arrow

अनलाईन टेलिभिजन संचालकहरु संगठित, २५ सदस्यीय तदर्थ समिति गठन

logo
प्रकाशित २०७६ माघ २४ शुक्रबार
online-TV.jpg

काठमाडौं। अनलाईन टेलिभिजन सञ्चालकहरुको आज काठमाडौमा भएको प्रथम भेलाले २५ सदस्यीय तदर्थ समिति गठन गरेको छ। साथै आचारसंहिता तथा स्वनियमन समिति, सदस्यता समिति र विधान मस्यौदा समिति बनाउने निर्णय पनि भेलाले गरेको छ। संस्थाको नाम र सवै समितिका लागि जिम्मेबारी भने अर्को बैठकबाट तोकिने भएको छ।

विज्ञहरुसँग अन्तरक्रिया समेत गरिएको भेला मार्फत् उनीहरुले स्वनियमन गर्ने र संगठित हुने अठोट पनि व्यक्त गरेका छन्। भेलाले संगठित हुन र जिम्मेबार पत्रकारिताको दायरामा आउन आवश्यक सवै कार्यहरु गर्दै जाने निर्णय पनि गरेको भेलाको अध्यक्षता गरेका पत्रकार जीवन भण्डारीले जानकारी दिए।

भेलाले अनलाईन टेलिभिजनकर्मीलाई समस्या पर्दा एकजुट भएर सहयोग गर्ने, पेशागत हकहित संरक्षणसँगै पेशागत गुणस्तर बृद्धिका लागि निरन्तर कार्यक्रमहरु गर्ने निर्णय पनि गरेको भेलाका संचालक तथा टिभि अन्नपूर्णका संचालक राजु सुवेदीले जानकारी दिए। भेलामा ९४ जना अनलाईन टेलिभिजन संचालकहरु सहभागी भएको पनि उनले बताए।

भेलामा विज्ञका रुपमा बोल्दै पत्रकार महासंघका पूर्वअध्यक्ष तथा फ्रिडम फोरमका संस्थापक अध्यक्ष तारानाथ दाहालले राज्यको नियन्त्रणभन्दा पनि स्वनियमनको पक्षमा उभिन अनलाईन टेलिभिजन सञ्चालकहरुलाई सुझाव दिए। उनले जिम्मेबार बन्न चाहने अनलाईन टेलिभिजनहरुले आफु “जिम्मेबार सञ्चार माध्यमको रुपमा काम गर्न चाहेको र आचारसंहिता पालना गर्ने” स्वघोषणा गर्नु उपयुक्त हुने बताए।

महासंघका अर्का अध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले आफुले प्रस्तुत गरेका सामग्रीप्रति आफ्नो जिम्मेबारीबोध गरेमा यस क्षेत्रका विकृती स्वतः कम हुने धारण राखे। उनले जिम्मेबार पत्रकारिताका मर्मलाई ख्याल गरेमा अनलाईन टेलिभिजनको भविश्य उज्ज्वल रहेको बताए।

प्रेस काउन्सीलका पूर्व अध्यक्ष तथा बरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीले अन्य मिडिया सरह काम गर्ने प्रतिबद्धता गरेमा त्यही अनुसारको मान्यता दिनुपर्ने विचार राखे। 

अनलाईन पत्रकार संघका संस्थापक अध्यक्ष प्रवेश सुवेदीले संगठित भएमा पेशालाई व्यवस्थीत गर्न, सहयोग तथा अनुभव आदानप्रदान गर्न र नीतिगत व्यवस्थाका लागि सजिलो हुने भएकाले संगठित हुनु उपलब्धीमुलक कार्य भएको बताए।

काठमाडौबाट संचालित अनलाईन टेलिभिजन संचालकहरुले पत्रकारिताको जिम्मेबारी अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्। अहिलेको पत्रकार आचार संहितामा केही थपघट गरेर आफ्नो तर्फबाट अर्को आचारसंहिता बनाउने निर्णय पनि उनीहरुले गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ