arrow

प्रधानमन्त्रीले पर्यटनमन्त्रीलाई लगाए अंकुश, पर्यटन बोर्डको सिईओ नियुक्ति रोकियो

logo
प्रकाशित २०७६ माघ ६ सोमबार
ntb-ceo-dispute.gif

काठमाडौं। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्ति प्रक्रिया जटिल मोडमा पुगेको छ। बोर्डले शुक्रबारै सिईओमा ३ जनाको नाम सिफारिस गर्ने तय भएको थियो । र, शुक्रबार हुन नसकेपछि आइतबार बोर्डको विज्ञसहितको कमिटीले डा धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरको नाम सिफारिस गरेको थियो । 

सिफारिस गरिएकामध्ये डा रेग्मीलाई सोमबार नियुक्ति गर्ने योजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई थिए। तर प्रधानमन्त्री कार्यालयले पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई प्रयोग गरी सिईओ नियुक्ति तत्काल अगाडि बढाउनबाट रोकेको छ । 

डा रेग्मीलाई सिईओ नियुक्ति गर्ने मन्त्रीको योजनालाई असफल पार्ने काम प्रधानमन्त्री निवास बालुवाटारबाट भएको छ । डा रेग्मी अटोमोवाइल ब्यवसायी भएको र पर्यटन क्षेत्रमा १० बर्षको अनुभव नभएको भन्दै प्रधानमन्त्री कार्यालयबाटै उनको नियुक्ती रोकिएको बताइएको छ । सिईओ छनोट अर्को सूचना प्रकाशित नभएसम्मको लागि रोकिएको कुरा पर्यटन बोर्डकै सदस्यले खुलासा गरेका छन् ।  

सिईओ छनोट रोकिएपछि बोर्डका सदस्य कृष्णबहादुर महराले फेसबुकमै आक्रोस प्रकट गरेका छन् । उनले पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नै सिईओ नियुक्ति रोकेको आरोप पनि लगाएका छन् । र, उनको सिईओ नियुक्त हुन नदिने खेल सफल हुन नदिने चुनौती दिएका छन् । 

बोर्ड सदस्य महराले सोमबार सिईओ नियुुक्ति नभएपछि सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘सिईओ छनौट गर्न बोलाइएको पर्यटन बोर्डको बैठक छलफल नै नगरी पटक पटक स्थगित गरिएको छ। र, अहिले आएर अर्को सूचना नआएसम्मका लागि भनेर स्थगित गरिएको मेसेज आयो । बोर्डको बैठकमा सम्भावित ३ जनाको बिषयमा छलफल गर्ने हो कि नेताको घरघरमा गएर चाकडीको शैली प्रदर्शन गर्ने हो रु पीपीपीको कन्सेप्टमा नेपालको पर्यटनको विकास गर्ने उद्देश्यले गठन भएको संस्थालाई यस्तै मनोबृत्तिका मानिसको नेतृत्वका कारण बोर्डको आन्तरिक ब्यवस्थापन जर्जर भएको छ। भ्रस्टाचार मौलाएको छ । मालपोत, सडकपछि अख्तियारको दैनिक जसो नजर त्यहाँ छ। यस्तो संस्थामा एकजना राम्रो मान्छेलाई नेतृत्व दिनुपर्छ भन्ने हाम्रो मनसायलाई बोर्डको अध्यक्षले ठाडै लत्याउन खोजेको देखिएको छ । तर तपाईको त्यो मनसाय कुनैपनि हालतमा पुरा हुन दिइनेछैन । यो मेरो ठाडो चुनौती हो ।’

बोर्डका अध्यक्ष पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी हुन् । उनले नै बालुवाटारको दबाबमा सिईओ नियुक्ति रोकेको आरोप बोर्ड सदस्य महराले लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ