कोरोना भाइरसको विश्व विस्तार, चाँडै नियन्त्रण गर्ने चीनको विश्वास

नेपाल दक्षिण एसियामा पहिलो


प्रकाशित

एजेन्सी। चीनको मध्य क्षेत्रबाट फैलिएको कोरोना भाइरसका कारण प्रभावित हुनेको सङ्ख्या बढ्ने क्रम नरोकिएपछि निदानको लागि औषधी, उपकरण तथा स्वास्थ्यकर्मीसहितका थप १२ टोलीलाई हुबेई पठाउने तयारी भएको अधिकारीहरूले जनाएका छन् ।

चीनमा कोरोना भाइरसका कारण ८० जनाको मृत्यु भएको र करिब दुई हजार व्यक्तिमा सङ्क्रमण भएको चीनले पुष्टि गरिसकेको छ । चिनियाँ अधिकारीहरूले रोग लागेका सयौँ विरामीहरू उपचारपछि स्वस्थ भइसकेका तर उनीहरूलाई अझै पनि चिकित्सकको निगरानीमा राखिएको बताइएको छ ।

नेपाल सहित सातवटा देशमा फैलिसकेको भाईरसले विश्व आक्रान्त बनाएको छ। चिनियाँ नयाँ बर्षको बेला फैलिएको संक्रमणले पनि धेरै चिनियाँहरु छुट्टी मनाउन हिड्नाले उक्त संक्रमण फैलिन सजिलो भएको हो। नेपालमा पनि ३० बर्षिय विद्यार्थी छुट्टीमा आएको बेला उनलाई संक्रमण देखिएको थियो।

उक्त भाईरसले मृत्यु हुनेमा चीनमा मात्र रहेको आंकडा बाहिर आएको छ। ८० जनाको मृत्यु भएकोमा सबै चीनमा भएको हो। संक्रमणमा चीनमा २४५४, हङकङ ८, मकाउ ५, ताईवान ४, बाँकी एसिया २६, युरोप ३, उत्तर अमेरिका ६ अष्ट्रेलियामा ४ जनालाई संक्रमण भएको तथ्याङ्क सार्वजनिक भएको छ।

नेपाल दक्षिण एसियामा कोरोना भाईरस भेटिएको पहिलो राष्ट्र भएको छ। जनवरी ९मा वुहानबाट आएका नेपाली विद्यार्थीमा उक्त संक्रमण देखिए पछि उनी उपचार पछि घर फर्किसकेको नेपाली अधिकारीहरुले जनाएका छन्।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक मा सिआओवेले आइतबार एक पत्रकार सम्मेलनमा भने, “कोरोना भाइरसको सङ्क्रमित विरामीको उपचारलाई थप प्रभावकारी बनाउन थप एक हजार ६०० स्वास्थ्यकर्मीसहितका १२ समूहलाई छिट्टै प्रभावित क्षेत्रमा पठाउने तयारी भएको छ ।”

माले भने, “आयोगले विशेषज्ञसहितको थप ९०० स्वास्थ्यकर्मीको सात टोलीलाई हुबेई पठाइसकेको छ भने सेनाले पनि ४५० अनुभवप्राप्त स्वास्थ्यकर्मीलाई त्यसतर्फ पठाइसकेको छ ।”

थप एक हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको उनले ।

आयोगका निर्देशक माले भने, “हुबेईको क्षेत्रीय सरकारले कोरोना भाइरसलाई नियन्त्रण गर्न १४ करोड ३० लाख अमेरिकी डलर बजेट विनियोजन गरेको छ भने औषधी, मास्क, पञ्जा, चश्माजस्ता सुरक्षा पोशाकलगायत उपकरणहरू पनि अस्पतालहरूको आवश्यकता अनुसार पठाएको छ ।”

यसैबीच चीनले आगामी २० दिनभित्रमा कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन सकिने चीनका वरिष्ठ भाइरल रोग विशेषज्ञहरूले आइतबार बताएका छन् ।

चिनियाँ इन्जिनियरिङ एकेडेमीका सदस्य वेन युमेईले भने, भाइरस सङ्क्रमण रोक्न राज्यले चालेका सबै उपायका कारण रोगलाई आगामी २० दिनमा पूर्ण नियन्त्रणमा ल्याउन सकिनेमा हामी विश्वस्त छौँ ।

“मानव शरीर क्रमश जीबाणुसँग प्रतिरोध गर्न सक्ने अवस्थामा पुग्छ जसका कारण कोरोना भाइरस फैलिने क्रम अन्त्य गर्न सकिने छ,” साङ्घाईस्थित प्रमुख ‘मोलिकुलर भाइरोलोजी‘ प्रयोगशालाका प्राध्यापक वेनले बताए ।


प्रतिक्रिया :

नयाँ