दक्षिण कोरिया, जापानका विदेश मन्त्रीबीच वार्ताको तयारी
योनहाप,
प्रकाशित २०७६ फागुन २ शुक्रबार
392
Shares
सियोल। जापान र दक्षिण कोरियाका वरिष्ट कूटनीतिज्ञहरुले यसै साता जर्मनीको म्युनिखमा द्विपक्षीय भेटवार्ता गर्न लागेको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको छ। म्युनिखमा हुने तीन दिवसीय म्युनिख सुरक्षा सम्मेलनका अवसरमा अमेरिकी विदेश मन्त्रीका साथ त्रिपक्षीय भेटवार्ता पनि हुन लागेको मन्त्रालयले बताएको छ।
कोरियाली विदेश मन्त्री काङ क्यूङ–ह्वाले आफ्ना जापानी समकक्षी तोसिमिचु मोटेगीसँग शनिबार बिहान भेटवार्ता गर्नु हुनेछ। त्यसै दिन दुबै मुलुकका विदेश मन्त्रीले अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग सामूहिक भेटघाट गर्ने कार्यक्रम छ। उक्त भेटमा उत्तर कोरियाको आणविक निःशस्त्रीकरण तथा मध्यपूर्व मामिलाका विषयमा छलफल हुने बताइएको छ।
काङ, पोम्पेओ र मोटेगीबीच गत महिना अमेरिकाको सान फ्रान्सिस्कोमा त्रिपक्षीय भेटवार्ता भएको थियो। काङ र पोम्पेओबीच पनि म्युनिखमा अलग्गै द्विपक्षीय भेटवार्ता हुने अपेक्षा गरिएको छ, तर त्यस्तो बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन।
जापानी विदेश मन्त्री मोटेगीसँगको भेटवार्तामा कोरियाली विदेश मन्त्री काङले कोरियामाथि जापानले लगाइरहेको निर्यात प्रतिबन्धहरु फुकुवा गर्ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ। जापान र कोरियाबीच पछिल्लो समय दोस्रो विश्वयुद्धको समयका कोरियाली युद्धबन्दीका साथै सैनिक गुप्तचरी सूचना आदानप्रदानका विषयमा विवाद उत्पन्न भएको छ। यिनै विषयले दुई मुलुकबीच उच्च प्रविधिका सामानको आयात निर्यातमा समस्या चुलिएको छ।
उक्त द्विपक्षीय भेटवार्ताका क्रममा चीनबाट फैलिएको कोरोना भाइरस र त्यसको असरका बारेमा पनि छलफल हुने अपेक्षा गरिएको छ। चीनबाट फैलिएको कोरोना भाइरसबाट कोरिया र जापानलाई पनि प्रभावित भएका छन्।