arrow

कोरोना भाइरसबाट कम्तीमा ५६ को मृत्यु, दुई हजार भन्दा बढी संक्रमित 

ज्यान गुमाउने सबै चिनियाँ नागरिक

logo
प्रकाशित २०७६ माघ १२ आइतबार
corona-virus-infected.jpg

काठमाडौँ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा ५६ जनाको ज्यान गइसकेको छ । २ हजार भन्दा बढीको संख्यामा संक्रमित रहेको बताइए पनि यो संख्या निकै बढी रहेको बताइएको छ ।  

ज्यान गुमाउने सबै चिनियाँ नागरिक नै हुन् । तर उनीहरु विभिन्न देशमा जाँदासमेत ज्यान गुमाइरहेका छन् । 

दीर्घरोगी र वृद्धवृद्धामा यो रोगको संक्रमण बढी देखिएको पाइएको छ । 

यो संक्रमण थप फैलिन सक्ने भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले चिन्ता व्यक्त गरेका छन् ।

लुनार नयाँ वर्षको अवसरमा आयोजित विशेष बैठकपछि बोल्दै उनले संक्रमण तीब्र रुपमा फैलिंदा गम्भीर अवस्थाको सामना गर्नु परेको बताए ।

चीनका १८ शहरमा प्रकोप निकै गम्भीररुपमा देखा परिरहेको छ । ती शहरमा यात्रा प्रतिबन्ध र अन्य धेरै किसीमका सतर्कता चिनियाँ सरकारले अपनाएको बताएको छ । 

आइतबारदेखि निजी सवारी साधन चलाउनसमेत रोक लगाइएको छ । चिनियाँ सरकारले देशभरीको उडान, रेल र बससेवामा भाइरस पत्ता लगाउन राष्ट्रव्यापी उपाय अपनाउन आदेश दिएको छ । 

यस किसिमको सतर्कताबाट करिब पाँच करोड ६० लाख  नागरिक प्रभावित भएका छन् । 

नेपाल र नेपालीको अवस्था

यो संक्रमणले नेपालमा पनि असर पारेको छ । चीनबाट आएका नेपालीमा यो संक्रमण देखिएको छ । चीनबाट आउने हरेकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गरिएको छ । 

चिकित्सकहरुका अनुसार अहिलेसम्म नेपाल आएका तीन जनामा यो संक्रमण फेला फेला परेको छ । 

तर उनीहरुको अवस्था भने सामान्य रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ज्वरो बढी आएका र रुघाखोकी लागेकाहरुलाई परीक्षणका लागि पठाउने गरिएको छ । 

उनीहरुलाई उच्च निगरानीमा राख्ने गरिएको छ । संक्रमण भएको भए छुट्टै राखेर उपचार गरिएको छ । 

चिकित्सकहरुले यो रोगबाट आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । उनीहरु सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिन्छन् । 

बाहिरी सम्पर्कमा नरहन पनि उनीहरुले सुझाएका छन् । माक्सको प्रयोग गरेर बाहिर निस्कन उनीहरुले आग्रह गरेका छन् । 

स्वास्थ्य मन्त्रालयले अहिले नै चीनमा रहेका नेपालीहरुलाई ल्याउन सम्भव नभएको भन्दै जहाँ छन् त्यहीं सुरक्षित रहेर स्वास्थ्यको ख्याल गर्न आग्रह गरिरहेको छ । 

कहाँ फैलियो कोरोना   

यसले विश्वलाई नै आक्रान्त तुल्याएको छ । डेढ दर्जन देशमा यसको संक्रमण देखिएको छ । 

यो एसियाली र अमेरिकी मुलुक हुँदै युरोपतर्फ अगाडि बढिरहेको छ । 

पछिल्लो समय फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ ।

अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको छ । 

भाइरसका लक्षणहरु–
यो भाइरस लागेपछि अन्य फ्लुजस्तै लक्षणहरु देखा पर्छन्। रुघा लाग्ने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुनु र अस्वस्थ महशुस हुनु यो भाइरसको लक्षण हो।

यो भाइरसको संक्रमण बढ्दै गएपछि मानिसमा निमोनिया देखिन्छ। निमोनियाकै कारण मानिसको मृत्यु हुन्छ। 

कसरी सर्छ
यो भाइरस पनि अन्य सामान्य रुघाखोकीजस्तै श्वासप्रश्वासको माध्यमबाट सर्छ। तर, यसको सर्ने तरिबारे यकिन पनि हुन भने सकेको छैन।

अझै यो भाइरस कसरी सर्छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ। यसको पूर्ण विवरण आएपछि मात्र यो भाइरस कसरी सर्छ भन्ने थाहा पाउन सकिन्छ। यो भाइरस संक्रमितको सम्पर्कले श्वासप्रश्वासको माध्यमबाट स्वस्थ व्यक्तिमा यसको संक्रमण हुने अनुसन्धानले देखाइसकेको छ। अहिले भाइरसबाट ज्यान जानेहरुमा अधिकांश वयवृद्ध र पहिला नै कुनै स्वास्थ्य समस्या रहेका व्यक्तिहरु रहेको पनि बताइएको छ।

बच्न के गर्ने
अहिलेसम्म यो भाइरसको कुनै उपचार पत्ता लागेको छैन। यो भाइरसले आक्रमण हुनुभन्दा पहिला नै यसबारे सतर्क हुनु नै यसबाट बच्ने तरिका हो। तर, यो भाइरस अत्यधिक तीव्र गतिमा फैलिरहेकाले पनि चिन्ता बढ्दो छ।

यो भाइरसबाट बच्न यो भाइरसको संक्रमण भएका मानिसबाट टाढै रहने एक उपाय हो। त्यसका साथै मास्कको प्रयोग गर्ने, नचिनेका मानिससँग कुरा गर्दा अलि परै बस्ने, हातले आँखा, मुख र नाक नचलाउने, बाहिरबाट आएपछि राम्रोसँग साबुन पानीले हात धुनेजस्ता उपाय अपनाएर कोरोना भाइरसबाट बच्न सकिन्छ।

यो भाइरस लागिहालेको खण्डमा सामान्य रुघाखोकीजस्तै पर्याप्त मात्रामा रसिलो खानेकुरा खाने, पर्याप्त मात्रामा आराम गर्ने र चिकित्सकको सल्लाह अनुसार यसलाई रोकथाम गर्ने औषधि खानुपर्छ।

साथै यो भाइरसबाट बच्न कुनै विशेष किसिमको मास्क नै आवश्यक नरहेको बताएको छ। सामान्य मास्कबाट नै यो भाइरसलाई रोक्न सकिन्छ।

साथै, नियमित व्यायाम गर्न र भीडभाडमा आवश्यक परेको खण्डमा मात्र जाने र अस्वस्थ महशुस भए तत्काल चिकित्सककोमा जान सुझाव दिइएको छ। त्यसका साथै विना काम जनावर पालिएको स्थानमा जाने र उनीहरुलाई नचलाउन पनि सुझाव दिइएको छ।

यसो गरेको खण्डमा यो भाइरसले आक्रमण गर्ने जोखिम पनि कम हुन्छ। अहिले यो भाइरसको लागि औषधि निर्माणको लागि वैज्ञानिकहरुको टोलीले काम गरिरहेको छ।

यो औषधि निर्माणको लागि तीन महिनाको समय लाग्नसक्ने अनुमान गरिएको छ। त्यसैले अहिले तत्काल यसको समाधान आउने सम्भावना पनि कम छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ