arrow

खिम्ति—ढल्केबर आयोजनाः थातथलो छाड्नुपर्ने भएपछि स्थानीय चिन्तित

logo
कृष्णराज गौतम,
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
bijuli-@@.jpg.jpeg
सिन्धुली । कमलामाई नगरपालिकाका विभिन्न गाविसका स्थानीयवासी लामो समयदेखिको थातथलो छाड्नुपर्ने भएपछि चिन्तित देखिन्छन् । खिम्ति—ढल्केबर २२० केभी विद्युत् प्रसारण लाइन विस्तार गर्न हाइटेन्सनका टावर विस्तार गर्ने क्रममा बाबुबाजेका पालादेखि भोगचलन गर्दै आएको पैतृक सम्पत्ति छाड्न पर्दा उनीहरु केही गम्भीर देखिएका हुन् । 
 
उनीहरु आफ्नो गाउँमा विद्युत् विकास हुन लागेकोमा भने खुसी भएका छन् । सोझासिधा केही गाउँले मुआब्जा लिनसमेत गएका छैनन् । केही टाठाबाठाले भने आयोजनाबाट प्राप्त रकमलाई सदुपयोग गरी काठमाडौँमा समेत घर तथा सम्पत्ति जोडेका छन् । 
 
नगरपालिकाअन्तर्गत ठूलीटार, रतनचुरा, भद्रकाली, कर्करे, बकुडाडालगायत गाविसका गाउँलेले खिम्ति—ढल्केबर २२० केभी विद्युत् प्रसारण लाइन पीडित सङ्घर्ष समिति गठन गरी पीडित पक्षलाई हकहितलाई ध्यान दिन आग्रह गरेका छन् । समितिले सम्बन्धित पक्षलाई दबाब दिन धर्नासमेत दिँदै आएको थियो । स्थानीय प्रहरी प्रशासनले गत आइतबार धर्नास्थलमा सामान्य बल प्रयोग गरी आयोजना अगाडि बढाएको छ । प्रहरीसँगको सामान्य झडपमा परी केही गाउँले घाइतेसमेत भएका छन् । 
 
समितिका अध्यक्ष सुरेन्द्रस्वर मोक्तानले न्यायोचित रुपमा क्षतिपूर्ति तथा आयोजनाबाट प्राप्त हुने रोजगारीको अवसर, सेयर लगायतमा सहभागी गराउन माग गर्नुभयो । खिम्ति—ढल्केबरको आयोजना विश्व बैङ्कको लगानीमा सन् २००२ मा सुरु भएको थियो । सन् २००६ मा आयोजना कार्यान्वयनका लागि ठेकेदारसँग सम्झौता भएको थियो । सन् २००९ मा आयोजना सक्ने लक्ष्य राखिएको थियो । विभिन्न कारणले ती कार्य पूरा हुन सकेको थिएन । 
 
प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले सो आयोजनाले देशको विद्युत् उत्पादनमा ठूलो महत्व राख्ने र अन्य आयोजनाका समेत विद्युत्लाई त्यहीँबाट तान्ने व्यवस्था गरिएकाले त्यसलाई कसैले पनि अवरोध गर्न नहुनेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय गौरवको आयोजनालाई कसैले पनि अवरोध गरेमा त्यसलाई अगाडि बढाउन आवश्यक सुरक्षा स्थानीय प्रशासनले मिलाउने जानकारी दिनुभयो । 
 
लामो समयसम्म रोकिएको आयोजना सम्बन्धित पक्षको सरोकार भएका कारण तथा सरकारले सुरक्षा प्रदान गरेका कारण अगाडि बढाउन लागिएको छ । यसलाई अगााडि बढाउने क्रममा अवरोध गर्न नहुने र विभिन्न पक्ष विपक्षमा गाउँले विभाजित हुन पनि हुँदैन । 
 
खिम्ति—ढल्केबर आयोजना प्रमुख श्याम यादवले स्थानीयलाई नियमअनुसार दिनुपर्ने सुविधा उपलब्ध गराइसकिएको जानकारी दिँदै आयोजनालाई चाँडो सम्पन्न गर्न सकेमा त्यसको लाभ स्थानीयवासीले पनि प्राप्त गर्ने बताउनुभयो ।  त्यस क्षेत्रमा १५९ कित्ता जग्गा अधिग्रहण गरिएकोमा सडक विभागले करिब रु २२ करोड तथा आयोजनाले रु ६ करोड मुआब्जाबापत उपलब्ध गराएको छ । २९ जनाले मात्र मुआब्जा बुझेका छैनन् । 
 
स्विजरल्यान्ड सरकारले निर्माण गरिदिएको स्विस सिन्धुली सेकेन्डरी इङ्गलिस स्कुल पनि हाइटेन्सन विस्तारका क्रममा प्रभावित भएको छ जहाँ सुलभ मूल्यमा अङ्ग्रेजीमा स्थानीय विद्यार्थीलाई अध्ययन गराइँदै आएको छ । कक्षा १ देखि १० सम्म पढाइने विद्यालयमा १६ शिक्षक तथा ३०० विद्यार्थी छन् । विद्यालय सञ्चालक समितिका अध्यक्ष बमविक्रम थापाले स्थानीय क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै विद्यालयको विकल्पको माग गर्नुभयो । 
 
उहाँले प्राचीन समयदेखि बसेका मानिसको संस्कृति र रीतिरिवाजलाई विस्थापित गर्न नहुने विचार व्यक्त गर्नुभयो । नेपालका आदिवासीको मानवअधिकारसम्बन्धी वकिल समूहका वकिल भीम राईले कुनै पनि स्थान तथा क्षेत्रमा विकास गर्ने क्रममा त्यहाँ आदिमकालदेखि बसोबास गर्दै आएका मानिसको भावनालाई सम्मान र सम्बोधन गर्नुपर्ने बताउनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ