थुनामा चारदिनको म्याद भएपनि चाडै छुट्नसक्ने

प्रकाशित मिति : २०७६ माघ १३ सोमबार

काठमाडौं । चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल ’ की कोच  गायिका आस्था राउतलाई थुनामा राखेर अनुसन्धान गरिने भएको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौँमा आत्मसमर्पण गरेकी उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको हो ।

प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेकी गायिका राउतलाई  जिल्ला प्रशासन कार्यालयले चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।  टेकु प्रहरीले अनुरोध गरेसँगै ४ दिन म्याद थपिएको हो । पक्राउ परेकी उनलाई चार दिनको म्याद थपिएको भएपनि चाडै वयान सकेर जति सक्दो चाँडो छोड्ने तयारी समेत गरिएको प्रहरी स्रोतले बताएको छ ।

सामाजिक सञ्जालमा प्रहरीको व्यापक विरोध भएपछि प्रहरी नरम भएको भनिएता पनि प्रहरीले राउतमाथि कडा व्यवहार प्रस्तुत गरेको छ ।    

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोग लागेकी आस्था नातेदारसहित टेकुमा रहेको महानगरीय प्रहरी परिसरमा उपस्थित भएकी थिइन् । विमानस्थलमा गत साता प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा राउतमा हिरासत पुगेकी हुन् । आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई पक्राउ पूर्जी जारी गरिएको थियो ।  

गत साता प्रहरी र राउतबीच सुरक्षाजाँचका क्रममा भएको भनाभनको विषयलाई लिएर उनले सामाजिक संजालमा बयानबाजी गरेकी थिइन् । घटना बुधबार अपराह्नको हो । राउत त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट भद्रपुर जाँदै गर्दा उक्त घटना भएको थियो ।

विमानस्थलमा महिला प्रहरीसँग भनाभन गरेको भिडियोसमेत सार्वजनिक भएपछि प्रहरीले आस्थामाथि दुर्व्यवहारको मुद्दा दायर गरेको हो । जिल्ला प्रशासन कार्यालयले अनुमति दिएपछि प्रहरीले गएको माघ ५ गते आस्थाका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

विमानस्थलमा चेकिङका क्रममा एक महिला प्रहरीले आफूलाई ‘तँ’ भनेको भन्दै उनी आक्रोशित देखिएकी थिइन् ।  दश मिनेट ३१ सेकेन्डको भिडियोमा उनले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको सुन्न सकिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको शुक्रबार सिसी टिभी फुटेज नै सार्वजनिक भयो । ‘फुटेज’मा प्रहरीको भन्दा गायीका राउतको गतिविधि शङ्कास्पद देखिन्छ ।

नयाँ