arrow

सन् २०१९ : विश्वभर राजनीति, आर्थिक र प्रविधि क्षेत्रमा के के भए ?

logo
हाम्राकुरा विशेष,
प्रकाशित २०७६ पुष १५ मंगलबार
2019-tech.jpg

काठमाडौं। सन् २०१९ आज अर्थात् मंगलबारबाट सकिँदैछ। यस वर्ष समग्र विश्वको लागि मिश्रित नतिजा दियो। यहाँ यस वर्षको केही महत्वपूर्ण घटनाहरु यहाँ उल्लेख गरिएको छ– 

राजनीति
राजनीतिक हिसाबमा विश्वभर धेरै किसिमको चहलपहल बढे। सन् २०१९ को सुरुवात भेनेजुयलाको राजनीतिक संकटबाट सुरु भएको थियो। जनवरीमा २३ मा भेनेजुयलाको राष्ट्रिय सभाका प्रमुख हुँवा गुएइदोले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरे। राष्ट्रपति निकोलास मदुरोलाई निर्वाचित गरेको निर्वाचन निष्पक्ष नभएको भन्दै उनले आफैंलाई राष्ट्रपति घोषणा गरेका थिए। उनको घोषणापछि चीन, रुससहितका केही ठूला देशले मदुरोको समर्थन गरेका थिए। अमेरिका, युरोपेली मुलुकहरू, ब्राजिल, इजरायललगायत झण्डै ५० देशले गुएइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका थिए। तर, मदुरो अझै पनि राष्ट्रपति भवनमै छन्।

अर्को महत्वपूर्ण घटना अमेरिका–उत्तर कोरिया सम्बन्ध रहन पुग्यो। दुवै मुलुकको सम्बन्धमा खासै सुधार आएन। तर, दुई मुलुकको बीचमा दुईपटक शिखर बैठक भए। बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनको पार्टी कन्जरभेटिभ्सले संसदको निर्वाचनमा बेलायतलाई युरोपेली संघ (ईयू) बाट बाहिर निकाल्ने जनादेश सहितको बहुमत पाएको छ। हाउस अफ कमन्सका ६ सय ५० स्थानमध्ये घोषणा गरिएका ६ सय स्थानमा जोन्सनको कन्जरभेटिभ्स पार्टीले ३ सय २६ स्थानमा विजय प्राप्त गरेको छ। उनले आगामी जनवरी ३१ मा बेलायतलाई ईयूबाट अलग्याउने गृहकार्य गरिरहेका छन्। पूर्व प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिटको सम्झौता संसद्बाट पारित गराउन नसकेपछि जोन्सन प्रधानमन्त्री बनेका थिए।

यस वर्ष भारतमा बाढीबाट ३ सयभन्दा बढी र विहारमा फैलिएको इन्सेफ्लाइटिस् रोगको कारण १ सय ६१ भन्दा बढीको ज्यान गएको थियो। त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि पनि बहुमत पाएर सरकार निर्माण गरे। नयाँ सरकार बनेसँगै भारतले जम्मु कश्मीरलाई दिइँदै आएको विशेष स्वायत्तताको अधिकार हटाउने निर्णय गरे। त्यसका साथै नयाँ नागरिकताको विधेयक पनि संसद्बाट पारित गराए। सोही कानूनको कारण अहिले भारतमा आन्दोलन चलिरहेको छ। यो विधेयकविरुद्धको आन्दोलनमा अहिलेसम्म २५ को ज्यान गइसकेको छ।

बेलायतको एसेक्सस्थित वाटरग्लेड औद्योगिक क्षेत्रको पूर्वी सडकमा राखिएको एउटा लरीको कन्टेनरभित्र ३९ शव फेला परेको थियो। उनीहरु शुरुमा चिनियाँ नागरिक भनिए पनि पछि भियतनामी भएको खुलेको थियो। यस वर्ष सुडान, इराक, अफ्रिकाका विभिन्न स्थानमा भड्किएको आन्दोलनको कारण सयौंको संख्यामा मानिसको ज्यान गएको थियो।

श्रीलङ्कामा भएको राष्ट्रपतीय निर्वाचनबाट पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोताभया राजपाक्ष राष्ट्रपतिमा निर्वाचित भए। राष्ट्रपति बनेपछि उनले आफ्नै दाइ महिन्दा राजपाक्षलाई प्रधानमन्त्री नियुक्त गरे। महिन्दा राजपाक्ष चीन समर्थित मानिन्छन्।

दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविद्ले २ सय २७ जना बालबालिकाको सामूहिक चिहान फेला पारे। आजसम्म फेला पारिएको यस्ता चिहानहरुमा यो सबैभन्दा ठूलो भएको बताइएको थियो।

पाकिस्तानमा भ्रष्टाचार अभियोगमा जेल सजाय भोगिरहेका सरिफ जेलमै सिकिस्त बिरामी भएपछि पाकिस्तानको एक अस्पतालमा उपचार गरी निको नभएपछि बेलायत लगिएको थियो। अहिले पनि उनको अवस्था चिन्ताजनक अवस्थामा छ। सन् २०१९ मै पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासी पनि भ्रष्टाचार आरोपमा पक्राउ परे। पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफविरुद्ध देशद्रोहको मुद्दामा विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएपछि विश्वभरी नै फैसलाले विवाद निम्त्याएको छ। बिरामि अवस्थामा विदेशमा उपचार गराइरहेका मुसर्रफको मृत्युदण्ड हुनु अगाडि नै निधन भए उनको शव तीन दिनसम्म सार्वजनिक ठाउँमा राख्न समेत आदेश दिएपछि यो विषय थप चर्चामा छ। 

सदनबाट महाअभियोग लगाइएका अमेरिकी राष्ट्रपतिमध्ये डोनाल्ड ट्रम्प तेस्रो राष्ट्रपति बने। हाउस अफ् रेप्रिजेन्टेटिभ्सले राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको भन्दै यही डिसेम्बर १८ मा महाभियोगको पक्षमा निर्णय गरेको हो। तल्लो सदनमा ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा २३० र विपक्षमा १९७ मत खसेको थियो। त्यसका साथै भारत–रुस मिसाइल खरीद सम्झौता, टर्कीले रुसको हतियार किन्ने निर्णय, अमेरिकाले विभिन्न मुलुकलाई दिँदै आएको सहयोग रोक्ने लगायतका घटना  पनि यस वर्षको लागि महत्वपूर्ण रहन पुगे।

साउदी अरेबियाका पत्रकार जमाल खाशोग्जीको हत्याले पनि एकपटक समग्र विश्व ततायो। यो मामिलामा साउदी अरेबियाले दाषी रहेको भन्दै पाँच जनालाई मृत्युदण्ड दिने निर्णय गरेको छ। त्यस्तै सिरिया, यमन, अफगानिस्तानलगायतका क्षेत्रबाट अमेरिकाले आफ्नो सैनिक फिर्ता बोलाउने निर्णय गरेको छ।

इरानमाथिको प्रतिबन्धमा कडाइ गर्ने क्रममा बेलायत र इरानको बीचमा एक अर्काको जहाज कब्जा गर्ने होड नै चल्यो भने इरानले अमेरिकी ड्रोन नै खसाइदियो। 

आर्थिक
यो वर्ष आर्थिक हिसाबमा भने त्यति राम्रो रहन सकेन। वर्षभरी जारी रहेको अमेरिका–चीन व्यापारयुद्धको कारण समग्र विश्व बजार प्रभावित बन्न पुगे। व्यापार युद्धको बीचमा अमेरिकाले चिनियाँ सामग्रीमाथिको आयातकर बढाउन भने छाडेन। त्यसका साथै उनीहरुको बीचमा अहिलेसम्म व्यापार सम्झौता हुन सकेन। तर, आगामी जनवरीमा उनीहरुको बीचमा पहिलो चरणको व्यापार सम्झौता हुनसक्ने अनुमान छ।

व्यावसायिक क्षेत्रमा अमेरिकी विमान निर्माता बोइङको ७३७ म्याक्स विमान दुर्घटनाको कारण यो मोडलको विमानमा विश्वभर प्रतिबन्ध लाग्यो। अहिलेसम्म यो विमानको उडान पुनः शुरु भएको छैन। साउदी अरेबियाको तेल कम्पनी साउदी अराम्को विश्वकै सबैभन्दा धेरै बजार पुँजीकरण भएको कम्पनी बन्यो। गत वर्ष चीनको ऋणको जालको आशंका विश्वभर व्याप्त रह्यो। दक्षिण एसियामा भारतको अर्थतन्त्र यस वर्ष सुस्तीको मारमा पर्‍यो। दक्षिण एसियाका अन्य मुलुक भने अर्थतन्त्रमा महत्वपूर्ण सुधारको संघारमा रहेको विभिन्न वित्तीय संस्थाहरुले गरेको प्रक्षेपणले देखाएको छ। 

अमेरिकी सामाजिक सञ्जाल फेसबुकले पनि क्रिप्टोकरेन्सीको योजना अघि सार्‍यो। तर, कम्पनीको यो योजना पूरा हुने वा नहुने भन्ने विषयमा भने अझै आशंका देखिएको छ। केहीले अहिलेको अवस्थामा यो योजना पूरा हुने सम्भावना निकै कम रहेको बताएका छन्। 

प्रविधि
प्रविधि क्षेत्रमा पनि यस वर्ष केही महत्वपूर्ण उपलब्धि हासिल भए। यस वर्षको महत्वपूर्ण उपलब्धिको रुपमा सेवा क्षेत्रमा एआईको विकासलाई लिन सकिन्छ। सन् २०१९ मा एआईको प्रयोग केही महत्वपूर्ण क्षेत्रमा भएको अवस्थामा आगामी वर्षमा यसको प्रयोग पनि निरन्तररुपमा विस्तार हुने अपेक्षा छ। यस वर्ष नयाँ पुस्ताको इन्टरनेट फाइभजी नेटवर्कको विस्तार भयो। दक्षिण कोरियाले सबैभन्दा पहिला फाइभजी शुरु गर्‍यो। त्यसका साथै अमेरिका र चीनलगायतका मुलुकले पनि यसको शुरु गरिसकेका छन्। स्वचालित सवारीको क्षेत्रमा पनि यस वर्षले महत्वपूर्ण आधार निर्माणको काम गर्‍यो। सन् २०२० मा स्वचालित कार विश्व बजारमा आउनसक्ने बताइएको छ। स्वास्थ्य जानकारी दिने र केही हदसम्म भविष्यको अनुमान गर्नसक्ने मेशिनको विस्तार पनि यस वर्ष भयो। यस वर्ष प्रविधिको क्षेत्रमा ब्ल्कचेन प्रविधिले पनि आफ्नो आवश्यकता निकै महत्वपूर्ण रहेको साबित गर्‍यो। 

अन्तरिक्ष
यस वर्ष अन्तरिक्षको लागि भने निकै महत्वपूर्ण रहन पुग्यो। अमेरिकाको स्पेसएक्सले पृथ्वीको कक्षमा पुगेर स्याटेलाइट  राखेर पृथ्वीमा फर्किनसक्ने विमानको परीक्षण गर्‍यो। यो विमान फर्किँदा आगलागीमा परे पनि आगामी दिनमा यो कमजोरी हटाउन सकिने बताइएको छ। यस वर्ष चीनले चन्द्रमाको मानिसले देख्न नसकिने क्षेत्रमा आफ्नो विमान ल्याण्ड गरायो। 

नासाका महिला वैज्ञानिकले सबै महिलामात्र भएको अन्तरिक्ष उडान गरी कीर्तिमान कायम गरे। त्यस्तै स्पेसएक्सले इन्टरनेट प्रदान गर्ने उद्देश्यका साथमा स्याटेलाइट राख्ने काम पनि शुरु गर्‍यो। आगामी वर्षसम्ममा यो योजना पूरा हुने अपेक्षा छ। भारतले चन्द्रमाको खोज तथा अनुसन्धानको लागि पठाएको चन्द्रायान–२ विमान चन्द्रमाको सतहमा ल्याण्ड हुन सकेन। तर, यो योजनालाई निकै महत्वपूर्ण मानिएको थियो। 

गत मार्चमा भारतले एन्टि स्याटेलाइट मिसाइलको परीक्षण गर्दै पृथ्वीको तल्लो कक्षमा रहेको स्याटेलाइट ध्वस्त पारेको थियो। इजरायलले पनि चन्द्रमाको योजना अघि सारेको थियो। तर, उसको पनि योजना सफल भएको भने थिएन। यस वर्ष पहिलोपटक चन्द्रमामा मानिसले पाइला राखेको ५० वर्ष पूरा भयो। यो अवसरमा अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले सन् २०२४ सम्ममा चन्द्रमामा मानिस पठाउने योजना अघि सार्‍यो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ