arrow

सुलेमानीको हत्यापछि मध्यस्तकर्ताको रुपमा आबे मध्यपूर्व भ्रमण गर्दै

logo
प्रकाशित २०७६ पुष २२ मंगलबार
Japanese-Shinzo-Abe-PM.jpg

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबे अर्को हप्ता मध्य पूर्वको भ्रमणमा जादैछन् । उनले अमेरिकी हवाई आक्रमणमा परी इरानी सैन्य कमाण्डर मारिएपछि उत्पन्न तनाव न्युनिकरणका लागि साउदी अरब, ओमन र युएईको भ्रमण गर्नेभएका छन् ।

प्रधानमन्त्रीको पार्टी लिवरल डेमोक्र्याटिक पार्टीका एक जना प्रवक्ताले आबे यही जनवरी १२ देखि जनवरी १५सम्म मध्यपूर्वको भ्रमणमा जाने बताएका हुन् ।

पार्टीका नेताहरुसँगको बैठकमा प्रधानमन्त्री आबेले भ्रमणको विस्तृत विवरण दिएको बताइएको छ । मध्यपूर्वमा सृजना भएको तनावका बारेमा आफूले गहिरो चासो राखेको प्रधानमन्त्रीले बैठकमा बताएको जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले जनाएको छ ।

उनले भने, “त्यस क्षेत्रमा शान्ति स्थापनाका लागि र स्थायित्वका लागि मैले कुटनीतिक पहलमार्फत् केही योगदान दिन सक्छु भन्ने मैले विश्वास लिएको छु ।”

वासिङ्टन र तेहरानबीचको सम्वन्ध सुधार्नका लागि मध्यस्तकर्ताको रुपमा प्रयास गरिरहेका आबेले ‘गहिरो चिन्ता’ व्यक्त गर्दै आएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तेहरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले एक अर्कालाई कडा चुनौती दिएपछि थप नराम्रो अवस्था सृजना हुनसक्ने आशंका गरिएको छ ।

इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको गत शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको अमेरिकी ड्रोन हमलामा मृत्यु भएको थियो ।

मारिएका ती सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके भएको बताउँदै आएको थियो । यो आक्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ । जुन कुरा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले नै पुष्टि गरेको छ ।
 
शुक्रबार भएको यस सैन्य कारबाहीपछि उत्तेजकरुपमा व्यवहार नगर्न र संयमता अपनाउन विभिन्न देशले आग्रह गरिरहेका छन् । चीन, रुस र सिरियाले यस हवाई आक्रमणको आलोचना गरेका छन् । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ