टर्कीको जवाफी कारबाहीमा कम्तीमा ३० सिरियाली सैनिकको मृत्यु : एर्दोगान
सिन्ह्वा,
प्रकाशित २०७६ माघ २० सोमबार
902
Shares
इस्तानबुल। टर्कीको सीमा क्षेत्र नजिक रहेको सिरियाली भूमिमा त्यहाँको सेनाविरूद्ध सोमबार गरेको जवाफी आक्रमणमा परी कम्तीमा ३० सिरियाली सैनिकको मृत्यु भएको टर्कीका अधिकारीले बताएका छन्।
सिरियाको उत्तरपश्चिमी क्षेत्रमा पर्ने इद्लिब प्रान्तका सैनिकहरूलाई टर्कीबाट प्रतिआक्रमण भएको अधिकारीहरुले जनाएका छन्। सोमबार टर्कीका राष्ट्रपति तैयप एर्दोगानले इद्लिबमा रहेका आफ्ना जनता र दाजुभाई दिदीबहिनीको जीवन रक्षाका लागि आफूले संघर्ष गरिरहेको बताए। इद्लिबमा सिरियाली सेनाले गरेको गोलाबारीका विरुद्धमा लगातार प्रतिआक्रमण गरिरहने पनि राष्ट्रपति एर्दोगानले बताए।
यसअघि सिरियाली मानव अधिकारवादी संस्था, सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले दिएको जानकारीमा टर्कीका हतियारधारी समूहको आक्रमणमा परी कम्तीमा छ सिरियाली सैनिक मारिएपछि सिरियाली सरकारी फौजले सिरियाको उत्तरपश्चिमी क्षेत्रमा तैनाद टर्कीको सेनामाथि आक्रमण गरेको थियो।
उक्त आक्रमणमा टर्कीका थप चार सैनिक मारिएका थिए भने नौ जना घाइते भएका थिए। उनीहरु सिरियाली सुरक्षाकर्मीको आक्रमणमा इद्लिबमा मारिएको टर्कीका रक्षा मन्त्रीले बताएका छन्।