arrow

प्रविधि विकासमा उदाहरण बन्दै बंगलादेश

दक्षिण एशियाकै उच्च आर्थिक बृद्धी भएको देश बन्यो बंगलादेश

logo
हाम्राकुरा विशेष,
प्रकाशित २०७६ पुष १२ शनिबार
digital-bangladesh.jpg

काठमाडौं। पछिल्लो समय विश्वका विभिन्न प्रमुख वित्तीय संस्थाहरुले दक्षिण एसियाको अर्थतन्त्र सबैभन्दा तीव्र गतिमा अघि बढ्ने प्रक्षेपण गरेका छन्। समग्र विश्व अर्थतन्त्र सुस्ताइरहँदा दक्षिण एसियाको अर्थतन्त्रमा देखिएको आशालाई नेपाललगायतका सबै मुलुकले अवसरको रुपमा लिन सक्छन्। त्यसो त विश्व अर्थतन्त्र नै समस्यामा पर्दा पनि दक्षिण एसियाको अर्थतन्त्र सुधारको दिशामा देखिएकोले नै यस्तो प्रक्षेपण गरिएको हो। 

दक्षिण एसियामा आर्थिक सुधारको कुरा गर्ने मुलुकको कुरा गर्दा भुटानलाई बिर्सिन सकिँदैन। भुटानले आफ्नो स्रोतसाधनको उच्चतम प्रयोग गर्दै उल्लेख्य आर्थिक सुधार गरिरहेको छ। तर, दक्षिण एसियाकै अर्को मुलुक बंगलादेश पनि एक महत्वाकांक्षी योजनाको साथमा अघि बढिरहेको छ। दक्षिण एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र बोकेको मुलुक भारतको अर्थतन्त्र अहिले सुस्ताइरहेको छ। तर, उसको अर्थतन्त्रको गतिलाई अझै पनि तीव्र गतिको मान्न सकिन्छ। आकारमा उसको हाराहारीमा अर्थतन्त्र अन्य दक्षिण एसियाका मुलुकको छैन। आर्थिक वृद्धिको गतिमा भने पक्कै पनि उसलाई चुनौती दिनसक्ने क्षमता दक्षिण एसियाली मुलुकमा देखिएको छ।

बंगलादेशमा १ सय २० भन्दा बढी कम्पनीको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) निर्यात झण्डै १ अर्ब अमेरिकी डलरबराबरको रहेको छ। उसले विश्वका ३५ मुलुकमा आफ्नो आईसीटी निर्यात गर्ने गरेको छ। सन् २०२१ सम्म उसको आईसीटीको व्यापार ५ अर्ब डलर पुग्ने अपेक्षा छ। वास्तवमा उसको आईसीटी क्षेत्रको बढ्दो क्षमताले उसको अर्थतन्त्रमा सुधारको महत्वपूर्ण आधारशीला निर्माण गर्नेछ। यसले बंगलादेशको अर्थतन्त्रलाई सन् २०२१ सम्ममा डिजिटल अर्थतन्त्र बन्न पनि सघाउ पुग्नेछ। यो गतिमा अघि बढ्ने हो भने बंगलादेशको अर्थतन्त्र सन् २०४१ सम्म अर्कै स्तरमा पुग्नेछ, जुन अहिले उसको लागि निकै महत्वाकांक्षी देखिन्छ।

बंगलादेश अहिले डिजिटल बंगलादेश भिजन नामक योजनामा अघि बढिरहेको छ। यसमा मानव संसाधन विकास, नागरिकबीचको मेल, डिजिटल सरकार र आईसीटी उद्योगको विकासका योजना छन्। यो योजना प्रधानमन्त्री शेख हसिनाले सन् २००८ मा सार्वजनिक गरेकी थिइन्। यस किसिमको योजनाले बंगलादेशलाई महत्वपूर्ण आर्थिक सुधार पनि हुने अनुमान छ।

बंगलादेशको लागि यी योजना किन महत्वपूर्ण थिए त ? 
सबैभन्दा पहिला बंगलादेशको योजनाको पहिलो भागमा रहेको मानव संसाधनको कुरा आउँछ। बंगलादेश अहिले डिजिटल विश्वको केन्द्रमा रहने हिसाबमा आफूलाई विस्तार गर्न खोजिरहेको छ। यसको अर्थ त्यसका लागि उसलाई दक्ष जनशक्ति पनि आवश्यक हुन्छ। त्यसका लागि उसले धेरै किसिमका क्षमता अभिवृद्धिको कार्यक्रम पनि अघि सारेको छ। जसबाट उसले डिजिटल विश्वका लागि पुल भएर काम गर्नसक्ने क्षमता विस्तार गरिरहेको छ।

अहिले बंगलादेशको शैक्षिक प्रणालीबाट ५ लाखभन्दा बढी विश्वविद्यालयबाट दीक्षित हुने गरेका छन्। यस्तोमा सूचना प्रविधिको क्षेत्रबाट ६५ हजार दिक्षित भएका थिए। यसले पनि डिजिटल विश्वको लागि तयार रहन सहयोग गरेको छ। 

अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटका अनुसार बंगलादेश अहिले विश्वमा दोस्रो सबैभन्दा ठूलो अनलाइन कर्मचारी रहेको मुलुक हो। उसको क्षमता थप अभिवृद्धिका लागि बंगलादेशको सबै एक सय ३० क्याम्पसहरुमा विशेष प्रयोगशालाको व्यवस्था गरिएको छ। बंगलादेशले प्रविधिको विकासका लागि भनेर व्यापक मात्रामा लगानी पनि बढाएको छ। उसले आईबीएमजस्ता विश्वव्यापी प्रविधि कम्पनीसँग पनि सहकार्य गरिरहेको छ। विशेषगरी बंगलादेशले उदीयमान प्रविधिमा मानिसहरुलाई दिइने तालिममा जोड दिएको छ। जसमा इन्टरनेट अफ थिंग्स, ब्लकचेन, आर्टिफिसियल इन्टेलिजेन्स, बिगडेटा र एनालाइटिक्स छन्। 

बंगलादेशको योजनाको अर्को महत्वपूर्ण आधारस्तम्भ मानिसहरुलाई एकअर्कासँग जोड्नु हो। त्यसका लागि बंगलादेशले सन् २०२१ सम्म शतप्रतिशत इन्टरनेट सञ्जालको प्रतिबद्धता जनाइसकेको छ। त्यसका लागि उसको प्रगति पनि उल्लेख्य छ। अहिले बंगलादेशमा ९ करोड ३० लाख इन्टरनेट प्रयोगकर्ता छन्। साथै १६ करोड मोबाइल प्रयोगकर्ता छन्। यतिमात्र होइन, बंगलादेश एसिया प्यासिफिक क्षेत्रको पाँचौं तथा विश्वको नवौं ठूलो मोबाइल बजार हो। बंगलादेशले केबल सञ्जालबाट १७ जीबी प्रतिसेकेण्ड र सातओटा आईटीसी सञ्जालबाट ४ सय जीबी प्रतिसेकेण्डको दरले इन्टरनेट सेवा दिइरहेको छ। यसको विस्तार गर्दै बंगलादेश छिटै नै फाइभजी चलाउने मुलुक बन्ने दाउमा छ। सन् २०१९ को अन्तिमसम्ममा ग्रामीण भेगमा पनि तीव्र गतिको इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य बंगलादेश सरकारको योजनामा उल्लेख थियो।

सस्तो पर्ने भएकाले विदेशी कम्पनी पनि बंगलादेशमा लगानीको लागि इच्छुक छन्। बंगलादेशले २८ उच्च प्रविधिको पार्क निर्माण गरिरहेको छ। यो संख्या ६४ पुर्‍याउने सरकारको योजना छ। यससँगै बंगलादेशमा प्रविधिको अपार सम्भावना सहितको अवसर छ। 

डिजिटल बंगलादेशको योजनाको अर्को चरण ई–गभर्नेन्स अर्थात् डिजिटल शासन हो। अहिले बंगलादेश सरकारी पोर्टलको डिजिटलीकरणको प्रयास गरिरहेको छ। सन् २०२३ सम्म सरकारले पासपोर्टको आवेदन र भिसा आवेदन डिजिटल प्रविधिबाटै दिने व्यवस्था मिलाउने दिशामा छ।  सन् २०१४ मा बंगलादेशले राष्ट्रिय पोर्टल निर्माण गरेको थियो। अहिले विभिन्न ४५ हजार वेबसाइट र विभिन्न सरकारी कार्यालयको सेवा अनलाइनको माध्यमबाट शुरु गरिएको छ। साथै, ५ हजारभन्दा बढी डिजिटल केन्द्र पनि स्थापना भइसकेको छ। यी केन्द्रबाट नागरिकहरुलाई विभिन्न किसिमको डिजिटल सेवा प्राप्त हुन्छ। साथै, डिजिटल सेवाको विषयमा आउने समस्या पनि समाधान गरिन्छ।

बंगलादेशको प्रयासको सराहना गर्दै बंगलादेशको नेशनल डिजिटल आर्केटेक (बीएनडीए)ले डब्ल्यूएसआर्ईएस अवार्ड पनि पाएको छ। डब्ल्यूएसआर्ईएसले बंगलादेशमा विगत ६ वर्षमा फरक किसिमको ई–गभर्नेन्टको प्रयास शुरु भएको बताएको छ। 

बंगलादेशले डिजिटल सेवा एसिलेटर स्थापना गरेको छ। यसले सबै मन्त्रालयमा ई–सेवा प्रदान गर्ने र त्यसको विकास गर्ने काम गर्छ। यसले १० करोड डिजिटल नागरिकता वितरण गरिसकेको छ। यो विश्वको सबैभन्दा धेरै मात्रामा प्रदान गरिएको डिजिटल नागरिकतामध्येको एक हो। यो सेवा निकै सावधानीपूर्वक निर्माण गरिएको छ। यस्तोमा तीनै समूहका बंगलादेशी नागरिकलाई प्रभावकारी सेवा प्रदानको लक्ष्य राखिएको छ। जसमध्ये बालबालिकाहरु डिजिटल सेवा प्रयोग शुरु गर्ने समूह हो। मध्यम उमेरका मानिसहरुले यसको प्रयोग शुरु गरिसकेका छन्। अल्पसंख्यक मानिसहरु भने अझै पनि प्रविधिको पहुँचभन्दा बाहिर छन्। डिजिटल गभर्नेन्सको सफलताले बंगलादेशलाई डिजिटल मुलुकमा स्थानान्तरण गर्नेछ। 

बंगलादेशको अर्को महत्वपूर्ण पक्ष निकै तीव्र गतिमा अघि बढिरहेको आईसीटी उद्योग हो। डिजिटल स्थानान्तरणको लागि यो चौथो पक्ष हो। बंगलादेशमा वित्तीय सेवा, दूरसञ्चार सेवा र स्वास्थ्य सेवा अनलाइनको माध्यमबाट दिन शुरु भइसकेको छ।

डिजिटल बंगलादेशको योजना सरकारको प्रतिबद्धता र सहयोगको कारण अहिलेको अवस्थामा आइपुगेको हो। अहिले बंगलादेशको अर्थतन्त्र ८ प्रतिशतको गतिको अघि बढिरहेको छ। यो विश्वको सबैभन्दा तीव्र गतिको अर्थतन्त्रमध्येको एक हो। अहिले बंगलादेश इकोनोमिक फोरमको विकास सूचकको ३४ औं स्थानमा छ। सन् २०३० मा विश्वको २४ औं ठूलो अर्थतन्त्र बन्ने लक्ष्य बंगलादेशको छ। यस किसिमको आर्थिक सुधारको पछाडिको कारण आईसीटी उद्योगको स्मार्ट प्रयोग हो। बंगलादेशको सबैजसो आर्थिक क्षेत्रमा आईसीटीको प्रयोग भएको छ। बंगलादेशको आर्थिक वृद्धिदर सन् २०१६ मा ७ दशमलव १ प्रतिशत थियो, २०१७ मा ७ दशमलव ३ र २०१८ मा ७ दशमलव ९ प्रतिशतमा आइपुगेको छ। आगामी वर्षको लागि बंगलादेशको आर्थिक वृद्धिदर ८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ भने समान आर्थिक वृद्धिदर २०२१ मा पनि हासिल हुने अनुमान छ।



नयाँ