कांग्रेसको सार्वजनीक सूचनापछि विरेन्द्र कनौडियाले बुझाए किसानको १२ करोड
प्रकाशित २०७६ पुष २५ शुक्रबार
1k
Shares
काठमाडौं । नेपाली कांग्रेसले उखु किसानको भुक्तानी तत्काल दिन सार्वजनीक सूचना जारी गरेपछि चिनी मिल सञ्चालक तथा नेपाली कांग्रेसका प्रदेश सांसद विरेन्द्र कनौडियाले उखु किसानहरुको खातामा १२ करोड रुपैयाँ जम्मा गरेका छन् ।
महालक्ष्मी सुगर मिलका सन्चालक कनौडियाले सोको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई दिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमा उल्लेख गरेका छन् । साथै अब चुक्ता गर्न ६ करोड बांकी रहेको बताउंदै कनौडियाले यथासिध्र चुक्ता गर्ने प्रतिबद्धता गरेका छन् ।
यसअघि प्रदेश नं. ५ को कांग्रेस संसदीय दलका नेतासमेत रहेका कनौडियालाई पुस २५ गतेभित्र किसानहरुका बक्यौता रकम तत्काल दिन कांग्रेसले निर्देशन जारी गरेको थियो। कनोडियालाई सो मितिभित्र किसानको रकम भुक्तानी गरेर त्यसको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई गराउन भनिएको थियो ।
ट्वीटमा प्रवक्ता शर्माले लेखेका छन्, 'उखु किसानहरुको खातामा १२ करोड रुपैयाँ जम्मा गरेर चिनी उधोगी एवं कांग्रेस सांसद विरेन्द्र कनौडियाले सोको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई दिनुभएको छ । अब चुक्ता गर्न ६ करोड बांकी रहेको बताउंदै यथासिध्र चुक्ता गर्ने प्रतिबद्धतापनि पार्टीसंग व्यक्त गर्नुभएको छ !'
साथै कांग्रेसले अन्य सबै उद्योगी मार्फत किसानलाई भुक्तानी तत्काल दिलाउन सरकार समक्ष अपिल गरेको थियो ।