arrow

लिभरपुल, म्यान्चेस्टर सिटी र चेल्सी विजयी

logo
प्रकाशित २०७६ पुष १४ सोमबार

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुल, म्यान्चेस्टर सिटी र चेल्सी विजयी भएका छन् । आइतबार राति भएका खेलमा उपाधिका दावेदार तीन टिम विजयी भएका हुन् । 

लिग लिडर लिभरपुलले साँघुरो जित निकाल्ने क्रममा वुल्भरह्याम्पटन वान्डेरर्सलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जिताउन साडियो मानेले खेलको ४२ औं मिनेटमा निर्णायक गोल गरे । 

जितसँगै लिभरपुलले लिगमा अपराजित यात्रा कायम राखेको छ । यस्तै लिभरपुलले लिगमा शीर्ष स्थानको अग्रता १३ अंकको बनाएको छ ।

लिभरपुलले १९ खेलमा ५५ अंक जोडेको छ । लिभरपुलले अहिलेसम्म खेलेका खेलमा म्यान्चेस्टर युनाइटेडसँग बराबरी खेल्दा बाँकी सबै खेल जितेको छ ।

दोस्रो स्थानको लेष्टर सिटीको ४२ अंक रहेको छ । तेस्रो स्थानको म्यान्चेस्टर सिटीले आइतबार रातिको खेलमा सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले हराएको हो ।

सिटीको जितमा सर्जियो अग्युरो र केभिन डी ब्रुइनीले एक एक गोल गरे । अग्युरोले ५२ औं र ब्रुइनीले ८२ औं मिनेटमा गोल गरेका थिए । 

जितसंगै लिगको तेस्रो स्थानको सिटीले ४१ अंक जोडेको छ । चौथो स्थानमा चेल्सी रहेको छ । 

लण्डन डर्बी भिडन्तमा चेल्सीले जित निकाल्दै २० खेलबाट ३५ अंक बटुलेको छ । चेल्सीले आर्सनललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको मैदानमा सुरुवाती अग्रता उल्टाएर चेल्सीले घरेलु टोलीलाई पराजित गरेको हो । चेल्सीलाई जित दिलाउन जोर्गिन्हो र टामी अब्राहमले एक एक गोल गरे ।

आर्सनलले खेलको १३ औं मिनेटमा पिएरे एम्रिक औवामियाङको गोलबाट बनाएको थियो । तर दोस्रो हाफको अन्तिम १० मिनेट भित्र दुई गोल गर्दै चेल्सीले जित निकालेको हो ।

खेलको ८३ औं मिनेटमा जोर्गिन्होले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । त्यसपछि खेलको ८७ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ