arrow

इरानले युद्ध नचाहेको राष्ट्रपति रौहानीको भनाइ

logo
एएफपी,
प्रकाशित २०७६ माघ ४ शनिबार
iran-president.jpg

तेहरान। इरानी राष्ट्रपति हसन रुहानीले आफ्नो सरकारले संयुक्त राज्य अमेरिकासँग सैन्य मुठभेड वा युद्ध नचाहेको भन्दै यसका लागि आफूले सम्भावित युद्ध टार्न कूटनीतिक पहलहरू जारी राखेको बताएका छन्।रौहानीले शुक्रबार भने, “तेहरान र वाशिङ्टन जनवरीको शुरुमा एक बर्षभन्दा कम समयमा दोस्रो पटक प्रत्यक्ष सैन्य भिडन्तको नजिक पुगेपनि द्वन्द्व कसैका लागि राम्रो होइन भन्ने पक्षमा इरान छ। अमेरिकासँगको युद्धलाई सकेसम्म टार्न इरान प्रयत्नशील रहने छ।”

फेब्रुअरी २१ मा संसदीय निर्वाचन अगाडि रौहानीको शिविरमा चुनौती हुनेछ भन्ने भविष्यवाणी गरिएको थियो र इरानको आणविक कार्यक्रमलाई लिएर तेहरान र पश्चिमबीचको तनावको बीचमा राष्ट्रपतिले भने, “विश्वसँग वार्ता अझै सम्भव छ।”

फेबु्रअरी २१ मा हुन लागेको संसदीय निर्वाचनमा इरानमा रौहानीको समूहलाई कडा चुनौती आउनसक्ने अनुमान राष्ट्रपतिको रहेको छ। राष्ट्रपतिलाई उग्र राष्ट्रवादको नाराले त सताएको छ। यसबाहेक निर्वाचनमा रौहानीलाई अमेरिकी नाकाबन्दी र विश्व समुदायले आणविक सम्झौताबाट नफर्कन इरानलाई गरिरहेको अनुरोधले पनि दवाबमा पारेको छ।

यसै कुरालाई मध्यनजर गर्दै राष्ट्रपति रौहानीले अमेरिका तथा उसका सहयोगी मुलुकहरूसँगको तनावलाई कम गर्न अझै पनि वार्ता सम्भव रहेको बताएका देखिन्छ। यद्यपि अमेरिकाविरोधी ठूलो इरानी समुदायका कारण वार्ता गर्ने राष्ट्रपतिको भनाइ त्यति सहज भने छैन।

“सरकारले सैन्य झगडा वा युद्ध रोक्न दैनिकरूपमा पहल गरिरहेको छ,” रुहानीले इरानी टेलिभिजनमार्फत् प्रत्यक्ष प्रशारण गरिएको एक सम्बोधनमा भने।

जनवरीको सुरुमा अमेरिकाले शीर्ष इरानी सेनापति कसिम सुलेमानीलाई इराकको राजधानी बग्दादमा ड्रोन हमलामा मारिसकेपछि यो क्षेत्र नयाँ द्वन्द्व नजिक पुगेको थियो। बदलामा इरानले पनि अमेरिकी सेनाको इराकस्थित सैन्य शिविरलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो। आक्रमणबाट अमेरिकी सेनाको शिविरमा भौतिक क्षति पुगे पनि मानवीय क्षति भने नभएको अमेरिकी सेनाले बताएको छ। रौहानीका अनुसार आक्रमणबाट अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानी जनरलको हत्याको वदला लिन इरान सफल भएको छ।

तर इरानले अमेरिकी सैन्य शिविरमा आक्रमणको केही समयमा नै इरानी सेनाले यूक्रेनी विमानलाई शत्रुको ‘क्रुज मिसाइल’ ठानेर ‘भुलबस’ छोटो दूरीको क्षेप्यास्त्रद्वारा विमानलाई खसालेपछि  विमानमा सवार १७६ जनाको मृत्यु भएको थियो। आक्रोशित मृतकका आफन्तले सावधानी नअपनाएको भन्दै सरकारको विरोधसमेत गर्दै आएका छन्। यसले सुलेमानीको हत्यापछि अमेरिकाविरूद्ध संगठित बनेको इरानी मनोविज्ञानलाई विभाजित गरेको छ। विमानमा मारिनेमा अधिकांश इरानी र क्यानडेली थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ