- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । हङकङका स्वास्थ्यकर्मीहरुले चीनसँगको सीमा नाका बन्द गर्न माग गरेका छन् । उनीहरुले बढ्दो कोरोना भइरसको संक्रमण फैलन नदिन सीमा नाका बन्द गर्न माग गरेका हुन् ।
स्वास्थ्यकर्मीहरुले सीमा नाका बन्द नगरिए हड्तालमा उत्रने चेतावनीसमेत दिएका छन् ।
तर विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अधिकारीहरुले सीमा नाकामा चेकजाँचमा कडाइ गरेर आवागमनलाई सहज बनाउनुपर्ने बताएका छन् ।
उनीहरुले आवतजावत बन्द गरे सूचना आदानप्रदानमा समेत अफ्ठेरो हुने भन्दै आपतकालीन अवस्थामा सूचना आदानप्रदान सहज गराउन माग गरेका छन् ।
चीन सरकारले भाइरसबाट प्रभावितको संख्या १७ हजार रहेको बताए पनि हङकङले उक्त तथ्यांकमा आशंका व्यक्त गरेको छ ।
हङकङ विश्वविद्यालयका अधिकारीहरुले चीनमा ७५ हजारभन्दा बढी प्रभावित भए पनि सूचना लुकाइएको दाबी गरेका छन् ।
३६१ जनाको मृत्यु भइसकेको छ ।
यसैबीच, कोरोना भाइरसको उद्गम स्थल चीनमा संक्रमण बढ्दै गएपछि राष्ट्रपति सी चिनफिङ नेतृत्वको सरकारले १० दिनमै एक हजार शैयाको अस्पताल निर्माण गरेको छ ।
संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि चीनले निकै तीव्र गतिमा वुहानमा नयाँ अस्पताल सञ्चालन गरेको हो ।
नयाँ अस्पतालमा विशेषज्ञ, चिकित्सक र स्वास्थ्यकर्मीसहित एक हजार भन्दा बढी संलग्न हुने बताइएको छ ।
चीनको वुहान शहरबाट गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरसका कारण चीनमा मात्र मर्नेहरुको संख्या ३६१ पुगेको छ । १७ हजार भन्दा बढी प्रभावित भएका छन् ।
पहिलो पटक चीन भन्दा बाहिर फिलिपिन्समा कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको छ । उनी ४४ वर्षीय चिनियाँ नागरिक नै हुन् ।
चीन बाहिरमात्रै १५० भन्दा बढीलाई संक्रमण भएको छ । २४ राष्ट्रमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
चीनले वुहानमा द्रुत गतिमा एउटा अस्पताल बनाएसंगै यस्तै अन्य शहरहरुमा पनि नयाँ अस्पताल निर्माण हुने क्रममा रहेको र एक साताभित्रै सञ्चालनमा आउने चिनियाँ अधिकारीहरुलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अन्य देशमा पनि उक्त भाइरसको संक्रमण बढ्दै गएको छ । अधिकांश देशहरुले चीन भ्रमण गरेका नागरिकलाई आफ्नो देशमा प्रवेशमा रोक लगाएका छन् ।