arrow

अन्तरिक्षको योजना अमेरिकाको प्राथमिकतामा किन ?

logo
एजेन्सी,
प्रकाशित २०७६ फागुन ३ शनिबार
satellite-internet-spacex1.jpg

काठमाडौं। अन्तरिक्षको विषयमा पछिल्लो समय व्यापक मात्रामा खोज तथा अनुसन्धान भइरहेका छन्। त्यसका लागि विश्वका विभिन्न मुलुकहरूले आफ्ना योजनाहरुको माध्यमबाट यसको प्रवद्र्धन गरिरहेका छन्। मानिस जिज्ञासु स्वभाव भएको प्राणी हो। त्यसैले जति बुझ्दै गयो, त्यति नै धेरै जिज्ञासा पनि उत्पन्न हुन्छ। त्यसैले अहिले अन्तरिक्षको विषयमा पनि विभिन्न किसिमको जिज्ञासा उत्पन्न भइरहेका छन्। जसको उत्तर पत्ता लगाउन अहिले वैज्ञानिकहरु लागिपरेका छन्। फलस्वरुप उनीहरुले नयाँ नयाँ कुराहरु पनि पत्ता लाग्दै पनि गएको छ। 

तर, अहिले अन्तरिक्षको खोज केवल जानकारीमा सीमित छैन। यो अहिले मुलुकको प्रतिष्ठा तथा शक्ति प्रदर्शनको केन्द्र बन्न पुगेको छ। विश्वका प्रमुख शक्ति राष्ट्रले नै यसलाई अफ्नो प्रतिष्ठा तथा शक्ति प्रदर्शनको माध्यम बनाएका हुन्। केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्षको लागि २५ अर्ब अमेरिकी डलर बजेट सार्वजनिक गरेका छन्। यो रकम अघिल्लो वर्षको तुलनामा १२ प्रतिशत धेरै हो। यसले अमेरिकाको प्राथमिकतामा अन्तरिक्षको अनुसन्धान परेको स्पष्ट देखिन्छ। त्यस्तै अमेरिकाले मुलुकका विभिन्न अन्तरिक्षको विषयमा काम गर्ने कम्पनीहरुलाई पनि विभिन्न किसिमको सहुलियत प्रदान गर्ने योजना अघि सारिरहेको छ। यसले अहिले धेरैमा एक प्रश्न उब्जाएको छ – आखिर 

अन्तरिक्षको योजना अमेरिकाको प्राथमिकतामा किन ? 
अन्तरिक्षको योजना अमेरिकाको लागि मात्र प्राथमिकतामा परेको भने होइन। पछिल्लो समय प्रमुख शक्ति राष्ट्रले यसलाई प्राथमिकतामा राखेका छन्। अन्तरिक्षलाई प्राथमिकतामा राखेर अहिले चीन, भारत, रुस, इजरायल लगायत मुलुकले पनि अन्तरिक्षलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्। यी सबै मुलुकको उद्देश्य भनेको विश्वमा आफ्नो शक्ति प्रदर्शन गर्नु नै हो। अहिले यी सबै मुलुक आफ्नो शक्ति विस्तारको क्रममा छन्। 

अन्तरिक्षमा अमेरिका र रुसले निकै लामो समयदेखि दबदबा कायम राखेका छन् । यस्तोमा चीनले पनि उनीहरुलाई चुनौती दिने किसिमको योजना अघि सारेको छ। अन्तरिक्षमा आफ्नो उपस्थिति बलियो पार्न गत वर्ष उसले चाङ ईका रकेट चन्द्रमाको पृथ्वीबाट नदेखिने क्षेत्रमा ल्यान्ड गराएको थियो । यसमा उसले बीउ पनि पठाएको थियो र चन्द्रमामा बीउ अंकुराउने गरेको तथ्य पनि पत्ता लगाएको थियो। यसलाई अन्तरिक्षको मामिलामा चीनको निकै महत्वपूर्ण कदम मानिएको थियो । चीनको यो कदमपछि भने अन्तरिक्षको विषयमा केही महत्वपूर्ण घोषणाहरु भए । अमेरिकाले पनि सन् २०२४ सम्ममा मंगल ग्रहमा मानिस लैजाने योजना अघि सारेको छ। त्यस्तै सन् २०२१ सम्मको चन्द्रमाको योजना पनि उसले अघि सारेको छ । अमेरिकाले लामो समयपछि चन्द्रमाको योजना अघि सारेको हो। चीनले अन्तरिक्षको विषयमा अघि सारेको योजनाले अमेरिकालाई अन्तरिक्षमा आफ्नो पकड कायम राख्न दबाब सृजना गरेको हो। 

अर्कोतर्फ भारतले पनि अन्तरिक्षको योजना गत वर्ष अघि सारेको थियो । गत वर्ष भारतले आफ्नो चन्द्रयान–२ चन्द्रमामा पठाएको थियो । यो विमान चन्द्रमामा ल्यान्ड हुनुभन्दा केही समयअघि मात्र हराएपछि उसको यो योजना भने सफल हुन सकेन। तर, भारतले यसलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको थियो । भारतको यो योजना अहिलेसम्मको चन्द्रमा मिशनको सबैभन्दा सस्तो योजना थियो । यो योजना असफलताले पनि उसलाई रोक्न भने सकेको छैन । भारतले अर्को चन्द्रमाको योजना अघि सारेको छ । यसलाई उसले चन्द्रयान–३को नाम दिएको छ । भारत कुनै पनि हालतमा चन्द्रमाको योजना सफल बनाउने दिशामा लागिपरेको छ । यसले पनि अन्तरिक्ष अब प्रतिष्ठाको विषय बन्दै गएको कुरालाई पुष्टि गर्न थप सहयोग पुगेको छ । 

अमेरिकाको सहयोग रहने मुलुक इजरायलले पनि गत वर्ष आफ्नो अन्तरिक्षको योजना अघि सारेको थियो । भारतले आफ्नो चन्द्रयान–२ पठाउनुभन्दा केही समयअघि मात्र इजरायलले आफ्नो रकेट प्रक्षेपण गरेको थियो । तर, उसको मिशन भने सफल हुन सकेन । उसको योजनालाई पनि विश्वमा आफूलाई प्रमाणित गर्न अघि सारिएको योजनाको रुपमा हेरिएको थियो । त्यस्तै रुसले पनि गत वर्ष आफ्नो अन्तरिक्षको अध्ययनको खर्च बढाउने निर्णय गरेको थियो । पछिल्लो समय पश्चिमा मुलुकले अन्तरिक्षमा व्यापक मात्रामा सुधार गरिसकेको अवस्थामा अहिले नै उपयुक्त कदम चाल्न नसकेको खण्डमा त्यो रुसको लागि हानिकारक हुने भन्दै रुसले यस्तो योजना अघि सारेको हो । 

पछिल्लो समय आर्थिक हिसाबमा रुस अन्तर्राष्ट्रिय मुलुकको नाकाबन्दीको कारण केही समस्यामा छ । तर, राजनीतिक हिसाबमा उसको अवस्था बलियो छ । अझै पनि रुसी अधिकारीले भनेको कुराले विश्व राजनीतिमा निकै महत्वपूर्ण प्रभाव राख्ने गरेको छ । सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा रुसले ट्रम्पलाई जिताउन सहयोग गरेको केही प्रमाण पनि सार्वजनिक भएका थिए । यसले पनि अमेरिकामा समेत राजनीतिक हिसाबमा रुसको प्रभाव बलियो हुने गरेको स्पष्ट हुन्छ । त्यस्तोमा उसले आफ्नो प्रभावमा कुनै किसिमको आँच नआओस् भन्नका लागि अन्तरिक्षको योजना अघि सारेको हो । रुसको लागि आर्थिक सुधारको लागि गर्न बाँकी निकै धेरै काम छन् । त्यसका लागि अन्तर्राष्ट्रिय मुलुकले लगाएको प्रतिबन्धबाट पार पाउने अर्को चुनौती कायमै छ । तर, उसको प्राथमिकता अन्तरिक्षको कार्यक्रममा छ । यसले पनि उसले के चाहिरहेको छ भन्ने कुरालाई सहजै बुझाउँछ।

विगत केही वर्षयता अन्तरिक्षको विषयमा व्यापक विस्तार भएको भने पक्कै पनि होइन । तर, पछिल्लो समय प्रविधिको विस्तार सँगै अन्तरिक्षको यात्रा भने सजिलो बन्न पुगेको छ। यसै क्रममा अन्तरिक्षमा नै युद्धको अवस्था आउनसक्ने चिन्ता पनि शुरू भइसकेको छ । यसले पनि अन्तरिक्षको अध्ययन विश्वका प्रमुख शक्ति राष्ट्रका लागि कत्तिको महत्वपूर्ण छ भन्ने कुरालाई देखाउँछ । यो कुरालाई ध्यानमा राख्दै अमेरिकाले अन्तरिक्ष सेनाको व्यवस्था गर्ने निर्णय गरेको थियो। यो निर्णयले पनि अन्तरिक्षको विषय सोचेभन्दा संवेदनशील रहेको देखाएको थियो । पछिल्लो समय अन्य मुलुकले गरिरहेको गतिविधिले पनि यो कुरालाई पुष्टि गरेको छ । अहिले समग्र विश्व स्याटेलाइटले चलिरहेको छ । विना कुनै सर्भर कुनै पनि काम सञ्चालन नहुने अवस्था आइसकेको छ। यस्तोमा अन्तरिक्षमा पकड हुने मुलुकको हातमा समग्र विश्वको चाबी हुनेछ । त्यसैले पनि अन्तरिक्षको विषयमा अहिले रस्साकस्सी बढेको हो। 

यसअघि नै रुसले र अमेरिकाको बीचमा स्याटेलाइट सम्झौता विपरीत खसालेको विषयमा विवाद कायम छ । सम्झौता विपरीत आफ्नो अनुकूल हुने किसिमले स्याटेलाइट खसाल्ने काम रुसले गरेको अमेरिकाले आरोप लगाएको छ । रुसले भने आफूले स्याटेलाइट नखसालेको दाबी गर्दै आएको छ। स्याटेलाइटको संख्या र अन्तरिक्षमा प्रतिस्पर्धा पनि बढेको अवस्थामा आगामी दिनमा यस किसिमको घटना घट्नुको सट्टामा बढ्ने निश्चितप्रायः छ। त्यसैले अमेरिकाले अन्तरिक्ष सेनाको व्यवस्था गर्न लागेको हो । यो व्यवस्थासँगै अहिले अन्तरिक्षमा रहेको प्रभाव आगामी दिनमा पनि कायम राख्न सकिन्छ भन्ने उसको विश्वास छ । शक्ति प्रदर्शनको खेलले अन्तरिक्ष खोज तथा अनुसन्धान कम र शक्ति प्रदर्शनको माध्यम बढी हुने हो कि भन्ने विषयमा भने प्रमुख शक्ति राष्ट्रले बेलैमा सोच्नु जरुरी छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ