arrow

अन्तरिक्ष यात्री क्रिस्टिना सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बिताउने पहिलो महिला

logo
हाम्राकुरा विशेष,
प्रकाशित २०७६ फागुन ३ शनिबार
christina-koch-astronaut.jpg

काठमाडौं। अन्तरिक्षको यात्रा गर्ने काम निकै कठिन काम हो। त्यसका लागि मानिसमा ठूलै साहसको जरुरी हुन्छ। यति मात्र होइन, अन्तरिक्षमा नै बस्नु झन् कठिन काम हो। यस्तोमा अन्तरिक्षमा पुगेर फर्किनु नै एक ठूलो सफलता हो। यो सफलता हासिल गर्ने निकै कम मात्र मानिसहरु छन्। महिलाको संख्या अझै कम छ। यस्तो अवस्थामा अमेरिकाकी क्रिस्टिना कोच सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बिताउने पहिलो महिला बनेकी छन्। ३ सय २८ दिन अन्तरिक्षमा बिताएर उनी गत बिहीबार पृथ्वीमा फर्किएकी छन्।

सबैभन्दा धेरै दिनसम्म अन्तरिक्षमा बिताउने पहिलो महिलाको रुपमा विश्व रेकर्ड राखेर उनी बिहीबार कजाकिस्तानको उत्तर क्षेत्रमा अवतरण गरेकी थिइन्। अन्तरिक्ष यानबाट बाहिर निस्किएपछि हर्षित हुँदै निकै उत्साहित र खुसी छु  रहेको बताइन्। उनले अन्तरिक्ष नायकहरुका पाइला पछ्याइरहेको बेला आफ्नो लागि ठूलो सम्मान रहेको बताइन्।

उनले यसअघि पेगी हिविट्सनले राखेको सबैभन्दा बढी समय अन्तरिक्षमा बिताउने महिलाको कीर्तिमान तोडेकी हुन्। यसअघि पेगीको नाममा २ सय ८९ दिनसम्म अन्तरिक्षमा बिताएको रेकर्ड थियो। अन्तरिक्षमा सबैभन्दा लामो समय बिताउने व्यक्ति भने रुसका भलेरी पोल्याकोभ हुन्। उनले अन्तरिक्षमा ४ सय ३७ दिन अन्तरिक्षमा बिताएका थिए।

४१ वर्षीया क्रिस्टिना कोच अमेरिकी अन्तरिक्ष एजेन्सी नासामा कार्यरत अमेरिकी इन्जिनियर हुन्। नर्थ क्यारोलिना विश्वविद्यालयबाट उनले इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा स्नातकोत्तर पास गरेकी छिन्। उनलाई नासाले सन् २०१९ को मार्च १४ मा अन्तरिक्षमा पठाएको थियो। क्रिस्टिनाले पृथ्वीको कक्षलाई ५ हजार २ सय ४८ पटक घुमेको नासाले जनाएको छ। यस क्रममा उनले २२ करोड ३० लाख किलोमिटर यात्रा गरिन् । नासाका अनुसार उक्त दूरीबराबरको यात्रा गर्दा पृथ्वीबाट चन्द्रमामा २ सय ९१ पटक ओहोर–दोहोर गर्न सकिन्छ।

क्रिस्टिनासँग नासाका अन्य दुई सहकर्मी पनि थिए। सन् २०१९ को अक्टोबरमा क्रिस्टिना र जेसिका मेयरले अन्तरिक्ष केन्द्र बाहिर स्पेसवाक गरेका अर्थात् हिँडेका समेत थिए। यो महिलाले अन्तरिक्षमै हिँडेको पहिलो रेकर्ड हो।

हालसम्म चार जना अन्तरिक्ष यात्रीले एक वर्षभन्दा बढी अवधि अन्तरिक्षमा बिताएका छन्। रसियाका भलेरी पोल्याकोभले सबैभन्दा बढी ४ सय ३७ दशमलव ७ दिन अन्तरिक्षमा बिताएका थिए। त्यसैगरी, रुसकै सर्गेइ अब्देएभले ३ सय ७९ दशमलव ७ दिन, भ्लादिमिर टिटोभ र मुसा मननारोभले ३ सय ६५ दिन, मिखाइल कोर्नेइन्को र अमेरिकाका स्कट केलीले अन्तरिक्षमा ३४० दशमलव ४ दिन बिताएका थिए।

अहिलेसम्म अन्तरिक्षमा ५६४ जना मानिसहरु गइसकेका छन्। त्यसमा महिलाको संख्या केवल ६५ छ। यसले पनि महिला अन्तरिक्षको मामिलामा पुरुषभन्दा पछाडि रहेको देखाउँछ। तर, पहिलोपटक अन्तरिक्षमा जाने महिला तत्कालीन सोभियत संघकी भ्यालेन्टिना टेरेस्कोभाले भने सन् १९६३ मै अन्तरिक्षको यात्रा गरेकी थिइन्। यो क्रमलाई हेर्दा महिला अन्तरिक्ष यात्राको क्रममा पछि नपर्नु पर्ने हो । तर, अन्तरिक्ष यात्रालाई हेर्ने हो भने महिलाको उपस्थिति १० प्रतिशतभन्दा केही मात्र बढी छ।

त्यसो त अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र (नासा)ले पनि सोभियत संघबाट पहिलोपटक महिला अन्तरिक्ष यात्री गएको २० वर्षपछि सन् १९८३ मा स्याली राइडलाई तेस्रो महिला अन्तरिक्षयात्रीको रुपमा अन्तरिक्षमा पठाएको थियो। गएको अक्टोबरमा पहिलोपटक महिला मात्रैको समूहले अन्तरिक्षमा हिँडेको थियो। यसलाई भने अन्तरिक्षमा महिलाको एक महत्वपूर्ण सफलता मान्न सकिन्छ। सोही सफलताको श्रृङ्खलाको रुपमा क्रिस्टिना कोचको सफलतालाई लिन सकिन्छ। उनले पनि महिलाको लागि अन्तरिक्ष यात्रामा प्रेरणा बन्न सक्ने काम गरेकी छिन्। 

त्यसो त महिलाको लागि अन्तरिक्षको यात्रा त्यति सजिलो भने पक्कै पनि छैन। महिलालाई अन्तरिक्ष यात्राको क्रममा आइपर्ने विभिन्न समस्याको कारण पनि महिला अन्तरिक्षयात्री कम भएको विश्लेषकहरुले बताउने गरेका छन्। त्यसका साथै अन्तरिक्ष यात्रापछि पुरुष र महिलामा पनि फरक किसिमको असर देखिन्छ। यसबाट पर्ने असरको विषयमा जानकारहरु पनि अन्तरिक्ष यात्रामा जान डराउँछन्। यही डरले अन्तरिक्ष यात्रामा महिलाको सहभागिता कमजोर बन्न पुगेको पनि हो। पछिल्लो समय विकसित मुलुक र केही विकासोन्मुख मुलुकमा पनि लैंगिक समानता पहिलाको तुलनामा निकै हदसम्म कायम भएको देख्न सकिन्छ। तर, अन्तरिक्ष यात्राको लागि भने लैंगिक असमानता नै एक कारण भएको देख्न सकिन्छ। तर, पनि अबको दिनमा यो अन्तर कम होला भन्न सकिने अवस्था भने प्रशस्त छ।

पछिल्लो एक दशकमा भने अन्तरिक्ष यात्रामा महिलाको अवस्थामा निकै ठूलो परिवर्तन आएको हो। त्यसअघि त अवस्था झनै खराब थियो। यो दशकमा भने महिलाले अन्य क्षेत्रमा नै अन्तरिक्षमा पनि महिलाले केही गर्न सक्छन् भन्ने कुराको उदाहरण पेश गरेका छन्। यो अहिलेसम्मको अवधिमा आइपुग्दासम्म विश्वका करिब सबै क्षेत्रका महिलाले अन्तरिक्षको यात्रा गरिसकेका छन्। सन् २०१८ मा जेनेट्टे एप्स पहिलो अन्तर्राष्ट्रिय स्पेश स्टेशनको क्र्यु सदस्य बन्ने पहिलो अफ्रिकी अमेरिकी महिला बनेकी थिइन्। यससँगै अन्तरिक्षले करिब सबै क्षेत्रलाई समेट्न सकेको छ।

त्यसो त अब भविष्यमा अन्तरिक्षको यात्रा झन् सजिलो बन्ने भन्दै विभिन्न किसिमको योजना आइसकेका छन्। यसले सन् २०२० को दशक अन्तरिक्षको लागि निकै महत्वपूर्ण हुने अनुमान गर्न सकिन्छ।

विगत एक दशकले देखाएको बाटोमा अबको दशकमा महत्वपूर्ण प्रगति हुने अन्तरिक्ष विश्लेषकहरु बताउँछन्। विगत एक दशकमा अन्तरिक्षको मामिलामा नासा नै हाबी बन्न पुग्यो । यो अवधिमा भएका धेरैजसो उपलब्धिमा उसको हात छ। तर, सन् २०२० को दशकमा भने उसलाई चुनौती दिने प्रतिस्पर्धी धेरै नै हुने अहिलेको केही लक्षणले नै देखाइसकेको छ। प्रतिस्पर्धाले अन्तरिक्ष क्षेत्रले पनि छोटो समयमा ठूलो फड्को मार्न सक्ने देखिन्छ।

अन्तरिक्ष यात्रामा अहिलेसम्म पछि परेको अवस्थालाई यो दशकले पूरा गर्न सक्ने अपेक्षा गर्न सकिन्छ। अन्तरिक्ष यात्राको लागि महिलालाई नै पुरुषको तुलनामा उपयुक्त मान्न सकिने धेरै कारण पनि छन्। साथै पछिल्लो समय अन्तरिक्षमा पनि नयाँ नयाँ खोजीको योजना अघि सारिएको छ। जसमा नासा पनि एक हो। नासाले पनि अन्तरिक्ष यात्रामा महिलालाई अघि सार्ने योजना ल्याइसकेको छ। अन्तरिक्षको हिसाबमा यो दशकमा भने शुरुवाती कदम र संकेतलाई राम्रै मान्न सकिन्छ। अब अहिले देखिएको संकेत कत्तिको उपलब्धिमूलक हुन्छ, त्यो भने भविष्यले नै देखाउला। तर, यो अवधिमा महिला र पुरुष भएकै कारण अन्तरिक्षमा देखिने समस्या अझै प्रभावकारी समाधान भने पक्कै पनि हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ