बाणिज्य संघको निर्वाचनमा चुन्ना समूहले कब्जा गर्यो मतदाताका परिचयपत्र, ओली र चौधरीले बनाए गायव
प्रकाशित २०७६ पुष २७ आइतबार
364
Shares
नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा पराजय हुने अवस्था आएपछि अध्यक्षका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना समूहले परिचयपत्र नै कव्जा गरेको छ । निर्वाचन आचारसंहिता विपरित सयौं मतदाताका परिचयपत्र चुन्ना समूहले कब्जा गरेको हो । समावेशी प्यानलका चुन्ना समूहबाट सदस्य पदका उम्मेदवार चिरञ्जीवि ओली र चुन्नाको पसलमा काम गर्ने कामदार अमृत चौधरीले परिचयपत्र गायव बनाएको पुष्टि भएको छ ।
परिचयपत्र वितरणमा खटिएका नेपालगन्ज उद्योग बाणिज्य संघका कर्मचारीको मिलेमत्तोमा चुन्ना समूहले आचारसंहिता विपरित परिचयपत्र कब्जा गरेको हो । चुन्ना समुहबाट निर्वाचन आचारसंहिता विपरित कार्य भएको संघका अध्यक्ष नन्दलाल बैश्यले पुष्टि गरे ।
निर्वाचन आचारसंहिता विपरित भएको गतिविधि सह्य नहुने चेतावनी दिंदै उनले पुरानो परिचयपत्र रद्द गरेर नयाँ छाप्ने तयारी भइरहेको जानकारी दिए । निर्वाचन आचारसंहितामा परिचय पत्र लिन मतदाता स्वयम उपस्थित हुनु पर्ने उल्लेख छ ।
मतदाता उपस्थित हुन नसकेको खण्डमा श्रीमति, श्रीमान, छोरा बुहारी, बाबु आमाको मन्जुरी नामा पेश गरि परिचयपत्र लिन सकिने स्पष्ट उल्लेख छ । तर चुन्ना समूहका ओली र चौधरीले दुई सय बढी मतदाताको परिचयपत्र आफै हस्ताक्षर गरेर लगेका छन् ।
नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष सुनिल कुमार शर्माले निर्वाचन आचारसंहिता विपरितका हर्कत पराजित मानसिक्ता हो भने। उनले पुरानो परिचयपत्र रद्द गरेर नयाँ परिचयपत्र छपाई गरी तत्काल वितरण गरेर चुनावलाई शान्तिपूर्ण, भयरहित बनाउन अध्यक्ष बैश्यलाई सुझाव दिएका छन्।