arrow

झारखण्ड निर्वाचनले मोदीलाई दिएको सन्देश

logo
दिलीप शर्मा,
प्रकाशित २०७६ पुष ९ बुधबार
narendra-modi1.jpg

काठमाडौं। सन् २०१९ भारत निर्वाचनमय हुँदा यो वर्षको सुरुमा भएको संसदीय चुनावमा अत्यधिक बहुमत प्राप्त गरी विजयी भएको प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी भाजपालाई जुन सफलता केन्द्रीय संसद्मा मिलेको थियो त्यो उभार क्षेत्रीय निर्वाचनमा मिलेको देखिँदैन।

केही दिन पहिले सम्पन्न विधानसभा चुनाबमा झारखण्डमा ठूलो दल भएर झारखण्ड मुक्तिमोर्चा (जेएमएम) आउन सफल भएको छ। उसले ८१ सदस्यका लागि भएको क्षेत्रीय विधानसभा निर्वाचनमा ३० सीट ल्याउन सफल भएको छ। झारखण्डमा भाजपाविरूद्ध इन्डियन नेशनल कङ्ग्रेस (आइएनसी)बीचको गठबन्धन पनि निर्णायक बनेको हो। झारखण्डमा जेएमएम–कङ्ग्रेस–आरजेडी गठबन्धन रहेको थियो। गठबन्धनबाट जेएमएम र कङ्ग्रेसलाई राम्रो सफलता मिलेको देख्न सकिन्छ तर आरजेडीलाई भने खासै उपलब्धि भएको देखिदैन।

भाजपाको केन्द्रीय र क्षेत्रीय राजनीतिबीच तालमेल नहुनुलाई पनि हारका लागि जिम्मेवार मान्न सकिन्छ। भाजपाले अक्टोबर महिनामा हरियाणामा भएको विधानसभा चुनावमा पनि बहुमत गुमाएको थियो। त्यस्तै क्षेत्रीय सहयोगी शिव सेनासँगको सम्बन्ध टुटेपछि भाजपाले महाराष्ट्रमा सरकार बनाउन सकेको थिएन।

हुनतःमतपरिणामलाई छुट्टाछुट्टै राखेर हेर्दा भाजपा दोस्रो स्थानमा रहेको छ। केन्द्रमा आफ्नो दलको नेतृत्वले गरिब लक्षित लोकप्रिय कार्यक्रमले स्थानीय राजनीतिलाई प्रभावित तुल्याउन नसकेको देखियो। हिन्दु बहुल राज्य भारतमा राष्ट्रियताका लागि चर्चित मुद्दाका रूपमा लिने गरिएका अयोध्यामा दशकौँदेखि अनिर्णित रहेको राम मन्दीरको निर्माणको निर्णय, जम्मू काश्मिरको तनाव कम गर्ने उद्देश्यले भारतीय संविधानको धारा ३७०लाई निलम्बन गर्ने निर्णय होस् वा नागरिकतासम्बन्धी नयाँ कानून (सीएए) र देशभर नागरिकको नाम दर्ता गर्ने कदम (एनआरसी)बारे आएका पछिल्ला निर्णयको प्रभाव प्रान्तमा हावी हुन नसक्नु बिजेपीका लागि पराजयको कारण बनेका भारतीय सञ्चमरमाध्यममार्फत राजनीतिक विश्लेषकले धारणा व्यक्त गरेका छन्।

भाजपाले विकासका मुद्दा उठाएर यसै वर्ष सम्पन्न केन्द्रीय संसद्का लागि भएको निर्वाचनमा अपार सफलता पाएको थियो। त्यसको सफलतामा भाजपाले क्षेत्रीय दलसँग गरेको गठबन्धनले पनि निकै हदसम्म काम गरेको थियो। झारखण्डमा भाजपाले आफ्नो पक्षमा राम्रै जनमत भएको र निर्वाचनमा कसैसँग तालमेल गरेर नजाने मनोविज्ञानले गर्दा पनि निर्वाचनमा अपेक्षाकृत सफलता नपाएको देखिन्छ।

भाजपा झारखण्डमा सबैभन्दा बढी मत ल्याएर पनि दोस्रो ठूलो दल बन्न पुगेको हो। पहिलो स्थानमा देखिएको जेएमएमले भन्दा भाजपाले पाँच सीट कम अर्थात् २५ सीट ल्याउन सफल भएको छ। विधानसभामा ३० स्थान जित्न सफल जेएमएमले पाएको कुल मतसङ्ख्या २८ लाख १७ हजार ४४२ रहेको छ। यो बिजेपीले पाएको कुल मतसङ्ख्या ५० लाख २२ हजार ३७४ भन्दा झण्डै २२ लाख कम हो।

निर्वाचनमा कङ्ग्रेस (आइएनसी)ले १६ सीट, झारखण्ड विकास मोर्चा (प्रजातान्त्रिक)ले तीन सीट, अल झारखण्ड स्टुडेन्ट यूनियन (आजसू)ले दुई सीट, स्वतन्त्रले दुई र कम्युनिष्ट पार्टी अफ इन्डिया (माक्र्सवादी–लेनिनवादी) लिबरेसन, नेशनालिस्ट कङ्ग्रेस पार्टी र राष्ट्रिय जनता दल (आरजेडी)ले एक एक सीट हात पारेका छन्।

सरकारले ल्याएको नागरिकतासम्बन्धी नयाँ कानुनविरुद्ध देशव्यापीरूपमा जारी विरोधकाबीच मतदान भएको र केही हदसम्म यसको प्रभाब निर्वाचनमा परेको भाजपाको उक्त निर्णयलाई पनि मतदानका माध्यमबाट अनुमोदन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएको छन्। झारखण्डमा भाजपाको नेतृत्व गरिरहेका मुख्यमन्त्री रघुवर दासले निर्वाचनमा आफ्नो दलको पराजयप्रति जिम्मेवारी लिँदै मुख्यमन्त्रीबाट राजिनामाको घोषणा गरेका छन् तर उनलाई अर्को सरकार गठन नहुँदासम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्न आग्रह गरिएको छ।

उनले भने, “मैले गभर्नर द्रौपदी मुर्मीलाई मुख्यमन्त्री पदबाट राजिनामा पेश गरेको छु। उनले मलाई अर्को सरकार नबन्दासम्म कामचलाउ मुख्यमन्त्रीकारूपमा काम गर्न आग्रह गर्नुभएको छ।” पार्टीकै विद्रोही उम्मेदवार सरयू रायले मुख्यमन्त्री दासलाई १५ हजार मतअन्तरले पराजित गरेका छन् भने पाँच वर्ष पहिले ३७ सीट एक्लै भाजपाले जितेकोमा २५ सीट आएपछि नैतिक जिम्मेवारी राज्य सरकारका हैसियतमा मुख्यमन्त्रीले लिँदै राजिनामा दिएका हुन्।

जेएमएम नेतृत्वको गठबन्धनले आगामी मुख्यमन्त्रीका रूपमा हेमन्त सोरेनलाई अघि सार्ने बताएको छ। अल इन्डिया कङ्ग्रेस समितिका इन्चार्ज आरपिएन सिंहले भने, “हामीले सरकार बनाउँछौँ र सरकारको नेतृत्वका लागि छलफल जारी छ। जनताको जीवन र रोजिरोटीको व्यवस्थाका लागि व्यवस्थित योजनाका साथ गठबन्धन सरकार आगामी दिनमा अघि बढ्नेछ।”

भाजपा नेतृत्वले राज्यमा भ्रष्टाचार र राजनीतिक अभिमानका देखाएका कारण जनताले कङ्ग्रेस गठबन्धनलाई जिताएको आइएनसीका झारखण्ड निर्वाचन संयोजक अजय शर्माले बताए। भाजपाले झारखण्डमा अपेक्षाकृत मत नपाउनुलाई मुसलमान समुदायको विरोधी भएको दावी गरिने नागरिकतासम्बन्धी नयाँ कानूनको कारण चलिरहेको आन्दोलनको पनि प्रभाब परेको आलोचकले बताएका छन्। विरोध प्रदर्शनका क्रममा करिब दुई हप्तासम्म भएका झडपमा भारतमा कम्तीमा २० जनाभन्दा बढीको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन्।

भाजपा र आजसूको जम्मा मत प्रतिशत करिब छ प्रतिशत बढी आएपनि सरकार गठनका लागि ती दुई दलको बहुमत भने पुग्दैन। भाजपा र आजसूले पाएको जम्मा मत प्रतिशत ४१.५ रहेको छ भने जेएमएम–कङ्ग्रेस–आरजेडीको गठबन्धनले ल्याएको मत प्रतिशतभन्दा मात्रै ३५.४ छ।

भाजपाले जनजाती बहुल क्षेत्र, औद्योगिक तथा नगर क्षेत्र मानिने जम्सेदपुरजस्ता स्थानमा नगन्य मत पाएको छ। औद्योगिक क्षेत्रमा पछिल्लो समयमा रोजगारीका अवसरको सिर्जना नगन्य रहेकोले यस क्षेत्रमा सत्ताबाहिर रहेको कङ्ग्रेस गठबन्धनले यसको फाइदा लिन सफल भएको छ।

प्रतिपक्षी गठबन्धनले आदिवासीको जग्गा अधिग्रहणको मुद्दालाई निर्वाचनमा भोट तान्ने गतिलो मुद्दा बनाएको थियो। जेएमएमले आफ्नो निर्वाचन घोषणा पत्रमा निजी क्षेत्रमा सिर्जना हुने ७५ प्रतिशत रोजगारीका अवसरलाई औद्योगिक क्षेत्रमा मत आकर्षण गर्ने कसिलो मुद्दाका रूपमा अघि सारेको थियो भने कृषि क्षेत्रको ऋण मिनाह जेएमएम गठबन्धनको अर्को लोकप्रिय नारा थियो।

भारतका उत्तर प्रदेश (यूपी) र बिहारपछि निम्न प्रतिव्यक्ति आय भएको झारखण्डमा खाद्यान्न लगायत आधारभूत दैनिक आवश्यकता र शिक्षाको सुविधाका लागि यहाँका नागरिक सङ्घर्षरत छन्। झारखण्डका मतदाताको निर्वाचनमार्फत व्यक्त सन्देशले भाजपालाई आफ्नो आगामी बाटो सुधारका लागि अभिप्रेरित गरेको छ। राष्ट्रिय अर्थतन्त्र सुधार, जनताको दैनिकी, आवश्यकता, गरिबि निवारण, शैक्षिक सुधार, कृषक र श्रमिकका क्षेत्रका समस्यालगायतका बिषयको उठान र समाधानका प्रयास आगामी दिनमा झारखण्डको निर्वाचन जित्ने मुद्दा हुन सक्ने विश्लेषक बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ