्लेक्स टाँगिएको थियो। फ्लेक्स मात्रै होइन, ठाउँ–ठाउँमा स्वागतद्वार र प्रधानमन्त्री केपी ओलीको फोटोसहितको ठूला फ्लेक्स पनि राखिएका थिए ।

त्यत्रो खर्च गरेर पारिएको झकिझकाउ साग सकिएको भोलिपल्ट विजोग देखिएको थियो । अहिले ती फ्लेक्स नगर प्रहरीले काठमाडौं महानगरको फोहर थुपार्ने टेकुमा थुप्रो लगाएको छ । 

फ्लेक्स उठाउने मध्येकै एक नगर प्रहरीले भने, ‘मेरो नाम नलेख्नु, कुरा म सबै भन्छु । साग चल्दा सडकभरी राखिएका फ्लेक्स हामीले नै उठाएका हौँ । अहिले टेकुमा थुपारेका छौँ । फलामको फ्रेम लिलाम विक्रि हुन्छ। बाँकी बोक्रो चाँहि त्यहीँ रहन्छ।’ 

अनि के फोहोरसँगै फाल्ने हो त्यसलाई ? जवाफमा उनले भने, ‘होइन, जहाँ थुपारिएको छ, त्यहीँ रहन्छ। पछि त्यो झुत्रा–झुत्रा हुन्छ। तर, सड्दैन । जलाएर पनि साध्य लाग्दैन त्यो त्यसै रहन्छ।’ उनका अनुसार त्यसमा फाइबर, माड लगायत प्लाष्टिकजन्य चिजहरु हुन्छन् ।

साग मात्रै होइन, अहिले नेपालमा फ्लेक्स प्रिन्ट गाउँ–गाउँसम्म फैलिइसकेको छ। यो पूर्णरुपमा नसड्ने भएकाले वातावरण विगार्न असाध्यै भूमिका खेल्छ। फ्लेक्स उठाउने ती नगर प्रहरीले पहिले कपडाको व्यानर बनाईन्थ्यो, त्यो पुनः प्रयोग पनि हुन्थ्यो भने । 

अहिले हाम्रा प्रधानमन्त्री र मन्त्रीहरु नै आफ्ना फोटोहरु फ्लेक्समा टाँसेको देखेर दंग पर्छन्, उनले भने, ‘नेताहरुले त्यसो गरेको देख्दा हामीलाई भने उदेक लाग्छ ।’

‘छिमेकी भारतमा यसको विरोध भएपछि अहिले कपडाकै प्रयोग गर्न थालिएको सुनेको छुँ मैले’, उनले भने, ‘भारतमा अबको केही वर्षमा डिजेल गाडीहरु विस्थापित गरेर ईलेक्ट्रोनिक्स गाडीहरुको उत्पादन बढाउने कुरा छ । हामीकहाँ सस्तो लोकप्रियताका लागि जे पनि गर्छन्, मान्छेहरु ।’

सस्तो लोकप्रियताका लागि वातावरण चौपट पारिँदै 
लोकप्रियताकै लागि नेपालमा प्लाष्टिक प्रतिबन्ध गर्ने निर्णय हुन्छन्। अभियान चल्छन्। त्यो अभियानको उद्घाटन सरकारमै हुनेहरुले गर्छन्। तर, २० माईक्रोन भन्दा कम मापदण्डका प्लाष्टिक झोलाले अहिले पनि बजार ढाकेकै छ। ठीक त्यसैगरी अहिले फ्लेक्स प्रिन्टवालाहरुको रोटी राम्रैसँग सेकिएको छ । तर, वातावरण चौपट पारेको कुरा उनीहरु स्वीकार्न तयार छैनन् । किनभने मुलुकको प्रधानमन्त्री नै उनीहरुको खरिदकर्ता हुन् । अझै भन्ने हो भने प्रधानमन्त्रीको ‘नयाँ युग’ आएकै यस्तै फ्लेक्समा हो । 

सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गर्दा पनि त्यसरी सिँगारिएको थियो, काठमाडौं। कुरा त्यतिमात्रै होइन, विम्स्टेक सम्मेलन हुँदा अस्तव्यस्त काठमाडौंको तीनकुने फ्लेक्सले नै लुकाइयो । चिनियाँ राष्ट्रपतिको भ्रमणमा पनि यही फ्लेक्स काम आयो । बंगलादेशका राष्ट्रपतिको भ्रमण लगायत कयौँ पल्ट इज्जत धानेको छ, यो फ्लेक्सले सरकारको। असाध्यै सजिलो भएको छ यो मान्छेहरुलाई । काम र नाम देखाउन ।

तर, यसको नोक्सानीबारे भने कसैले होस् गरेका छैनन्। प्रधानमन्त्री नै सस्तोमा, मस्त रमाउँछन् भने अरुलाई के को मतलव ? के को वातावरण प्रदूषण ? के को मानव स्वास्थ्यको चिन्ता ? 

फ्लेक्स प्लाष्टिक भन्दा घातक 
प्लाष्टिक मुक्त वातावरणका अभियन्ता भरत बस्नेतले फ्लेक्स प्लाष्टिक भन्दा घातक भएको बताए। उनले भने, ‘४० माईक्रोनदेखि माथिका प्लाष्टिक झोला रिसाईकल गरेर अर्को वस्तु निर्माण गर्न सकिन्छ। तर, फ्लेक्स मक्किदै गएर टुक्रा–टुक्रा हुन्छ र वातावरणमा मिसिन्छ ।’ 

वातावरणमा मिसिन्छ भन्नाले ? जवाफमा उनले भने, ‘माटोमा, पानीमा र वायुमा यसका टुक्राहरु मिसिन्छन्।’ प्लाष्टिकजन्य वस्तु व्यवस्थापनलाई लिएर बस्नेतले सर्वोच्चमा रिट समेत हालेका छन्। उनको रिटमा पेशी तोकिएपनि अहिलेसम्म सुनुवाई हुन सकेको छैन। 

सरकारले यो पल्ट देशभर वृक्षरोपणको अभियान नै चलाएको छ। काठमाडौं महानगरले पनि सडक किनारामा विरुवा रोप्ने कार्य गरेकै छ। तर, फ्लेक्स व्यवस्थापनको मामिलामा काठमाडौं महानगरको वातावरण विभाग आफैँ अनभिज्ञ छ। 

महानगरको वातावरण विभागलाई साग चल्दा काठमाडौंका सडकमा टाँगिएका फ्लेक्स कसले उठायो भन्ने पनि थाहा रहेनछ ।

नगर प्रहरीले ती फ्लेक्स उठाएको बताइरहँदा वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठ भने अझै पनि ‘त्यो फ्लेक्स जसले टाँग्यो, उसैले उठाउने हो’ भन्छन् । यसले के भन्छ ?–‘जुन जोगी आए पनि कानै चिरिएका’ अर्थात् जति सरकार बने पनि जनतालाई ‘सम्मै’ । 



नयाँ