arrow

सार्स भन्दा खतरनाक कोरोना भाइरस

logo
प्रकाशित २०७६ माघ १६ बिहिबार
corona-child.jpg

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस सिभियर एक्युट रेस्पिरेटरी सिन्डोम (सार्स) भन्दा पनि खतरनाक रहेको छ । 

यो भाइरस सार्सको तुलनामा छिट्टै फैलन्छ । हङकङका प्राध्यापक मलिक पिरिसका अनुसार नोवेल कोरोना भाइरस सन् २००३ को (सार्स) को तुलनामा छिट्टै फैलिन्छ । अहिलेसम्मको आँकडाले कोरोनाले मानिसको मृत्यु भने कम भएको बताइन्छ । 

पिरिसले सन् २००३ मा सार्स पत्तो लगाउने काम गरेका थिए । 

यो कोरोना भाइरस सन् २००९ को एन्फ्लुएन्जा ए (एच वान एन वान) भन्दा गम्भीर रहेको छ । 

कोरोना अहिले विश्वव्यापी हुन थालेको छ । चीनसँगै करिब दुई दर्जन अन्य देशहरुमा पनि यो भाइरसको सङ्क्रमण देखिन थालेको हो । 

कोरोना भाइरसका कारण अहिलेसम्म १७० जनाको मृत्यु भइसकेको छ । ८ हजार व्यक्ति सङ्क्रमित भएको पुष्टि भइसकेको छ । यो भाइरस चीनको मध्य क्षेत्रमा पर्ने वुहान शहरमा सवैभन्दा पहिले देखिएको थियो ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार दिएको जानकारी अनुसार कोरोना भाइरस अहिलेसम्म ७७ सय ११ जनामा देखिएको पुष्टि भएको छ । चीन बाहेक मकाउ र हङ्कङमा धेरै व्यक्ति ९८० जना० मा कोरोना भइरसको सङ्क्रमण भएको पुष्टि भएको बताइएको छ ।

विश्वव्यापी बन्दै गएको कोरोना भाइरस फैलिएका मुलुकहरू र सङ्क्रमितहरूको सङ्ख्या तल उल्लेख गरिएको छ स 

चीन – चीनमा बिहीबारसम्ममा झण्डै ७७ सय जनामा कोरोना भइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । उनीहरूमध्ये अधिकांश वुहान र त्यस आसपासका रहेका छन् । त्यसैगरी मृत्यु भएका १७० जनामध्ये पनि अधिकांश त्यही क्षेत्रका रहेका जनाइएको छ । 

नेपाल – नेपालमा चीनको वुहानबाट आएका ३२ वर्षीय एक युवामा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ । उनलाई पर्याप्त परीक्षण र उपचार गरेर अस्पतालबाट फिर्ता पठाइएको छ । 

भारत – भारतको दक्षिणी क्षेत्रमा पर्ने केरलामा कोरोनाको पहिलो विरामी बिहीबार भेटिएको अधिकारीहरुले पुष्टि गरेका छन् । ती व्यक्ति वुहान विश्वविद्यालयका विद्यार्थी हुन् भने उनलाई अहिले अस्पतालमा छुट्टै राखेर उपचार गराइएको छ । अधिकारीहरुका अनुसार उनको अवस्था अहिले स्थिर रहेको छ र नजिकबाट नियालिएको छ । 

श्रीलङ्का – श्रीलङ्कामा गत सोमबार पहिलो पटक एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । ती व्यक्ति ४३ वर्षीय चिनियाँ पर्यटक हुन् । उनी चीनको हुबेई प्रान्तबाट श्रीलङ्का आएको अधिकारीहरुले जनाएका छन् ।

अष्ट्रेलिया – अष्ट्रेलियामा यस रोगका सात जना विरामी भेटिएका छन् । ती मध्ये सात जना चीनको वुहानबाट आएका हुन् । प्रभावितहरुको सिड्नी, मेलबर्न र गोल्ड कोस्टस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सवैभन्दा पछाडि भेटिएका ४४ बर्षीय विरामी वुहानबाटै आउनुभएको हो । उनको अवस्था स्थिर रहेको जनाइएको छ । 

कम्बोडिया – कम्बोडियोको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आफ्नो देशमा कोरोना भाइरस सङ्क्रमित विरामी सवैभन्दा पहिला गत सोमबार भेटिएको हो । उनी वुहानबाट आएका ६० बर्षीय पुरुष हुन् ।  

हङकङ – हङकङमा अहिलेसम्म १० जनामा कोरोना भाइरसको पुष्टि भएको छ । ती मध्ये छ जना चिनियाँ सहर वुहानबाट हङकङ छिरेका थिए । 

जापान – जापानका स्वास्थ्य अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार अहिलेसम्म ११ जना कोरोना भाइरसका विरामी दर्ता भएका छन् । तीमध्ये दुई जना मानिसबाट मानिसमा सरेर विरामी भएका हुन् । वुहानबाट पर्यटक लिएर आएको बसका चालक र पर्यटक पथप्रदर्शक पनि विरामी भएका छन् । 

मकाउ – मकाउ चिनियाँ पर्यटकहरुका लागि लोकप्रिय पर्यटकीय केन्द्र मानिन्छ । यहाँ मंगलबारसम्म सात जनामा कोरोना भइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । 

मलेसिया – मलेसियामा बिहीबार थप एक जनागरी अहिलेसम्ममा कुल आठ जनामा यस भाइरसको सङ्क्रमण देखिएको छ । उनीहरु सवै चिनियाँ नागरिक रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।  

फिलिपिन्स – फिलिपिन्समा बिहीबार नै यस रोग लागेका पहिलो विरामी भेटिएका छन् । ३८ बर्षीया ती महिला वुहानबाट आएकी हुन् । उनमा ठूलो समस्या भने नरहेको पाइएको छ । उनी जनवरी २१ मा फिलिपिन्स आएकी थिइन् । उनलाई चार दिनसम्म अस्पतालमा परीक्षण र उपचार गराइएको थियो ।

सिंगापुर – चीनको छिमेकी मुलुक सिंगापुरमा अहिलेसम्म १० जना कोरोनाका विरामी रहेका छन् । उनीहरु सवै जना वुहानबाटै आएका व्यक्ति हुन् । 

दक्षिण कोरिया – दक्षिण कोरियाका संचार माध्यमहरुले सम्प्रेषण गरेको विवरण अनुसार देशभर अहिलेसम्म चार जनामा यो रोगको सङ्क्रमण भएको अधिकारीहरुले पुष्टि गरेका छन् । तीमध्ये तीन जना पुरुष र एक जना महिला छन् भने उनीहरु सवैजना वुहानबाट आएका हुन् । 

ताइवान – ताइवानमा आठ जनामा यो रोग देखिएको छ । ती मध्ये दुई जना चिनियाँ महिला छन् । एउटा पर्यटकहरुको टोलीका साथ उनीहरु ताइवान आएका थिए । 

थाइल्याण्ड – थाइल्याण्डले आफ्नो देशमा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको घोषणा गरेको छ । यो संख्या चीन बाहेक अन्य देशमा भेटिएका सङ्क्रमित हरु मध्ये सवैभन्दा धेरै हो । स्वास्थ्य अधिकारीहरुका अनुसार ती मध्ये ६ जना चिनियाँ पर्यटक हुन् । उनीहरु वुहानबाटै आएका एउटै परिवारका व्यक्ति रहेका छन् । उनीहरु छ बर्षदेखि ७० बर्षसम्मका रहेको अधिकारीहरूले जनाएका छन् ।

भियतनाम – भियतनाममा पनि दुई जनामा यो रोग देखिएको छ । सङ्क्रमित मध्ये एक जना पुरुष चीनको हो चि मिन्ह सहर हुँदै यही महिनाको सुरुमा वुहानबाट आएका व्यक्ति हुन् । उनीबाटै उनका छोरामा त्यो भाइरस सरेको हुनसक्ने सम्भावना रहेको बताइएको छ । 

क्यानडा – क्यानडामा दुई जनामा कोरोना भाइरस देखिएको पुष्टि गरिएको छ । अर्का एक जनामा पनि सो भाइरस भएको आशंकामा परीक्षण भइरहेको छ ।  

अमेरिका – स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकामा अहिलेसम्म पाँच जनामा यो रोगको सङ्क्रमण पुष्टि भएको छ । उनीहरु सवै जना हालै वुहानबाट आएका हुन् । उनीहरूमध्ये दुई जना क्यालिफोर्निया भेटिएका हुन् भने अरु एक एक जना अरिजोना, सिकागो र वासिङ्टन राज्यमा देखिएका हुन् । 

फिनल्याण्ड – चीनको वुहानबाट आएका एक जना पर्यटकमा बुधबार कोरोना भाइरसको सङ्क्रमण देखिएको फिनल्याण्डका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । ती व्यक्तिलाई अहिले अस्पतालमा छुट्टै राखेर विषेश उपचार भइरहेको छ । 

फ्रान्स – फ्रान्समा अहिलेसम्म पाँच जनामा यो रोगको सङ्क्रमण देखिएको छ । युरोपेली देशमध्ये फ्रान्समा नै पहिलो पटक यो रोगको सङ्क्रमण पुष्टि भएको हो । सवैभन्दा पछाडि एक जना चिनियाँ पर्यटकको छोरीमा पनि यो देखिएको छ । उनको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । 

जर्मनी – जर्मनीमा अहिलेसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो मानिसबाट मानिसमा सरेको पाइएको छ । चिनियाँ साथीहरुले आयोजना गरेको एउटा तालिममा सहभागी भएका एक जना ३३ वर्षीय व्यक्ति विरामी महसुस गरेर अस्पताल गएका थिए । उनैबाट अरूलाई सरेको चिकित्सकहरूको भनाई छ । विरामी भएका चारै जनालाई म्यूनिक अस्पतालमा छुट्टै राखेर उपचार गराइएको छ ।   
 
संयुक्त अरब इमिरेट्स युएई – चीनको वुहानबाट केही दिन अगाडि आएका चार जना चिनियाँ व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण भएको युएईका स्वास्थ्य अधिकारीहरूले बुधबार पुष्टि गरेका छन् ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ