छुट्टाछुट्टै ग्रेडको सिमेन्टका लागि छुट्टै मापदण्ड
रासस,
प्रकाशित २०७६ माघ ४ शनिबार
783
Shares
काठमाडौं। नेपाल गुणस्तर तथा नापतौल विभागले ४३ र ५३ ग्रेडको सिमेन्टका लागि छुट्टै मापदण्ड बनाएको छ। नेपाल गुणस्तर परिषद्को १०२ औँ बैठकले ४३ र ५३ ग्रेडको सिमेन्टका लागि नयाँ मापदण्ड स्वीकृत गरेको हो। यसअघिसम्म सबै सिमेन्टको मापदण्ड एउटै थियो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपाल गुणस्तरलाई परिमार्जनसहित स्वीकृत गरेको हो।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ३३ ग्रेडका लागि एउटा र ४३ तथा ५३ ग्रेडका लागि अर्को मापदण्ड स्वीकृत गरेको जानकारी दिए। बैठकको निर्णयसँगै अब उद्योगीले सरकारी मापदण्ड पूरा गरेको अवस्थामा ४३ र ५३ ग्रेड लेख्न पाउने भएका छन्। “सरकारले छुट्टै मापदण्ड बनाएको छ, त्यो पूरा गर्ने उद्योगीले ४३ र ५३ ग्रेड लेख्न पाउँछन्”, महानिर्देशक पुडासैनीले भने।