arrow

पचास हजार विद्यार्थीको हातमा पुस्तक छैन

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
bookcover-group-book.jpg.jpeg
रुपन्देही । नयाँ शैक्षिक सत्र सुरु भए पनि यहाँ भने पचास हजारभन्दा बढी विद्यार्थीले पुस्तक पाएका छैनन् । जिल्ला शिक्षा कार्यालयले कोही पनि विद्यार्थी नछुटून् भनेर विद्यार्थी अभियानलाई तीव्रता दिइएको तर भर्ना भएकामध्ये ८० प्रतिशत विद्यार्थी पुस्तकविहीन छन् । रुपन्देहीमा सामुदायिक तीन सय ६२, संस्थागत (निजी) २८, धार्मिक एक सय १७ गरी सात सय ६३ विद्यालय छन् । 
 
शिक्षा कार्यालयका अनुसार कक्षा १० सम्म दुई लाख आठ हजार विद्यार्थी छन् । तीमध्ये सामुदायिक विद्यालयमा एक लाख २५ हजार, निजी विद्यालयमा ७१ हजार पाँच सय र अन्यमा १० हजार ६०० विद्यार्थी विद्यार्थी छन् । निजी विद्यालयले पु्स्तकको चाँजोपाँचो मिलाइसकेका छन् । सामुदायिक विद्यालयमा भने कक्षा ६ देखि १० सम्म पुस्तकको चरम अभाव देखिएको छ । 
 
जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले जनक शिक्षा सामग्री केन्द्रले नै पुस्तक नपठाउँदा समस्या भएकाले जति सक्दो चाँडो सहज बनाउने गरी दबाब दिइएको बताउनुभयो । उहाँका अनुसार रुपन्देहीमा ६६ हजार ५८७ थान पुस्तकको माग भए पनि ११ हजार ५०० मात्रै प्राप्त भएको छ । कक्षा ६ मा १२ हजार आठ सय १३, कक्षा ७ मा १२ हजार सात सय ९१, कक्षा ८ मा १३ हजार सात सय, कक्षा ९ मा १३ हजार आठ सय ३० र कक्षा १० मा १३ हजार चार सय २५ थान पुस्तकको माग छ । 
 
 
कक्षा ६ को एउटा पनि पुस्तक आएको छैन भने कक्षा ७ देखि १० सम्ममा करिब १५ हजारको हाराहारीमा मात्रै पुस्तक आएको शिक्षा अधिकारी थापाले बताउनुभयो । तथ्याङ्कानुसार रुपन्देहीमा पुस्तकको अभाव निकै छ । बुटवल पश्चिममा कक्षा १ देखि १० सम्मको सरकारी पुस्तक वितरणको जिम्मा लिएको सुपर एजुकेसन इन्टरप्राइजेजका सञ्चालक खिमनारायण पराजुलीले पुस्तक अभाव चरम रहेको बताउनुभयो । पश्चिम क्षेत्रमा सबैभन्दा बढी पुस्तकको माग रुपन्देही जिल्लामा रहेको छ । 
 
अन्य जिल्लामा त झन समस्या विकराल रहेको भन्दै रुपन्देहीमा पनि पुस्तक सहज वैशाखसम्ममा कुनै पनि हालतमा नहुने पुस्तक व्यवसायी सङ्घ रुपन्देहीमा पूर्व अध्यक्ष दिवाकर घिमिरेले जिकिर गर्नुहुन्छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ