arrow

सामाजिक रुपान्तरणको दिशामा साउदी

logo
हाम्राकुरा विशेष,
प्रकाशित २०७६ पुष १७ बिहिबार
saudi-woman-1.jpg

काठमाडौं। विश्वको सबैभन्दा कठोर मुस्लिम कानून भएको मुलुक कुन होला ? यसको उत्तर धेरैले सहजै दिन सक्छन् –साउदी। कट्टर धार्मिक आस्थाको कारण यो मुलुकमा निकै कठोर कानून छ। जसमा विशेषगरी महिला अधिकारको हनन हुँदै आएको छ। अझ भनौं धेरै सामान्य लाग्ने कुराहरु पनि साउदी अरेबियामा अपराध हुन्छ। त्यसैले मानव अधिकारको मामिलामा साउदी अरेबिया बदनाम बन्दै आएको छ। 

मानव अधिकारको मामिलामा लागेको नकारात्मक ट्याग हटाउने दिशामा अहिले साउदी अरेबिया अघि बढिरहेको छ। त्यसको लागि साउदी अरेबियाको लागि आफ्नो सामाजिक अवस्थामा सुधार गर्नु निकै महत्वपूर्ण छ। सन् २०१७ मा साउदीको राजकुमारको रुपमा मोहम्मद बिन सलमान नियुक्त भए पछि साउदी समाजिक रुपान्तरणको दिशामा अघि बढेको छ। दुई वर्ष पूरा हुँदा साउदीले सामाजिक रुपान्तरणको हिसाबमा महत्वपूर्ण सुधार पनि हासिल गरिसकेको छ।

पछिल्लो केही वर्षमा साउदीले उल्लेख्य समाजिक रुपान्तरणको कानून निर्माण गरिसकेको छ। विशेषगरी कन्सर्ट, सिनेमा घर, महिलालाई सावारी चालकको अनुमति लगायतका सुधारका कार्यक्रम यो अवधिमा आइसकेको छ। यसले पनि साउदी अब सामाजिक रुपान्तरणको दिशामा अघि बढेको स्पष्ट हुन्छ। पछिल्लो सामाजिक सुधारको कार्यक्रमले भने साउदी अरेबिया सबैको चासोको विषय बन्न पुगेको छ। 

सन् २०१६ मा साउदी अरेबियाले धार्मिक प्रहरी हटाउने निर्णय गरेको थियो। सामाजिक सुधारको कामका लागि यसले निकै ठूलो सहयोग गर्‍यो। धार्मिक प्रहरीले साउदी अरेबियामा धार्मिक नियम मानेको वा नमानेको भन्ने कुराको निगरानी गथ्र्यो। साथै मानिसहरुलाई धार्मिक नियम मान्न बाध्य गराउने काम पनि गथ्र्यो। यसले साउदी अरेबियाबारे नकारात्मक धारणा विश्वभर फैलिएको थियो।

धार्मिक प्रहरी हटाइएसँगै साउदी सामाजिक रुपान्तरणको दिशामा जानसक्ने अनुमान गरिएको थियो। सोहीअनुसार अहिले साउदी सामाजिक रुपान्तरणमा अघि बढेको हो। 
विज्ञहरुका अनुसार पछिल्लो समय साउदी अरेबियाले ल्याएको सामाजिक रुपान्तरणको योजनाले मुलुकको केही भागमा भए पनि सुधारको अनुभूति पुगेको छ।

विश्लेषकहरु पनि साउदी अरेबियामा पछिल्लो केही समययता नाटकीयरुपमा परिवर्तन भएको विषय सामाजिक जनजीवनमा स्वतन्त्रता रहेको बताउँछन्। पहिला मानिसहरु आफ्नो घरभित्र मात्र आफ्नो इच्छाअनुसारको काम गर्न पाउँथे। तर, अब भने उनीहरुले खुला वातावरणमा पनि स्वतन्त्र हुने अवसर पाएका छन्। विशेषगरी रियाद र जेद्दाहजस्ता सहरमा यो वातावरण देख्न सकिन्छ।

सन् २०१७ मा लगानी सम्मेलनको क्रममा पनि साउदी राजकुमार मोहम्मद बिन सलमानले साउदी सबै धर्मको लागि खुला राखिने बताएका थिए। उनले मुस्लिम अतिवादी नियमको कारण साउदी अरेबिया पछि परेको बताएका थिए। यससँगै साउदीमा महिलालाई आफ्ना बच्चाको अभिभावकत्व लिने अधिकार, सबन्धविच्छेद, आफ्नो इच्छाले बच्चा जन्माउने, सरकार बाट परिवारको कागजात पाउने र अभिभावकको अनुमति बिना नै बाहिर घुम्न जान पाउने र रोजगारीमा विभेद गर्न नपाउने नियम ल्याइसकेको छ। 

अहिले साउदीले ल्याएको योजना बिस्तारै लागू हुने क्रममा छ। अहिले नै पूर्णरुपमा कार्यान्वयनमा आउन भने सकेको छैन। अझै पनि शहरभन्दा बाहिरका महिला अझै पनि खुलेर स्वतन्त्र हुन सकेका छैनन्। पछिल्लो समय साउदीले आफ्नो छवि सुधारको लागि यो योजना अघि सारेको हो। विश्वभर आफ्नो प्रभाव विस्तारको योजनामा अघि बढेको मुलुकका लागि आफ्नो छविमा पनि सुधार आवश्यक देखिएको हो।

रोजगारीमा महिलाको सहभागिता बढाउँदै साउदी समाजलाई आधुनिकतातर्फ अघि बढाउने योजना सरकारको छ। विशेषगरी यसको मुख्य कारण मुलुकको पर्यटन र विदेशी लगानीमा विस्तार गर्नु हो। त्यसका साथै युवाहरुका लागि पनि इन्टरनेटको सुविधा प्रदान गरिएको छ। यसले मुलुक साँच्चै सामाजिक तथा सांस्कृतिक पुनसंरचनामा गइसकेको देखिन्छ।

पछिल्लो समय साउदीको कठोर नियममा पनि सुधार गर्नुपर्ने आवाज उठेको छ। उदाहरणको लागि साउदीमा महिलालाई सवारीचालकको अनुमति दिनुभन्दा दुईसाताअघि अनुमति दिनुपर्छ भनेर प्रदर्शन गर्ने आन्दोलनकारीलाई पक्राउ गरी जेल हालिएको थियो। यसले साउदीको नियम कति कडा छ भन्ने कुरा स्पष्ट हुन्छ। त्यसो त साउदी अरेबियाको राजनीतिमा कुनै पनि किसिमको दबाब भने क्षम्य हुन सक्दैन। साउदी राजपरिवारको आलोचना गरेको भन्दै साउदी अरेबियाको अवैतानिक दूतावासमा पत्रकार जमाल खाशोग्जीको हत्या भएको थियो। यसबाट पनि साउदीमा सरकारको विरोध गर्ने र सरकारको नीतिको विरुद्धमा वकालत गर्नेलाई जसरी पनि सिध्याइन्छ भन्ने कुराको पुष्टि हुन्छ।

यद्यपि अहिलेको अवस्थामा हेर्ने हो भने पनि साउदीको छविमा उल्लेख्य सुधार आइसकेको छ। सन् २००३ को तुलनामा अहिले साउदीको अवस्था निकै फरक रहेको त्यहाँ पुगेका मानिसहरु बताउँछन्। कुनै समय साउदीको राजधानी मरुभूमिको सहरजस्तो थियो। तर, अहिलेको अवस्थामा यो सहर बेलायतको लण्डनसँग तुलना गर्न सकिने अवस्थामा पुगिसकेको छ। जसको कारण पनि साउदीलाई आफ्नो अवस्थामा पनि सुधार गर्नु जरुरी देखिएको हो।

अहिले साउदी अरेबियाले मुलुकमा व्यापक मात्रामा लगानी गर्दै आएका छन्। यसमध्ये धेरैलाई साउदी अरेबियाले लगानीका लागि नआत्तिन र समयअनुसार मुलुकको नियममा पनि परिवर्तन हुने आश्वासन पनि दिँदै आएको छ। त्यसैले पनि उसलाई मुलुकको छविमा सुधार गर्नु अपरिहार्य हो। साउदीको आश्वासनलाई विदेशी दाताहरुले पनि पत्याएका छन्। साउदीको तेल कम्पनी अराम्कोमा लगानी गर्नका लागि साउदीले गरेको अनुमानभन्दा पनि बढी लगानी उठेको थियो। यसबाट पनि साउदी सरकारप्रति मानिसहरुको विश्वास बढ्दो क्रममा रहेको बुझ्न सकिन्छ।

तर, साउदीको लागि सामाजिक रुपान्तरणमा पनि विभिन्न किसिमको समस्या छन्। मुलुकमा विद्यमान कट्टरपन्थी सोचले सामाजिक रुपान्तरणमा प्रत्यक्षरुपमा असर पारेको छ। अझै पनि धेरै मानिसहरु साउदी अरेबियाले ल्याएको योजनाको विपक्षमा छन्। यस किसिमका नियमहरु इस्लाम धर्मको विरुद्धमा रहेकाले यस्ता नियम ल्याउन नहुने उनीहरुको तर्क छ।

त्यसैले पनि मुलुकको सबै भागमा यो नियम कार्यान्वयनमा आउन नसकेको हो। तर, सरकारले ल्याएको नियम कार्यान्वयनमा गइसकेको अवस्थामा महिलाहरुले कानूनी लडाइँ भने लड्न सक्छन्।

विभिन्न सामाजिक रुपान्तरणको काम गर्न बाह्य समस्याको पनि साउदीले सामना गर्नुपरेको छ। विभिन्न विद्रोही सेनाले साउदीमा बेलाबेलामा आक्रमण गर्ने गरेका छन्। गत वर्ष मात्र हुथी संगठनले हुथीले साउदी अरेबियाको सबैभन्दा ठूलो तेल कम्पनी अराम्कोको तेल कुवामा आक्रमण गरेको थियो। यसबाट पनि हुथी साउदी अरेबियाको लागि टाउको दुखाइको विषय बन्न पुगेको स्पष्ट देख्न सकिन्छ। बेलाबेलामा यो संगठनले साउदीमा आक्रमण गरेको समाचार आउने गरेको छ।

यस्तोमा साउदी अरेबियामा अमेरिकालगायत बाह्य मुलुकको स्वार्थ देखिनुले पनि यो मुलुकलाई पूर्णरुपमा आधुनिकतातर्फ लैजानुमा समस्या छ। यसरी पूर्णरुपमा साउदीले आधुनिकतालाई खुला छाड्ने हो भने साउदीमा पनि आन्तरिक द्वन्द्व शुरु हुनसक्ने विश्लेषकहरु बताउँछन्।

त्यसका साथै अन्य महत्वपूर्ण परियोजना पनि मुलुकमा चलिरहेको कारण यी योजनामा असर नपरोस् भन्ने गरी कुनै ठूलो निर्णय गर्न साउदी अरेबियाले मौका कुर्ने गरेको देखिन्छ। अहिले साउदीले सन् २०३० सम्म आर्थिक क्षेत्रमा उल्लेख्य सुधारको लक्ष्यसहित भिजन २०३० कार्यक्रम अघि सारेको छ। सरकारले त्यसका लागि उल्लेख्य लगानी पनि गरेको छ।

यो योजनामा आर्थिक विविधीकरणलाई जोड दिइएको छ। तेलको निर्यातमा निर्भर रहेको अर्थतन्त्रलाई अन्य क्षेत्रमा पनि सबल बनाउने योजना सरकारको छ। साउदीको यस किसिमको प्रयासले आगामी दिनमा मुलुकका लागि पक्कै पनि राम्रै परिणाम दिने अनुमान गर्न सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ