arrow

‘नेपाल फेरि एक पटक पारस, ज्ञानेन्द्रको व्याटिङमा निर्भर’

शरदको भर, बलिङ जितको आधार

logo
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
nepal-&-namibia-new-ODI--2.jpg.jpeg.jpeg
काठमाडौं । शनिबार घरेलु मैदानमा हुने नामिवियाविरुद्धको विश्व क्रिकेट लिग डिभिजन च्याम्पियनसिपको खेल नेपालकै पक्षमा रहने धेरैको अड्कल छ । नेपाली टोलीका प्रशिक्षक तथा खेल व्यवस्थापकहरुले समेत नेपालले नै खेल जित्ने ठोकुवा गरेका छन् । उता, पाहुना टोलीका प्रशिक्षक र कप्तानले समेत नेपाली टोलीसंग खेल्नु चुनौती हुने बताइसकेका छन् । यस अवस्थामा नेपाली टोली कस्तो खेल पस्किन्छ भन्ने फिल्डको स्थिति हेरेर मात्रै थाहा हुने नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले बताए । उनले भने, ‘हाम्रो टोली तयार छ, जित हाम्रै हुन्छ, पूर्ण तयारीका साथ हामी मैदान उत्रिन्छौं ।’ कीर्तिपुर मैदान स्पिन मैत्री मात्रै भन्न नमिल्ने टमाटाको भनाई छ । उनले भनेका छन्, ‘स्पिन मैत्री दर्शकहरुको दृष्टीकोण हो, तर फास्ट बलरको पनि अर्थ रहने छ, हामीसंग दुवै थरी सशक्त बलरहरु छन् । जित हाम्रै पक्षमा छ ।’ खेल शनिबार बिहान सवा ९ बजेबाट सुरु हुनेछ । 
 
नामिवियाको परीक्षा 
नामिविया बढी दर्शक सामु पहिलो पटक खेल्दै छ । नामिवियाका प्रशिक्षक दयानन्द ठाकुर र कप्तान स्टेफन बार्डले विहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफुहरुलाई नेपाली टोलीसंग खेल्नु सहज नहुने बताएका थिए । कीर्तिपुर मैदानको टर्निङ विकेट र भरिभराउ दर्शकबारे नामिविया क्रिकेट टोली जानकार पनि छ । झन्डै १५ हजार दर्शक उपस्थित खेलको माहोल पहिलो पटक अनुभव गर्ने नामिवियाको टोलीका लागि यो परिक्षा समेत हुने छ । जसप्रति टोली सचेत रहेको प्रशिक्षक ठाकुर बताउँछन् ।
 
नेपाल आएर क्रिकेट खेल्ने नामिविया पहिलो अफ्रिकी टोली हो । यसअघि, सन् २००५ मा दक्षिण अफ्रिकी प्रशिक्षक जोन बेली मलेसियाको प्रक्षिक बनेर आउँदा उनले नेपाली दर्शकलाई हारको प्रमुख कारण मानेका थिए । उनले नेपाली क्रिकेट समर्थकको निकै प्रशंसा समेत गरेका थिए । 
 
नेपालको रणनीति 
अस्वस्थ सुभास खकुरेल र अनिलमण्डल नेपाली टोलीमा नहुँदा ओपनर र किपरबारे निकै चर्चा भइरहेको छ । नेपालले रणनीतिक रुपमा शनिबार नामिवियाविरुद्धको एक दिवसीयमा ज्ञानेन्द्र मल्ल र नरेश बुढाऐरलाई ओपनर बनाउने छ । किपरमा विनोद भण्डारी र यु–१९ कप्तान राजु रिजाल मध्ये एक जना रहने छन् । त्यसमा पनि विनोद भण्डारीको सम्भावना बढी छ । बलिङतर्फ स्पिनमा शक्ति गौचन, बसन्त रेग्मी र सागर पुन खेल्नेछन् । फास्ट बलरमा सोमपाल कामी पूरा खेल्दा अन्य बलरले पनि अवसर पाउने छन् । यसपटक, टोलीमा परेका र क्रिकेट समर्थकले अपेक्षा गरेका लेग स्पिनर सन्दीप लामिछाने र सुशान भारीले समेत बलिङ गर्न सक्ने सम्भावना छ । 
 
व्याटिङमा नेपालको भरोसा  
नेपाली क्रिकेटलाई लामो समय धानेकै खेलाडीहरु कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र मध्यक्रमका व्याट्सम्यान शरद भेषावकरकै व्याटिङ भरोसा छ । पारस नेपाली क्रिकेटलाई उचाई दिने कुशल कप्तान हुन् । तर, नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनसंग उनी त्यति सन्तोष छैनन् । उनले क्यानकै आन्तरिक लफडा र कमी कमजोरीले क्रिकेट पुग्नु पर्ने उचाईमा नपुगेको गुनासो गर्दै आएका छन् । खेलमा उनको लगाव जारी छ । २८ वर्ष पार गरिसकेका खड्काले एक दिवसीयमा १५ इनिङ खेल्दा ४ सय ४६ रन बनाएका छन् । उनले ९ छक्का, ४० चौका बनाएका छन् । बलिङतर्फ हालसम्म उनको खातामा १० विकेट छ ।  
 
यस्तै, ज्ञानेन्द्र मल्ल नेपालका लागि भर पर्दा व्याट्सम्यान हुन् । यद्यपि, एक दिवसीयमा हालसम्म उनले छक्का प्रहार गर्न सकेका छैनन् । १६ इनिङमा ४ सय ४१ रन बनाएका उनले ४६ चौका प्रहार गरेका छन् । मध्य क्रमका व्याट्सम्यान शरद भेषावकरले नेपाली क्रिकेटको व्याटिङ लामो समय धानेका छन् । उनले विश्वकप टि–२० को उत्कृष्ठ प्रदर्शनमा समेत महत्वपूर्ण योगदान दिए । एक दिवसीयमा समेत उनले सम्मानजनक प्रदर्शन गरेका छन् ।  
 
नेपालको जित्ने आधार ? 
कीर्तिपुर मैदान स्पिनमैत्री भएकाले शक्ति गौचन, बसन्त रेग्मी स्पिनर, सागर पुन र यु–१९ मा ह्याट्रिक गरेका लेग स्पिनर सन्दीप लामिछाने टोलीमा रहेकाले बलिङले नै नामिवियालाई दबाबमा राख्ने नेपाली टोली प्रशिक्षक टमाटाले बताएका छन् । टमाटाले भनेका छन्, ‘हामी राम्रो खेल पस्किन्छौं, राम्रो क्रिकेट खेल्नु भनेकै जित्ने मूल आधार हो ।’ जसका लागि नेपाली खेलाडी तयार छन् । घरेलु मैदान, घरेलु समर्थक अर्को सपोर्ट हो, उनले थपे, ‘घरेलु मैदानमा स्वभाविकै रुपमा वातावरण फरक हुन्छ, मैदानको टेक्निकल पार्टले समेत साथ दिन्छ, हाम्रा व्याट्सम्यान र बलर दुबैले राम्ररी चिनेको मैदान हो कीर्तिपुर ।’ पाहुना टोलीलाई मनोवैज्ञानिक दबाब समेत हुन्छ । नयाँ ठाउँमा अफ्ठेरो स्वभाविकै हुन्छ । यी विभिन्न तपसीलका कुरा भए पनि मूख्य आधार हामी राम्रो क्रिकेट खेल्छौं भन्ने आत्म विश्वास नै हो । 
 
नेपालको बलियो पक्ष  
नेपाली टोलीको बलियो पक्ष बलिङ रहेको टमाटाले बताए । उनले भने, ‘हाम्रो बलिङ सशक्त छ, ब्याटिङ् पनि राम्रै हो ।’ नामिवियाली टोलीले १५–२० हजार दर्शक सामुन्ने हाल सम्म नखेलेको बताउँदै टमाटाले भने, ‘हाम्रो टोलीले कयौं पटक बढी क्राउडको अघि खेलिसकेको छ, हामीले बलिङमा च्यापेर व्याटिङले जित्ने हो, डेफिनेट्ली जित्छौं पनि ।’ हामी नामिवियालाई बलिङमै खास दबाब दिन्छौं । नामिविया अफगानिस्तानसंगको अन्तर्राष्ट्रिय कप चार दिवसीय त्रिकेट गुमाएकाले पनि दबाबमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ