arrow

भिजिट नेपालको अफिस क्या भद्रगोल...

logo
यमुना भण्डारी, 
प्रकाशित २०७६ माघ २१ मंगलबार
visit-nepal-2020-office.jpg

काठमाडौं। भिजिट नेपाल ट्वेन्टी–ट्वेन्टी अर्थात् नेपाल भ्रमण वर्ष २०२० को प्रचार–प्रसारमा सबै भन्दा बढी सक्रिय देखिन्छन्, पर्यटनमन्त्री योगेश भट्टराई। भिजिट नेपालसँग जोडिएका स–साना कुराहरु पनि सामाजिक सञ्जालको भित्तामा झुण्ड्याउन भ्याइहाल्छन्, उनी।

पछिल्लो समय ट्वीटरमा सबै भन्दा बढी व्यस्तता बढेकोछ, उनको। विदेशमा भइरहेका गतिविधि सार्वजनिक गर्न पनि भ्याइनभ्याई छ, मन्त्री भट्टराईलाई। केही दिन पहिले मात्रै उनले कुवेत र माल्टाका सार्वजनिक बसमा भिजिट नेपालको पोष्टर टाँसिएको तस्वीर ट्वीट्याएका थिए।

तर, नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको फोटो भने अहिलेसम्म कतै सार्वजनिक गरेका छैनन्, उनले। किन भने सचिवालयको त बेहाल छ ! पहिले शिक्षा मन्त्रालय राखिएको भवन अर्थात् केशरमहलमा छ, भ्रमण वर्षको सचिवालय। भुकम्पले थिलथिलो भएको घरलाई भित्र–बाहिर पलामे ट्रस्टले जेलेर राखिएको छ।

हत्तपत्त मान्छेले सचिवालय छिर्ने बाटो नै पत्ता लगाउन सक्दैनन्। वरपर थाहा भएको मान्छेलाई सोध्नै पर्छ। भित्र पस्दा कुनै जंगलभित्र छिरेजस्तो पो अनुभव हुन्छ त। पीर उत्तिकै लाग्छ, कतै हराइने पो हो की ? सचिवालय संयोजकको कार्यकक्ष र कार्यसम्पादन हुने कक्षहरु छिर्न थोत्रो भर्‍याङ चढ्नु पर्छ। पत्यार नै लाग्दैन यहाँभित्र असाध्यै महत्वको ‘भ्रमण वर्ष’को सचिवालय होला, भनेर।

तर, भित्तामा राखिएको साईन बोर्डले हो, नै भन्छ। सुरुमा भित्र पस्ने वित्तिकै यस्तो घरमा पनि भ्रमण वर्षको सचिवालय (?) भन्ने जस्तो लागेपनि कार्यसम्पादन हुने ठाउँ त्यति अव्यवस्थित भने छैन। र, पत्रकारले भएकै कुरा लेख्नु पर्छ। तर, सचिवालयभित्र छिरिसकेपछि धेरै थरी प्रश्न उठ्छन्। यहाँभित्र विदेशी पाहुना छिरे भने, के भन्लान् ? कस्तो सन्देश लिएर जालान् ? राम्ररी कुरा फर्माएर बुझाइदिने मान्छे पनि छैनन्, के तरिका रहेछ यो ? यी र यस्तै कयौँ प्रश्न। र, प्रश्न उठ्नु स्वभाविक पनि। यद्यपि, पूरानो दरबारभित्र छिर्दा पाहुनालाई नरमाइलो भने पक्क नलाग्नु पर्ने हो।       

सचिवालय प्रवेश गर्ने ठाउँ अर्थात् फ्रन्ट डेस्क भनौँ न। जहाँ एक दुई जना युवा बसेका भेटिए। फ्रन्ट डेस्कमा बस्ने जस्तो हुलिया भने थिएन, उनीहरुको। केही कुरा सोध्नै पर्ने भो। र, झ्याप्पै सोधियो। सचिवालयको अफिसमा को–को हुनुहुन्छ ? को–को आउँछन् ? उनीहरुको जवाफ थियो–‘मुख्य मान्छेहरु सबै भिजिट नेपालको ‘प्रमोशन’को लागि राजधानी बाहिर हुनुहुन्छ। एक जना सर त अमेरिका पुग्नु भएको छ।’ 

भ्रमण वर्षको सचिवालय संयोजक हुन्, सुरज वैद्य। उनी कहिलेकाँही मात्रै आउँदा रहेछन्, सचिवालय। ठूला मान्छेहरु प्राय मन्त्रालयतिरै बढ्ता जाँदा रहेछन्। सचिवालयका अन्य अधिकारीहरु पनि मन्त्रालयतिरै हुने।

मिडियालाई जानकारी दिन कम्युनिकेशन कोर्डिनेटर पनि तोकिएका रहेछन्। तर, ती मान्छेहरुलाई भेट्न सकिँदो रहेनछ। टेलिफोनबाट जानकारी माग्न उस्तै  कठिन्। कार्यालयमा भएका कर्मचारीहरु त झन् मिडियाका मान्छे आएको रुचाउँदा रहेनछन्। उनीहरु मध्येका केहीले भन्दै थिए–मिडियाले गर्दा हामी अफ्ठ्यारोमा छौँ। कसरी, किन, के अफ्ठयारोमा भन्ने कुरा भने उनीहरुले भनेनन्। उनीहरुले भन्न खोजेको आशय चाँहि मिडियाले नकारात्मक मात्रै लेख्छन् भन्ने थियो। 

त्यही कारण होला, कार्यालयभित्रको फोटो खिच्न रोकेको एक महिलाले। र, त्यहीँनेर द्विविधा उठ्यो–‘सचिवालयको हालतबारे समाचार लेख्दा सकारात्मक सन्देश जाला वा नकारात्मक ?’

भूकम्पले सम्पदा क्षेत्रमा पुगेको असर र त्यसैको पुनःनिर्माणमा जुट्नु परेको अवस्था तथा असाध्यै महत्वको भ्रमण वर्षको सन्दर्भसामुन्ने सचिवालयको हालत सामान्य हो, यसलाई समाचार बनाउनु हुँदैन भन्ने हेतुले केही दिन चुपचाप बसियो। बरु, भिजिट नेपालका प्रगतिबारे लेख्नु उपयुक्त होला भन्ने पनि लागिरहयो।

तर, प्रगति खासै देखिएनन् । मन्त्रीका ट्वीट बाहेक अन्य गतिविधि थाहा नहुने अवस्था दोहोरिरहयो । अन्य कोणबाट भ्रमण वर्षको समाचार बनाउन सचिवालयका आधिकारिक मान्छेलाई फोन गरियो, कयौँ पल्ट । तर, कुनै कुराको प्रष्ट जानकारी आएन। सचिवालयलाई कुन देशका पर्यटक घुम्न आए–गए भन्नेसम्मको जानकारी रहेनछ। 
पर्यटन बोर्ड र अध्यागमनसँग बुझ्दा सचिवालय नै खडा गरिएको छ त, अनि केन्द्रमा मात्रै होइन प्रदेशमा समेत भ्रमण वर्षका लागि कमिटीहरु बनेका छन्, भन्ने उत्तर आउँछ।

जहाँ जसलाई सोधे पनि भ्रमण वर्षको सचिवालयको प्रभावकारिता देखिएन। संयोजक वैद्य टेलिफोन नै उठाउँदैनन्। सचिवालयका अन्य पदाधिकारी पनि त्यस्तै। मन्त्री कहिलेकाँही मात्रै आउँछन्, भने फ्रन्ट डेस्कमा बस्नेहरुले। वरिपरि फलामको ट्रस्टले जेलिएको घरभित्र बैठक बस्नै कठिन। मान्छे छिर्नै डराउने, ‘भूतघर’जस्तो। अनि, यस्तो ठाउँमा सचिवालयको कार्यालय राखेको चाँहि ठाउँ नपाएर रे ! हुन त मन्त्री भट्टराई नै ‘अभागी’। मन्त्री बन्नेवित्तिकै क्वार्टर कहाँ पाएका हुन् र ? उनले। समाजवादी पार्टीले सरकार छोडेपछि मात्रै पुल्चोकको मन्त्रीक्वार्टर छिर्न पाएका हुन्, उनी। पुल्चोक छिर्नुअघि लैनचौरमा नगरप्रमुख बसेको घरमा बस्नु परेको थियो, उनले।

त्यसैगरी अहिले भ्रमण वर्षको प्रचार–प्रसारमा मरिमेटेर लागेपनि सचिवालय भने गतिलो ठाउँमा राख्न पाएनन्। यहाँनेर भ्रमण वर्षको सचिवालय र मन्त्री भट्टराईको बेइज्जत गर्न खोजिएको भने पटक्कै होइन। यहाँनेर भन्न खोजिएको कुरा के हो भने, भ्रमण वर्ष औपचारिकता लागि मात्रै कि ? सरकारले उपलब्धि पनि खोजिएको छ ? त्यही कारण यसरी सचिवालयको हालत सुनाउनु परेको।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ