arrow

चेक गणतन्त्रको प्रागमा किन फहराइन्छ तिब्बती झण्डा ? 

logo
प्रकाशित २०७६ पुष १० बिहिबार
prague-czech-republic.jpg

काठमाडौं। पछिल्लो केही समययता छिमेकी मुलुक चीनको विषयमा विभिन्न किमिसका समाचार आइरहेका छन्। चीनले विभिन्न योजनाको माध्यमबाट विश्वभर प्रभाव बढाउँदै लगिरहँदा केहीले यसको पक्षमा र केहीले यसको विपक्षमा वकालत गर्दै आएका छन्। 

धेरैले भने चीनका योजनामा सम्झौता गर्दा चीनको ऋण जालमा पर्नसक्ने भन्दै चेतावनी दिँदै आएका छन्। यस्तोमा केही मुलुकमा यसको नकारात्मक असर पनि देखिन शुरु भइसकेको छ। तर, त्यस्ता केही घटनालाई चीनले विभिन्न तर्क दिएर पन्छाउने गरेको छ।

यसैबीच चीनको सहयोगी मुलुकमध्येको एक चेक गणतन्त्र पनि हो। चेक गणतन्त्रसँग पनि चीनले आफ्नो निकटता बढाउँदै लगेको छ। तर, केही समययता भने यी दुई मुलुकको सम्बन्धमा केही चिसोपना आएको छ। चेक गणतन्त्रको राजधानी सहर प्रागका मेयर ज्डेनेक ह्रीबले आफ्नो विचार समेटेर अमेरिकाको प्रतिष्ठित पत्रिका वाशिङटन पोस्टमा आफ्नो लेख प्रकाशित गरेका छन्। उक्त लेखको भावानुवाद यहाँ प्रस्तुत गरिएको छ–

चेक गणतन्त्रको राजधानी सहर प्राग यूरोपको सबैभन्दा ठूलो सांगीतिक सहरमध्येको एक हो। यसको निकै गर्विलो महत्व पनि रहेको छ। यहाँका संगीतकारले विश्वभरका पाहुनालाई स्वागत गर्ने गरेका छन्। तर, यस वर्षसम्म यो सहरका चार उत्कृष्ट संगीतकारले निकै नराम्रो अवस्थाको सामना गर्नुपर्‍यो। उनीहरुलाई चीनले आफ्नो मुलुक भ्रमणका लागि बोलायो। तर, पछि नियतवश उनीहरुको लामो यात्राको भ्रमणको कार्यतालिका रद्द गर्‍यो।

उनीहरुको तालिका रद्द गर्नुको कारण स्पष्ट छ। म सन् २०१८ मा चेक गणतन्त्रको राजधानी सहरको मेयरको रुपमा चुनिएको हुँ। मैले मतदातासमक्ष गरेको वाचा पूरा गर्ने प्रयास गरेको छु। त्यसयता मैले मुलुकको प्रजातन्त्र र मानव अधिकारको सम्मान गर्ने किसिमको मुलुकको कम्युनिष्ट परम्परालाई पुनः फिर्ता ल्याउने वाचा गरेको थिएँ।

आफ्नो वाचा पूरा गर्ने क्रममा म र मेरो सरकारले चिनियाँ कम्युनिष्ट पार्टीको सहकार्यलाई जोड दियौं। त्यसपछि हामीले हाम्रो सिटी हल तीब्बती झण्डाले सजाउने निर्णय गर्‍यौं। यो चीनको लागि टाउको दुखाइको विषय नहुनुपर्ने थियो। किनकी सन् १९५१ मा भएको सम्झौताअनुसार चीनले तीब्बतलाई एक स्वायत्त प्रान्त घोषणा गरेको थियो। साथै, यो प्रान्तलाई उसले उल्लेख्य स्वायत्तता पनि प्रदान गर्ने उल्लेख गरिएको थियो।

डाक्टरको नाताले मैले सार्वजनिकरुपमा नै चीनमा उइगर मुस्लिम तथा अन्य कैदीको अंग चोरीको विरुद्धमा आवाज उठाउँदै आएको थिएँ। हाम्रो नगरपालिकाको सरकारले पनि हाम्रो भगिनी सहरको सम्झौता अस्वीकार गरेको थियो। जसमा चीनले ताइवान र तीब्बतको स्वतन्त्रतालाई उपेक्षा गरिएको थियो। यो सम्झौतामा असामान्य भू–राजनैतिक घोषणा पनि गरिएको थियो। यसलाई हाम्रा अधिकारीहरुले पनि पारित गरेका थिए। यो कदम त्यतिबेला चीनको लागि निकै रोमाञ्चकारी थियो।

हामीहरु सम्झौताको केही शर्त र संरक्षणहरु हटाउन चाहन्थ्यौं। तर, अहिलेसम्म पनि चीनले यो सुझाव स्वीकार गरेको छैन। त्यतिबेला बरु पूरा सम्झौता रद्द गर्ने अवस्था बनेको थियो। हामीले आफ्नो सहयोगी सहर गुमाइसक्यौं। तर, त्यसको बदलामा हामीले एक नयाँ सहर पायौं। जनवरीमा हामी ताइपेईसँग भगिनी सहरको सम्झौता गर्दैछौं। 

यस्तोमा हामीले चीनसँगको सम्झौताबाट दुई पाठ सिक्न सक्छौं। पहिलो पाठ यो हो कि चीन विश्वसनीय व्यावसायिक सहयोगी मुलुक होइन। राजनीतिक स्वार्थ मिलेन भने यो मुलुकले आफ्नो नाफामूलक सम्झौता पनि लत्याउन पछि पर्दैन। चिनियाँ पोलिट्ब्यूरोले जुनसुकै बेलामा पनि निकै महत्वपूर्ण सम्झौता तथा सहकार्यलाई अर्थहीन बनाउन सक्छ।

अहिले चीन र चेक गणतन्त्रको विषयमा भएका सम्झौता निकै असन्तुलित देखिने गरेको छ। चीनले अबको पाँच वर्षमा १० अर्ब यूरो लगानी सम्झौता गरेको छ। हामीले पनि त्यसका लागि आवश्यक मात्रामा वैदेशिक नीतिमा परिवर्तन गर्दै हाम्रो बजार केही खुकुलो बनाउँदै लगेका छौं। तर, अहिलेसम्म चिनियाँ लगानी हाम्रो मुलुकमा आइपुगेको भने छैन। 

प्राग मात्र होइन। चीनको नीतिको आलोचनाको आँट गरेको धेरै उदाहरणहरु छन्। हालै मात्र चीनले एक्कासी जर्मनीको संसदीय समितिको चीन भ्रमण रद्द गर्‍यो। किनकी चीनको मानवअधिकार उलंघनको विषयमा बोल्दै आएका एक जर्मन नेता मगर्ते बाउस पनि त्यो समितिमा थिए।

चीनका यस्ता धेरै गतिविधिहरु छन्, जसले चीनलाई समस्यामा पार्न सक्छ। यसले चीनको आफ्नै पहिचानमा पनि असर पार्नसक्छ। साथै पश्चिमा प्रजातान्त्रिक मुलुकहरुसँगको सम्झौतामा पनि यसको असर पर्नसक्ने देखिन्छ। साथै यसको असर राजनीतिज्ञ, कलाकार, व्यवसायी वा समाजको स्वतन्त्र व्यक्तिमा पनि यसको असर देखिन थालेको छ। तर, यसले चीन र उसको नीतिको प्रतिनिधित्व गरेको छ।

चीनको लागि प्रागको मेयर र उसका कलाकारको बीचमा कुनै अन्तर छैन। यदि प्रागको कसैले गलत व्यवहार गर्छ भने यहाँको जोसुकै पनि सजायको भागीदार हुन्छ भन्ने नै चीनको सिद्धान्त हो। त्यसैले राम्रो व्यवहार गर्दा पनि अपेक्षा विपरीत प्रतिक्रिया आउनु कुनै नौलो कुरा होइन। विशेषगरी चीनको कुनै प्रत्यक्ष फाइदा त्यसमा छैन भने।

पछिल्लो समय चेक गणतन्त्रका नागरिकको विचारमा पनि प्रभाव पार्ने प्रयास चीनले गरेको छ। चीनमा उल्लेख्य व्यापारिक स्वार्थ रहेको चेकको कम्पनीले चीन र उसको नीतिको पक्षमा सन्देश दिने प्रयास गरिरहेको खुलासा भएको थियो। यसले चीनको चेक गणतन्त्रमा कस्तो नियत छ भन्ने कुरालाई स्पष्ट पारेको छ। म चीनको विरुद्धमा आफ्नो व्यवसाय गर्न उक्साइरहेको छैन। न त म चीनसँगको कूटनीतिक सम्बन्ध रद्द गर्न सुझाव दिइरहेको छु।

यस किसिमको नीति पनि अतिवाद र प्रत्युपादक हुनेछ। म हाम्रा सहयोगी मुलुकहरुलाई दुईपटक सोच्न र यति धेरै अविश्वसनीय मुलुकसँग सम्झौताको लागि निकै जोखिम रहेको कुरा मनन गर्न सुझाव दिन चाहन्छु।

सबैभन्दा महत्वपूर्ण कुरा म सबैलाई चीनसमक्ष आत्मसमर्पण नगर्न र आफ्नो स्वाभिमान र मूल्य नगुमाउनका लागि प्रेरित गर्न चाहन्छु। धेरै मुलुकले चीनको ब्ल्याकमेल र चेतावनीबाट डराएर यस्ता महत्वपूर्ण विषयमा झुक्ने गरेका छन्। साथै म सबैलाई के सुझाउन चाहन्छु भने प्रागका संगीतकारहरुलाई तपाइँहरु आफ्नो मुलुकमा बोलाउन चाहनुहुन्छ भने त्यो चीनको विरुद्धमा कदापि हुनेछैन। किनकी कला कुनै राजनीति गर्ने विषय होइन।

साथै यो विषयलाई लिएर ब्ल्याकमेल पनि गर्न मिल्दैन। त्यसको ठीक विपरीत संगीत र संस्कृतिले मानिसहरुलाई एकै स्थानमा जोड्न सहयोग गर्छ। यसले खुसी राख्न र विश्वलाई जीवनयापनको शान्तिक्षेत्र बनाउन सहयोग गर्छ। 

साथै म के पनि आश्वस्त गराउन चाहन्छु भने यदि तपाइँहरुलाई हाम्रा संगीतकारको संगीत सुन्ने मौका मिल्यो भने तपाइँले मैले के भन्ने खोजिरहेको छु भन्ने कुरा अवश्य पनि बुझ्नुहुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ