arrow

अफगानिस्तानमा दुई अमेरिकी सैनिकको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७६ माघ २६ आइतबार
afghanistan-northern-province.jpg

काबुल। हातहतियारबाट सुसज्जित एक जना अफगानी सैनिकले चलाएको गोली लागेर अफगानिस्तानमा तैनाथ दुई जना अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अरु छ जना घाइते भएका छन्।

अमेरिकी सेनाका अनुसार अफगानिस्तानको पूर्वी नान्गारहार प्रान्तमा शनिबार उक्त दुःखद घटना भएको हो। शरजाद जिल्लाको सैनिक अखडामा अमेरिकी र अफगान कमान्डोहरुले तालिम गरिरहेका बखत अफगान सैनिक कमान्डोले गोली चलाएका थिए। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १८ वर्ष लामो अफगान युद्ध समाप्त गरी अमेरिकी सैनिक स्वदेश फर्काउने योजना बनाइरहेको नाजूक समयमा उक्त घटना भएको हो।

अफगानिस्तानमा तैनाथ अमेरिकी फौजका प्रवक्ता सोन्नी लेगिटले आइतबार जारी गर्नु भएको वक्तव्यमा अफगानी सैनिकले चलाएको गोलीबाट अमेरिकी सैनिकको मृत्यु भएको र केही घाइते भएको उल्लेख छ।

प्रान्तीय गभर्नर शाह महमूद मियाखिलले अफगान सैनिकको आक्रमणबाट तीन जना अफगान सैनिक पनि घाइते भएको बताउँदै घटनाको अनुसन्धान शुरु गरिएको जानकारी दिए।

अफगान सैनिकलाई हवाई सेवा, परामर्श र तालिमका कार्यमा मात्र केन्द्रित गरिरहेको अमेरिकी सैनिकमाथि सन् २०१९ मा भएका आक्रमणमा २० जनाको ज्यान गएको थियो। सन् २००१ मा अफगानिस्तानमा अमेरिकी सेनाले आक्रमण गरेयता अफगानिस्तानमा करिब दुई हजार ४०० अमेरिकी सैनिकको मृत्यु भइसकेको छ।

अफगानिस्तानका विद्रोही तालिबान समूहसँग अमेरिकी विशेष दूत जाल्मे खलिलजादले विगत १८ महिनादेखि वार्ता र सम्वाद गरिरहेका छन्। वार्तामा खासगरी अमेरिकी सैनिकको संख्या आधा कम गर्ने र विनाशर्त युद्ध विराम गर्ने बारेमा विचार विमर्श भइरहेको छ।

तालिबान समूहले वार्ताकै चरणमा पनि अमेरिकी फौज लक्षित गरी आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त वार्ताको औचित्य नरहेको भन्दै वार्ता भङ्ग भएको घोषणा गर्नु भएको थियो। तर अहिले फेरि कतारमा तालिबान र अमेरिकी मध्यस्थकर्ताबीच वार्ता जारी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ