युएईका युवराजद्धारा विभिन्न देशका नेताहरुसँग कुराकानी
सिन्ह्वा,
प्रकाशित २०७६ पुष २८ सोमबार
559
Shares
अबुदाबी। संयुक्त अरब इमिरेट्स (युएई) का युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानले विभिन्न देशका नेताहरुसँग कुराकानी गरेका छन्। उनले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग युएईको राजधानी अबुदाबीमा भेटेर आइतबार कुराकानी गरेका हुन्। भ्रमणका लागि आउनु भएका विडोडोलाई स्वागत गर्दै उहाँले विभिन्न विषयमा कुराकानी गरेको अधिकारीहरुले जनाएका छन्।
“आज मैले इन्डोनेसियाका राष्ट्रपति तथा मेरा साथी जोको विडोडोलाई स्वागत गर्दै दुई पक्षीय कुराकानी गरेका छौँ,” युवराज शेख मोहम्मदले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। उनले साझा चासो र दुई पक्षीय हितका बारेमा पनि कुराकानी गरेको सामाजिक सञ्जालमार्फत् नै जानकारी दिएका छन्। विषेशगरेर अर्थतन्त्र, लगानी, व्यापार र विकासका क्षेत्रका साथै दुई देशको मित्रतालाई थप मजबुद बनाउने बारेमा कुराकानी भएको उनले बताएका छन्।
त्यसैगरी उनले फ्रान्सका राष्ट्रपति एम्यानुएल मार्कोनसँग पनि आइतबार नै कुराकानी गरेका छन्। फ्रान्सका राष्ट्रपतिसँग भने उनले टेलिफोनमा कुराकानी गरेका हुन्। “मैले फ्रान्सका राष्ट्रपति एम्यानुएल मार्कोनसँग फोनमा कुराकानी गरेको छु, मलाई उनले फोन गरेका थिए,” उनको आधिकारिक ट्वीटर हेन्डलमा लेखिएको छ।
उनले फ्रान्सका राष्ट्रपतिसँग पनि सहकार्यमा जोड दिदै आपसी सहयोग र सम्वन्ध विस्तारकै बारेमा कुराकानी भएको बताए। साथै महत्वपूर्ण क्षेत्रीय विषय, अन्तर्राष्ट्रिय विकासलगायतका विषयमा पनि आफूहरुले छलफल गरेको युएईका युवराजले उल्लेख गरेका छन्। “हामीले हाम्रा साझा चासो र सरोकारका विषयसँगै क्षेत्रीय सुरक्षा र स्थायित्वका बारेमा कुराकानी गरेका छौँ,” युएईको सुरक्षा निकायको सर्वोच्च उपकमाण्डर समेत रहनु भएका शेख मोहम्मदले ट्वीटरमा लेख्नु भएको छ।
उनले यसअघि गत शनिबार नै रुसका राष्ट्रपति भ्लादिमिरि पुटिनसँग पनि विविध विषयमा छलफल गरेका थिए। उनीहरुका बीचमा पनि विकसित पछिल्लो घटनाक्रम, दुई पक्षीय सम्वन्ध र सरोकारका विषयसँगै क्षेत्रीय सुरक्षा तथा चासोका विषयमा कुराकानी भएको हो।