arrow

राष्ट्रकवि घिमिरेको गीति नाटक ‘अश्वत्थामा’ को हिन्दी संस्करण विमोचन

विश्व हिन्दी दिवसमा नेपाली कथाहरुको अनुवादित सङ्ग्रह ‘उत्कृष्ट कहानियां’ को पनि लोकार्पण

logo
प्रकाशित २०७६ पुष २५ शुक्रबार
hindi-diwas-nepal.gif

काठमाडौं। काठमाडौंस्थित भारतीय राजदूतावास तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हिन्दी केन्द्रीय विभागले संयुक्त रुपमा विश्व हिन्दी दिवस मनाएका छन्। काठमाडौंमा आयोजना भएको समारोहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले प्रमुख अतिथि थिए। सो अवसरमा कार्यभार राजदूत डा. अजय कुमारले भारतका माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाएका थिए।  

समारोहमा हिन्दी केन्द्रीय विभागको शोध पत्रिका ‘साहित्यलोक’ को विशेषाङ्कको लोकार्पण गरिएको थियो। वी.पी. कोइराला नेपाल भारत फाउन्डेसन, भारतीय राजदूतावास, काठमाडौंको सहयोगमा प्रकाशित दुई हिन्दी तथा दुई नेपाली पुस्तकको पनि सोही कार्यक्रममा लोकार्पण गरिएको थियो।

पुस्तकहरुमा हिन्दी केन्द्रीय विभागका विद्यार्थीहरुद्वारा नेपालीमा अनुवाद गरिएका विश्व प्रसिद्ध हिन्दी कथाकार प्रेमचन्दद्वारा लिखित पाँच प्रसिद्व कथाहरु एवम् नेपालीमै अनुवाद गरिएको स्वामी विवेकानन्दको प्रसिद्ध पुस्तक ‘कर्मयोग’ समावेश छन् ।

साथै हिन्दीमा अनुवाद गरिएका राष्ट्रकवि माधव प्रसाद घिमिरेद्वारा रचित गीति नाटक ‘अश्वत्थामा’ एवम् युवा तथा नयाँ नेपाली कथाकारहरुले लेखेका २५ आधुनिक नेपाली कथाहरुको अनुवादित सङ्ग्रह ‘उत्कृष्ट कहानियां’ को पनि लोकार्पण गरिएको थियो। ति कथाहरु बाह्रखरीले नेपालभर आयोजना गरेको कथा लेखन प्रतियोगीताबाट छानिएका थिए । 

समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, काठमाडौंका कलाकारहरुले प्रख्यात हिन्दी कविहरुका रचनाहरुको साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । लेखक, पत्रकार, हिन्दी तथा नेपाली बुद्धिजीवी, प्राज्ञ र विद्यार्थी लगायत विविध क्षेत्रका २ सय भन्दा बढी विशिष्ट साहित्यिक महानुभावहरुले सो कार्यक्रममा सहभागीता जनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ