arrow

महाकविपछि समको घरलाई सङ्ग्रहालय बनाउने विषयको उठान

logo
रासस,
प्रकाशित २०७६ माघ २४ शुक्रबार
balkrishna-sama.jpeg

काठमाडौं ।  महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई सङ्ग्रहालय बनाउने कार्यको शुरुआत भएसँगै कवि तथा नाट्य सम्राट बालकृष्ण समको घरलाई पनि सङ्ग्रहालय बनाउने विषयको उठान हुन थालेको छ ।

समको ११८औँ जन्मजयन्तीको सन्दर्भमा आयोजित ‘नेपाली काव्यमा बालकृष्ण समको योगदान’ विषयक प्रवचन कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले प्रतिष्ठानले समको काठमाडौँको ज्ञानेश्रमा रहेको घरलाई सङ्ग्रहालय बनाउन चाहेको बताए ।

 “सरकार र परिवारले स्वीकृति तथा अनुमति दिएमा प्रतिष्ठान समको घरलाई सङ्ग्रहालय बनाउन तयार छ”, उनले भने, “यस विषयमा तत्कालै हामी परिवारसँग छलफल चलाउँछौँ ।” उनले नेपाली वाङ्मयको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका श्रष्टाहरुको प्रतिष्ठानमा सामूहिक सङ्ग्रहालय बनाउने पक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

नेपाली शिक्षा परिषद्का सदस्य सचिव रमा शर्माले समको घरलाई सङ्ग्रहालय बनाउने विषयमा आवश्यक सहयोग गर्न परिषद् तयार रहेको बताइन्। “समसँग मैले स्नातकोत्तर तहको अध्ययनसँगै गर्ने अवसर पाएकी थिएँ”, उनले भनिन्, “बहुप्रतिभाले युक्त समको सम्मानका लागि हामी आवश्यक योगदान दिन पछि हट्नुहुँदैन ।”

प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले समले राणा कुलमा जन्मिएर पनि सहित्य सिर्जनामार्फत समानता र न्यायको पक्षमा सशक्त आवाज वुलन्द गरेको बताए । “नाटक र छन्द कवितामार्फत नेपाली भाषा तथा वाङ्मयको श्रीवृद्धिमा समले विशिष्ट योगदान पुर्‍याउनु भएको छ” उनले भने ।

प्रतिष्ठानका काव्य विभाग प्रमुख डा हेमनाथ पौडेलले सम नाट्य र कविता विधामा मात्र नभएर निबन्धमा पनि उत्तिकै अब्बल रहेको बताए । उनले सम समन्वयवादी चिन्तक, दार्शनिक एवं वैचारिक श्रष्टा भएको उल्लेख गरे।

 प्राध्यापक डा देवीप्रसाद सुवेदीले समलाई नाट्य सम्राट भनिएपनि उनको मुख्य विधा कविता नै भएको बताए । “समले जीवनको अन्तिम घडीसम्म पनि कविता लेखनलाई निरन्तरता दिनुभएको थियो” उनले भने, “उहाँ मुल रुपमा कवि व्यक्तित्व नै हो ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ