arrow

मौसमी फ्लुको सङ्क्रमणले ३० विद्यार्थी बिरामी

logo
रासस,
प्रकाशित २०७६ माघ १८ शनिबार
students.jpeg

बाजुरा। मौसमी फ्लुको सङ्क्रमणबाट हिमाली गाउँपालिकामा ३० विद्यार्थी एकैसाथ बिरामी परेका छन्। वडा नं ६ धुलाचौरमा रहेको एन्जल इङ्लिस बोर्डिङ स्कूलमा अध्ययन गर्ने विद्यार्थी बिरामी परेका प्रिन्सिपल दिनेश सागरले जानकारी दिए।

विद्यालयमा अध्ययन गर्ने १०० विद्यार्थीमध्ये ३० बिरामी परेका छन्। तीमध्ये तीन सिकिस्त बिरामी छन्। तीन दिनदेखि विद्यालयमा सङ्क्रमण फैलिएको सागरले बताए। शुरुमा दुई जनामा फैलिएको र तीन दिनमै ३० मा सङ्क्रमण देखिएको बताइएको छ। एकैसाथ ठूलो सङ्ख्यामा विद्यार्थी बिरामीले थला परेपछि विद्यालय नै बन्द गरिएको छ।

धुलाचौर स्वास्थ्य एकाइमा उपचार गराउँदा बिरामीलाई एक–अर्कासँग सम्पर्क नगराउन र आरामसहित उपचारमा राख्न सुझाव दिइएको छ। सिकिस्त बिरामी परेका नवीन विक, दीक्षा विक र सृष्टि रावललाई प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पठाइएको विद्यालयले जनाएको छ। विद्यालयका सञ्चालक शङ्कर मल्लले विद्यार्थीमा देखिएको लक्षणबारे जिल्ला अस्पताललाई समेत जानकारी गराइसकेको बताए।

बिरामी विद्यार्थीमा शुरुमा ज्वरो आउने र पछि वान्ता पनि सँगै हुने तथा उठ्न नसक्ने लक्षण देखिएको छ। जिल्ला अस्पतालका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जटिल प्रकृतिको अवस्था भए आफूहरुले पनि त्यसलाई प्रत्यक्ष निगरानीमा राख्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ