arrow

शिक्षामन्त्री गिरिराजमणिको नाममा बर्दिवासमा कल्पना देवकोटाको मनोमानी

मेयर, शिक्षा अधिकारी, अख्तियार, शिक्षामन्त्री, प्रधानमन्त्री सबैबाट निराश भएपछि मिडियामा पुगिन् ढकाल

logo
प्रकाशित २०७६ पुष १७ बिहिबार
mitrata-school1(1).jpg

महोत्तरी । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको नाम लिँदै महोत्तरी बर्दिबासस्थित मित्रता आधारभूत विद्यालयको राहत कोटाबाट प्रधानाध्यापक भएकी शिक्षिका कल्पना देवकोटाले सोही विद्यालयकी स्थायी शिक्षिका सुनिताकुमारी ढकाललाई अपमान र दुव्र्यवहार गर्दै मनोमानी गरेको आरोप लागेको छ। 

राजनीति प्रभाव पहुँचका आधारमा राहत कोटामा भएरै पनि विगत ५ वर्षदेखि प्रधानाध्यापक चलाउँदै आएकी देवकोटाले स्थायी दरबन्दीकी शिक्षिका ढकाललाई बहुकक्षा चलाउन बाध्य पार्ने, स्कुलका कोठाहरु बढार्न, स्कुलमा घण्टी लगाउन र शौचालय सफा गर्नसमेत वाध्य पारेको आरोप छ।

१ सय ३७ बिद्यार्थी रहेको सो स्कुलमा ढकाल मात्र स्थायी शिक्षक रहेकी छिन् । विद्यालयमा दुई जना राहत, एक जना कार्यालय सहयोगी र एक जना बालविकास शिक्षक रहेका छन् । 

पाँचकक्षासम्म पढाइ हुने सो स्कुलमा देवकोटाले भने कक्षामा कहिल्यै क्लास नलिने, विभिन्न बहानामा तालिम र गोष्ठी भन्दै स्कुलमा काज लेखाउने गरेको गुनासो सुनिता ढकालले गरेकी छिन्।

ढकालले सो बिषयमा तत्कालिन शिक्षा अधिकारी ठूलाबाबु दाहाल, बिद्यालय निरिक्षक गणेश दाहाल, आरपी सुर्यनारायण दासलाई, बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्की लगायतलाई बताउँदासमेत सुनुवाई नभएपछि उनले शिक्षा मन्त्रालय र मन्त्री गिरिराजमणि पोखरेल समेतलाई कुरा पुर्‍याएको बताइन् । 

मन्त्रीले समेत राजनीतिक प्रभावमा परि सुनुवाई नगरेपछि प्रधानमन्त्री कार्यालयमा निबेदन गरेको उनले बताइन् । 

जिल्ला र स्थानीय तहमा बारबार पढाउनका लागि सहज वाताबरण बनाइदिनु भन्दा जिल्लाले समेत वेवास्ता गरेको पिडित शिक्षिका ढकालको भनाई छ। विद्यालयमा काम गर्ने वातावरण नभएपछि अन्यत्र सरुवासमेत नगर्ने, सरुवाको सहमतिपत्र समेत नदिएको उनले बताइन् । 

विद्यालयमा पढाइको वातावरण नभएको र विद्यालयको नाममा आएको रकममा समेत भ्रष्टाचार भएको विषयमा कुरा उठाउँदा स्थानीय कतिपय बुद्धिजिवी, राजनीतिककर्मीहरु मिलेर आफूलाई बन्द कोठामा राखेर यहाँका विषय बाहिर नल्याउन दबाबसमेत दिने गरेको ढकालले गुनासो गरिन् ।

शिक्षा ऐन तथा नियमावलीमा आफूभन्दा योग्य र स्थायी शिक्षक भएमा उसैलाई नै प्रधानाध्यापक दिने व्यवस्था भएपनि राजनीतिक आडमा देवकोटाले ढकाललाई शिक्षकको हैसियतमा नभइ कार्यालय सहायकको व्यवहार गरेको उनको गुनासो छ ।

स्कुलका साना नानीहरुका निम्ति आएको खाना र खाजाको पैसामा समेत कटौती गरी भ्रष्टाचार गर्दा पनि शिक्षामन्त्री पोखरेलको आडमा उम्किदै आएको पनि उनले बताइन् ।
 
यस बिषयमा शिक्षा अधिकारीलाई भन्दा यो हेर्ने नगरले हो भन्दै उम्किने र नगरलाई भन्दा राहतलाई प्रअ दिइएन भने आन्दोलन गर्ने डरमा चुप लाग्नु परेको  जवाफ दिएको ढकालले बताइन्। 

पाँच बर्षदेखि पढाइरहेकोलाई बढुवाको फारम भर्न नदिइ अफिसका डकुमेन्ट, लेटरप्याड र छापहरु दराजमा राखेर साँचो लुकाउने गरेको गुनासो पनि उनले गरेकी छिन्।  नगरका मेयरले राहतका विषयमा बोल्यो भने दुर्इ दिन लागेर हिँडेर जाने ठाउँमा सरुवा गराइदिन्छु भनेर धम्काउने गरेको उनको गुनासो छ ।

यस विषयमा नगरपालिका, शिक्षा कार्यालय, शिक्षा मन्त्रालय, हेल्लो सरकार, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल लगायतलाई इमेलबाट जानकारी गराउँदा पनि वास्ता नभएको उनले सुनाइन् ।

गाउँका पिछडिएका दलितबस्तीका बालबालिकालाई एकदिन पढाउँछु भनेर २० वर्षको उमेरमै शिक्षा आयोगबाट नाम निकालेर घरपाएककै स्कुलमा दरबन्दी मिलाएर पढाउन आउँदा यहाँको बेतिथि र बच्चाहरुको भविष्यमाथि खेलबाड भैरहँदा चुप बस्न नसकि कुराहरु बाहिर ल्याएको उनले बताइन्।
 
पाँचवर्ष निमुखा बालबालिकाको लागि पढाए पनि यस्तो विकृतिलाई सहेर अब यो देशमा बस्ने रहर हुन छाडेको उनले बताइन् । आफूहरुजस्ता निरिह र एक्ला राजनीतिक पहुँच नभएकाहरुले केही गर्न नसकिने अनुभव भएको पनि उनले सुनाइन् । 

हाजिरी रजिष्टरमा प्रअको जहिलेपनि काज हुने, ६ महिना स्कुल नआउँदा हाजिर गर्न दिने त्यहाँको व्यवस्थापनका अध्यक्ष र वडा अध्यक्षले र स्थायी शिक्षकको रुपमा रहेको आफूलाई विवाह गर्दा समेत बिदा नदिएको ढकालले बताइन् । 

यी भ्रष्टाचारको विषयमा अख्तियारमा भन्दा अख्तियारले बर्दिबासलाई खबर गर्ने, बर्दिबासबाट उल्टै आफूलाई नै दबाब दिने गरेकोले मिडियामा आउन वाध्य भएको उनले सुनाइन् । 

बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्कीले राजनीतिक प्रतिसोधका कारण आफ्नो बुबा शिरोमणी ढकाललाई नियम विपरित साविक पढाइरहेको स्कुलबाट अन्यत्र सरुवा गराएपछि उनले यो निर्णयलाई बदर गर्न मुद्धा हालेपछि सो मुद्धा सर्वोच्चमा विचराधीन रहेको समेत ढकालले जानकारी दिइन् । विगत १ वर्षदेखि उनको तलव नगरपालिकाले रोकिदिएपछि उनी बिना तलवी पढाइरहेका छन् । 

खयरमायारको लक्ष्मीनारायण स्कुलमा पढाउने बुबा शिरोमणीलाई शिक्षा नियमावली अनुसार सरुवा गर्न नपाइने भन्दै सर्वोच्चले यथास्थनमा मै राख्न आदेश दिएपनि नगरपालिकाले नटेरी तलव नदिएकोसमेत उनले बताइन् । 

यस बिषयमा आरोपी प्रधानाध्यापक देवकोटाले भने आफूलाई नभइ मेयर कार्कीलाई सोध्न भनिन् । तर कार्कीलाई यस बिषयमा सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क भने हुन सकेन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ