arrow

कोरोनाको सङ्क्रमण फैलन नदिने तयारी गर्न सांसदहरुको माग

logo
रासस,
प्रकाशित २०७६ माघ २१ मंगलबार
divyamani-rajbhandari.JPG

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसले नेपालमा पनि सङ्क्रमणको रूप लिन सक्ने भएकाले सम्पूर्ण तयारी गरी सचेत हुन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समय लिएर सांसद दिलेन्द्रप्रसाद बडूले चीनबाट फैलिएको कोरोना  भाइरसको उपचारमा के तयारी छ, चीनमा कति विद्यार्थी छन्, उपचारको के व्यवस्था छ भनी जवाफ माग गरे ।

सांसद दिव्यमणि राजभण्डारीले कोरोना भाइरस फैलिएको चीनबाट नेपाल आउने यात्रुको क्वारेन्टाइन गर्ने व्यवस्था गरिएको छ वा छैन भनी त्यसको व्यवस्था गर्न माग गरे ।

सांसद प्रकाश स्नेही रसाइलीले कोरोना भाइरसका कारण चीनसँगको हवाईलगायत आवागमन बन्द गर्नुपर्नेमा जोड दिए । सांसद देवेन्द्रराज कँडेलले नेपाल भ्रमण वर्षको उद्घाटन भव्यरूपमा गरिए पनि चीनबाट फैलिएको कोरोना भाइरसले प्रभाव पर्ने देखिएकाले बेलैमा सचेत हुन ध्यानाकर्षण गराए ।

सांसद प्रदीप यादवले चीनमा रहेका नेपाली विद्यार्थीलाई कहिले फिर्ता गराउने, ल्याइएको विद्यार्थी राख्ने ठाउँ कहाँ छ भन्ने जिज्ञासा राख्नुहुँदै संसद् भवन नै खाली गरिदिई पालमा संसद् चलाउने कि ? भनी प्रश्न गरे ।

सांसद बालकृष्ण खाँणले चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसले भायनक रूप लिएकाले नेपालमा सङ्क्रमण नफैलियोस् भनी सरकारले ध्यान दिनुपर्ने माग गरे ।



नयाँ