arrow

जापानमा पनि पुख्र्यौली मान्यतालाई जोगाउदै नेपाली

logo
प्रकाश पन्थी,
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
tokyo-japan.jpg.jpeg
टोकियो । आफ्नो परम्परागत कलासंस्कृतिलाई जोगाउन माहिर नेपाली समुदायले सात समुद्रपारिको मुलुक भनेर चिनिने जापानमा समेत अनौठा तर रोचक तरिकाले विविध कार्यक्रम गरी पुख्र्यौली मान्यतालाई स्मरण गराएका छन् । 
 
रोजगारी, अध्ययन तथा व्यवसायका लागि जापानमा रहेर पनि आफ्नो कला संस्कारलाई जोगाउने भन्दै गरिने यस्ता कार्यक्रमले यहाँस्थित नेपाली समुदायमात्र नभएर स्थानीय जापानी नागरिकको समेत बाक्लो उपस्थितिले त झनै माहोल उत्साहक हुने गरेको आयोजकले दाबी गरेका छन् । 
 
आफ्नो संस्कारलाई जोगाउने भन्दै गत शनिबार जापानको टोकियोमा आयोजित बेलविवाहको सुरुमा नाबालिकाहरु नवदुलही भेषमा सजिएका थिए । छेउमा सिङ्गारपटार गर्दै थिए, उनीहरुकै बाबुआमा । अनि उनीहरु पनि नेपाली समुदायभित्रकै एक फरक पोशाकमा थिए । विवाहमण्डप नेपालमा हुनेभन्दा फरक थिएन । 
 
नेवारी परम्परामा मानिँदै आएको इही अर्थात् बेलविवाहमा सात वर्ष ननाघेका कलिला बालिकाको पहिलो चरणअन्तर्गत बेलसँग विवाह गरिएको हो । संस्कारअनुसार दोस्रो चरणमा सूर्यसँग र तेस्रो चरणमा मान्छेसँग विवाह गरी जीवन चलाउनुपर्ने नेवारी संस्कार भएको आयोजक समितिका संयोजक तथा नेवाः अन्तर्राष्ट्रिय फोरम जापानका अध्यक्ष विगेन्द्रमानसिंह प्रधानले जानकारी दिए । 
 
अध्यक्ष प्रधानका अनुसार जापानमा बढ्दो नेपालीको आगमनदरसँगै विविध संस्कार मान्दै आएका नेवारी संस्कृतिको बेलविवाह सबैभन्दा पवित्र कार्यमात्रै नभएर अभिभावकका लागिसमेत एक जिम्मेवारीर्पूण काम मानिन्छ । जापानमा पहिलो पटक आयोजना गरेको बताउने नेवाःअन्तर्राष्ट्रिय फोरम जापानका अनुसार गत शनिबार अपराह्न सातजना नेवारी बालिबालिकाको सामूहिक बेलविवाह गरिएको थियो । 
 
रोजगारी, अध्ययन तथा व्यवसायका लागि जापान आएका नेवारी समुदायका युवाले जापानी महिलासँग विवाह गरी जन्माएका बालबालिका तथा अभिभावकसमेत गरी एकसयभन्दा बढीको सहभागितामा भएको कार्यक्रममा पहिलो चरणअन्तर्गत बेलविवाह र दोस्रो चरणमा लप्तेभोज नामक नेवारी भोजको कार्यक्रम गरिएको थियो । भोजमा नेवारी परिकार बनाइएको थियो । कार्यक्रममा नेपाली राजदूतावासका कार्यबाहक राजदूत गेहेन्द्रराज भण्डारीले कलासंस्कृति जोगाउन तथा आपसी सम्बन्ध बढाउन परम्परागत संस्कार महत्वपूर्ण हुने गरेको बताए । 
 
कार्यक्रममा सहभागी जापानी नागरिकले अहिलेसम्म नदेखेको कलिला बालिकाको विवाह तथा नेवारी परिकारलाई रमाइलो मानेको बताएका थिए । बेलविवाहमा सहभागी बालिकालाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ