arrow

गणेशमान सिंह स्मृति किक बक्सिङमा विभिन्न तौल समूहमा स्पर्धा हुँदै

logo
प्रकाशित २०७६ माघ ३ शुक्रबार
kickboxing.jpg

काठमाडौं। वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता शुरु भएको छ। ललितपुर जिल्ला किक बक्सिङ सङ्घको आयोजनामा ललितपुरको चापागाउँस्थित प्याङगाउँमा बिहीबारदेखि उक्त प्रतियोगिता शुरु भएको हो।

पहिलो दिन सम्पन्न खेलमा पुरुष ५० किलोतर्फ एपीएफका सञ्जय राई र नरेन्द्र कुँवर, मुवाँथाईका रामबहादुर रानामगर र निखिल श्रेष्ठ, बयमान्डुका अनुज कार्की, नेपाल पुलिस क्लबका धनबहादुर तामाङ, सो क्योकुसिनका धीरज परियार, त्रिभुवन आर्मी क्लबका यमराज थापामगर र आशिष राई, मकवानपुरका सफल विक तथा दी गोर्खाका सन्तोष सिलवाल आआफ्नो खेलमा विजयी भई अर्को चरणमा प्रवेश गरेका छन्।

यस्तै पुरुष ५५ किलोतर्फ रेजका मदनकृष्ण डङ्गोल, मकवानपुरका सागर राई, मुवाँथाईका दावा फुञ्जो शेर्पा, सो क्योकुसिनका मनिष दर्लामी, उसुका जीवन विष्ट, नेपाल प्रहरीका दीपेन्द्र सिञ्जाली मगर, त्रिभुवन आर्मीका तारा तामाङ र एपीएफका फुर्वा शेर्पा क्वाटरफाइनलमा प्रवेश गरे। पुरुष ६० किलोतर्फ रोशन अछामी, त्रिभुवन आर्मीका सुनिल सिरिश मगर, चोपबहादुर बुढाथोकी, तेक्वान्दोका विमल रोकाया, नेपाल पुलिस क्लबका मुकेश पण्डित, सो क्योकुसिनका एलिश आचार्य, मकवानपुरका उत्तम स्याङताङ र मुवाँथाईका विजय रसाइली आआफ्नो खेलमा विजयी भई अर्को चरणमा प्रवेश गरेका छन्।

यसैगरी महिला ५० किलोतर्फ त्रिभुवन आर्मी क्लबकी रुविका खड्का र शान्ति थापामगर, आइकेकेएफकी करिष्मा कार्की, सो क्योकुसिनकी दीपा शाही, एपीएफकी सञ्जुमाया थिङ, मुवाँथाइकी डेनिका राई तथा अञ्जना ढुङ्गेल क्वाटरफाइनलमा पुगेका छन्। तीन दिनसम्म चल्ने सो प्रतियोगितामा १२२ खेलाडी सहभागी रहेको आयोजक सङ्घका अध्यक्ष विनोद महर्जनले जानकारी दिए।

पुरुषतर्फ छ तथा महिलातर्फ पाँच स्पर्धा समावेश छन्। प्रत्येक स्पर्धामा पहिलो हुनेले रु ३० हजार, दोस्रोले रु १५ हजार तथा तेस्रो हुने दुई खेलाडीले जनही रु आठ आठ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको विजेता टोलीले रु एक लाख, उपविजेताले रु ५० हजार तथा उत्कृष्ट पुरुष र महिला खेलाडीले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्।

सो अवसरमा १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा दोहोरो स्वर्ण जितेका आयशा शाक्य र मन्डेकाजी श्रेष्ठ, स्वर्ण विजेता विप्लवलाल श्रेष्ठ, रजत विजेता दिवस श्रेष्ठ, कास्य विजेता विनोद शाक्य गुभाजु, मुकुन्द्र महर्जन र निकेश श्रेष्ठलाई सम्मान गरिएको थियो। आयशा तेक्वान्दो र निकेश उसुका हुन् भने बाँकी सबै करातेका खेलाडी हुन्। सो अवसरमा सागमा प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएका करातेका गङ्गाराम महर्जन र दीपक श्रेष्ठलाई समेत सम्मान गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ