arrow

राजनीति गर्न उमेरले छेक्छ ?

logo
हाम्राकुरा विशेष,
प्रकाशित २०७६ पुष १८ शुक्रबार
mahathir-malaysia-sanna-marin-finland.jpg

काठमाडौं। राजनीति र उमेरको चर्चा लामो समयदेखि चल्दै आएको छ। राजनीतिमा पाको उमेरका मानिसहरु जाँदा मुलुकको विकासमा चाहेको जति योगदान दिन नसक्ने भन्दै उनीहरुको आलोचना हुने गरेको छ। केहीले भने आवश्यकताभन्दा कम उमेरको मानिसलाई पनि मुलुकको जिम्मेवारी दिनुले उनीहरुले गरेको निर्णय दूरदर्शी हुन नसक्ने बताउँदै आएका छन्। नेपालमा मात्र होइन, विश्वभर नै यसको विषयमा बहस हुने गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रुपमा शपथ लिँदै गर्दा पनि बूढो नेता भन्दै उनको आलोचना भएको थियो। यसले पनि राजनीतिमा उमेर आवश्यक छ कि छैन ? भन्ने प्रश्नलाई अझै बढाएको छ। तर, विश्वको उदाहरण हेर्ने हो भने यो प्रश्नको उत्तर निकै कठिन देखिन्छ। यहाँ विश्वको सबैभन्दा वृद्ध र सबैभन्दा कान्छी प्रधानमन्त्रीको वर्णन गरिएको छ। 

सन्ना मारिया
संसारकी सबैभन्दा कान्छी प्रधानमन्त्री फिनल्याण्डकी सन्ना मारिन हुन्। उनी भर्खरै मात्र फिनल्याण्डको प्रधानमन्त्री बनेकी हुन्। मारिनले आफ्नो उमेर र लैंगिकताबारे कहिल्यै धेरै ध्यान नदिएको बताइन्। उनी आफू राजनीतिमा आउनुको कारणबारे नै सोच्ने गरेको र यसैले नै आमनागरिकको विश्वास जितेको बताउँछिन्। 

फिनल्याण्डमा सरकार चलाइरहेको पाँच दलीय गठबन्धनको नेतृत्व ३४ वर्षीया सन्ना मरिनले गरिरहेकी छिन्। उनी हाल पदमा रहेकामध्ये विश्वकै कम उमेरकी प्रधानमन्त्री मात्र होइन, फिनल्यान्डको सबैभन्दा कम उमेरकी प्रधानमन्त्री र संसारकै सबैभन्दा कम उमेरकी महिला प्रधानमन्त्री पनि हुन्।

फिनल्याण्डमा चर्केको आन्दोलनलाई राम्रोसँग सम्हाल्न नसकेका प्रधानमन्त्री आन्ती रिनेले विश्वासको मत गुमाएपछि मरिन प्रधानमन्त्रीका लागि छानिएकी थिइन्। रिनेकै मन्त्रिपरिषदमा उनी यातायात मन्त्री थिइन्।

गत वर्ष नै युक्रेनमा पनि ३५ वर्षीय ओलेक्सेइ होन्चारुक प्रधानमन्त्री बनेका थिए। न्यूजिल्याण्डकी ३९ वर्षीया जासिन्दा आर्डेर्न, ४२ वर्षीय इम्मानुयल म्याक्रोँलगायत अन्य देशमा पनि उदीयमान युवानेताले कार्यकारी प्रमुखको रुपमा सरकार हाँकिरहेका बेला ५५ लाख जनसंख्या रहेको मुलुक फिनल्याण्डको नेतृत्व ३४ वर्षीया मरिनको काँधमा आइपरेको हो। उत्तर कोरियाली नेता किम जोङ उन पनि ३६ कै हाराहारीको उमेरमा छन्।

तर, उनी आफ्नो उमेरको विषयमा भने खासै टिप्पणी गर्न चाहन्नन्। उनी आफ्नो उमेर र लैंगिकताबारे कहिल्यै धेरै ध्यान नदिएको बताउँछिन्। मुलुक फिनल्याण्डकी उनी तेस्रो महिला प्रधानमन्त्री हुन्। उनको सोसल डेमोक्रेटिक पार्टी गत अप्रिलमा सबैभन्दा ठूलो दल बनेर गठबन्धन सरकारको नेतृत्व गरेको हो। उनकी आमा एकल महिला हुन्। उनैले मरिनलाई हुर्काएकी थिइन्। विश्वविद्यालयमा अध्ययन गर्ने उनी परिवारकै पहिलो सदस्य पनि हुन्।

२७ वर्षको उमेरमै औद्योगिक सहर ट्याम्पेरको सिटी काउन्सिलको प्रमुख बनेपछि मरिन राजनीतिमा उदाएकी थिइन्। ७ महिनाअघि सरकारमा आएको उनको दलले रिनेको बर्हिगमनपछि पनि ‘कार्बन न्युट्रालिटी’ लगायत वातावरणसम्बन्धी कार्यक्रममा जोड दिने बताएको छ। उनले नेतृत्व गर्ने गठबन्धनमा सहभागी अन्य चारदलका प्रमुख पनि महिला नै छन्।

गठबन्धनको नेतृत्व गर्ने ली एन्डरसन ३२ वर्षकी छिन्। ग्रीन लिगकी नेतृ मारिया ओलिसालो ३४, सेन्टर पार्टीलाई नेतृत्व गर्ने क्याट्री कुल्मुनी ३२ र स्विडिस पिपल्स पार्टीकी प्रमुख अन्ना–माजा हेन्रिक्सन चाहिँ ५५ वर्षीय हुन्। फिनल्याण्डको यो उदाहरणले कमै उमेरमा पनि मुलुकको नेतृत्व गर्नसक्ने क्षमता हुन्छ भन्ने राम्रो पाठ सिकाएको छ। त्यतिमात्र होइन, मारिन आफूभन्दा पाको प्रधानमन्त्रीले पूरा गर्न नसकेको जिम्मेवारी पूरा गर्न तम्सिएकी हुन्। 

महाथिर मोहम्मद
विश्वको सबैभन्दा कान्छी प्रधानमन्त्री फिनल्याण्डले छान्दै गर्दा एसियाली मुलुक मलेसियामा भने संसारकै सबैभन्दा वृद्ध प्रधानमन्त्री छन्। उनी ९२ वर्षको उमेरमा सत्तामा आएका हुन्। अहिले उनी ९४ वर्ष पूरा भइसकेका छन्। तर, उनले मलेसियाको लागि महत्वपूर्ण योजना र आत्मविश्वास दिएका छन्। उनको योजनामा मलेसिया महत्वपूर्ण राजनीतिक सुधारको खोजी गरिरहेको छ। 

उनी विश्व राजनीतिमा पश्चिमा शक्तिको दबदबा कायम रहेका बेला ‘पूर्वतिर हेर’ भन्ने नाराले संसारको ध्यान खिचेको प्रधानमन्त्री हुन्। उनलाई आधुनिक मलेसियाका जन्मदाता पनि मानिन्छ। उनी १५ वर्षपछि ९२ वर्षको उमेरमा पुनः सत्तामा आएका थिए। ९२ वर्षको उमेरमा मुलुकलाई अघि बढाउँछु भन्ने आत्मविश्वासका साथमा आउँदा पनि उनलाई जनताले विश्वास गरेर जिताए र मुलुकको प्रधानमन्त्री बनाए। 

उनले यसअघि सन् १९८१ देखि २००३ सम्म मलेसियाको नेतृत्व गरेर मुलुकलाई विकासको गतिमा लम्काएका थिए। तर, उनी आफैंले हुर्काएका राजनीतिक चेला नजिब रजाक र पार्टी बारिसन नेसनललाई सत्ताच्युत गर्दै अवकाश लिएको १५ वर्षपछि उनले पुनः सत्तारोहण गरे। त्यसो त महाथिर आफैं पनि सन् १९७५ देखि यो निर्वाचनमा पराजित भएको बारिसन नेसनल (बीएन) को सदस्य थिए।

पछिल्लो समयमा भने उनले आफूलाई २२ वर्षसम्म सत्तासीन गराएको तथा ६१ वर्षदेखि मलेसियाको सत्तारूढ रहेको सोही बीएन पार्टीलाई हराउँदै पुनः प्रधानमन्त्री बने। यसको कारण मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब राजाक हुन्। राजनीतिक हिसाबमा राजक पनि महाथिरकै चेला हुन्। तर, राजाकको काम महाथिरलाई चित्त बुझेन र उनले पार्टी त्याग गर्दै लोकतान्त्रिक पद्धतिबाट नै राजाकलाई जवाफ दिँदै गलत साबित गरिदिए। 

सन् २००९ मा नजिब रजाक प्रधानमन्त्री भएपछि उनका क्रियाकलापले उनी र उनको पार्टी दुवैलाई अलोकप्रिय बनाइरहेको थियो। रजाकले वान मलेसिया डेभलपमेन्ट बर्हाब (१एमडीबी)बाट करोडौं रकम भ्रष्टाचार गरेको र आफ्नो खातामा सारेको पुष्टि भयो। महाथिरले पार्टीभित्रैबाट रजाकलाई प्रधानमन्त्रीबाट हटाउन कोसिस गरे पनि सफल हुन नसकेपछि उनका समर्थक सो पार्टीबाट अलग भए। यति हुँदा पनि रजाकले आफ्नो कमजोरी स्वीकार गर्नुको साटो उच्च सरकारी अधिकारीलाई बर्खास्त गरे भने सञ्चारमाध्यम र विपक्षीमाथि समेत कडाइ गरे।

सन् २०१५ मा महाथिरले पार्टी परित्याग गरी रजाकलाई सत्ताच्युत गर्न मलेसियाली जनतालाई अपिल गर्दै विशाल प्रदर्शनको नेतृत्व गरे। उनले सुरु गरेको यो अभियानले उनलाई पुनः सत्तामा पुर्‍यायो। रजाकको शासनकालमा मलेसियाली नागरिकले भ्रष्टाचारका साथै विभिन्न जातीय संघर्षको सामना गर्नुपरेपछि राजनीतिक व्यवस्थापनका लागि राष्ट्रले आफ्नो खाँचो महसुस गरेको भन्दै महाथिर पुनः राजनीतिमा आएका थिए। 

जितपछि पत्रकारसँग कुराकानी गर्दै उनले भन केवल कानुनी शासनको बहाली चाहिएको प्रतिक्रिया दिएका थिए। मलेसिया सन् १९९० को दशकदेखि गरेको लगातारको आर्थिक विकाससँगै ‘एसियाको बाघ’का रूपमा उदाएको थियो।’ यद्यपि, उनको शासनकालमा एक विवादास्पद सुरक्षा कानुनको प्रयोग गरी राजनीतिक प्रतिद्वन्द्वीलाई जेल हालेपछि सर्वसत्तावादी भएको आरोप लागेको थियो। तर, उनले आफ्नो उक्त कदम गलत रहेको भन्दै आफैंले जेल हालेका व्यक्तिलाई जेलमुक्त गरिसकेका छन्।

मलेसियाको लागि नयाँ कार्यकाल सम्हालेसँगै महाथिरले मलेसियाको लागि चीनसँगको सम्झौता घातक रहेको भन्दै चीनसँगको सम्झौता नै रद्द गरिदिएका थिए। तर, पछि विभिन्न मुद्दामा सहमत गराई त्यसमा परिमार्जक गरिएको थियो। साथै उनले १एमडीबीमा भएको भ्रष्टाचारको धेरैजसो रकम फिर्ता पनि ल्याइसकेका छन्। यो कोषको सबै रकम फिर्ता ल्याउने उनले बताउँदै आएका छन्। उनी यो उमेरमा पनि आफूलाई फूर्तिलो रहनुको कारण निरन्तर सक्रिय रहनु बताउँछन्। सीएनएनलाई दिएको एक अन्तर्वार्तामा उनले भनेका थिए–आफूलाई सक्रिय राख्नु छ भने दिमागलाई सक्रिय राख्नुस्। मानिसको दिमाग पनि अन्य मांसपेशी जस्तै भएकाले यो निष्क्रिय हुँदा मानिस पनि निष्क्रिय बन्ने उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ