arrow

२५ क्युन्टल चामल हेलिकप्टरबाट ढुवानी

logo
प्रकाशित २०७६ फागुन ४ आइतबार
Helicopter-Nepal-Army.jpg

बझाङ। यस पटकको लामो हिउँदे झरि संगै भारी हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साईपाल गाउँपालिकामा बाटो अबरुद्ध हुदा खाद्यान्न अभाव भएपछि शनिवार सरकारको पहलमा हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी भएको छ। नेपाली सेनाको हेलिकप्टरले खाद्य संस्थान सुर्खेतबाट दुई पटक गरि २५ क्युन्टल २० केजी चामल साईपाल गाउँपालिकाको धुलीमा  ढुवानी गरेको हो।

ढुवानी भएको चामल साईपाल गाउँपालिकाको धुली, बलौडी र न्युना गाउँका बासिन्दाहरु लाई प्रति ब्यक्ति २ केजीका हिसावले बितरण गरिने भएको छ। गाउँपालिकाको केन्द्र रहेको काँडा सम्म पनि अहिले सम्म गोरेटो बाटो समेत हिउँले अबरुद्ध हुदा खच्चर भेडा , घोडा  समेत चल्न नसकेपछि खाद्यान्न अभाव भएको बिषय सञ्चार माध्यामले उजागर गर्नुका साथै  प्रतिनिधी सभा सदस्य आसा बिकले यो समस्या संसदमा उठाएपछि सरकारको ध्यानार्कषण भएर साईपाल गाउँपालिकामा खाद्यान्न ढुवानी भएको हो।

धौलन र काँडामा अलि केहि दिन यता हिउँ पग्लेर भेडा खच्चरबाट चामल ढुवानी गरेका थियौ गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले भने, 'जिल्लाको सबै भन्दा बिकट र टाढा रहेका धुली र बलौडी गाउँमा बाटो नखुल्दा समस्या थियो सरकारले हेलिकप्टरबाट ढुवानी गरि दिएकोमा खुशी लागेको छ।'  यसले प्रति ब्यक्ति दुई किलो मात्र पर्ने हुदाँ अझै अभाब कायमै छ, गाउँपलिकाबाट पटक पटक चामलका लागी माग गरेको भएपनि यसको सुनुवाई भएन्।

गाउँपालिकाको केन्द्र काडाँमा रहेको खाद्य डिपोमा तिन महिना अगाडी खाद्यान्न रित्तिएको थियो। हिउँले बाटो अबरुद्ध हुदा स्थानीय ब्यापारीहरुले समेत  खाद्यान्न ढुवानी गर्न सकेका थिएनन्। स्थानीय जसबिर बोहराले भने, 'गाउँमा खाद्यान्न अभाव भएको झण्डै तिन महिना हुन लाग्यो यसका बारेमा कुनै पनि सुनुवाई नभएको बताउदै २५ क्युन्टलले तिन चार छाक खानलाई मात्र पुग्ने भएकाले अझै सरकारले ढुवानी गरिदिन आग्रह गरेका छौं।'

गत साउनमा बितरण गरिएको सबै चामल सक्किए पछि  सदरमुकाम चैनपुरबाट चार दिनको पैदल दुरिमा रहेको साईपाल गाउँपालिका यातायत सञ्जाल संग नजोडिएकाले खाद्यान्न ढुवानी महङ्गो हुने भएकाले सरकारले ढुवानीमा अनुदान दिएर सुलभ दरमा खाद्यान्न उपलब्ध गराउदै आएको थियो। यस बर्ष भने खाद्यान्न ढुवानीका लागी समयमै बोलपत्र आह्वान नभएकाले तथा ढिलो गरि बोलपत्र आह्वान भएर  ठेकेदारहरुले कम दर रेट राखेकाले काम गर्न नसक्ने भन्दै सम्झौता नै नगरेपछि खाद्यान्न ढुवानीमा समस्या भएको खाद्यान्न ब्यबस्था तथा ब्यापार कम्पनीका अञ्चल प्रमुख अलिन श्रेष्ठले बताए।

उनले भने खाद्यान्न ढुवानीका लागी गएको महिना बोलपत्र आह्वान गरेका थियौ र जिल्ला भित्रका स्थानीय ठेकेदारहरुले प्रतिस्पर्दा गरि टेन्डर हालेकोले कम दर रेट राखेको रहेछ अहिले सम्झौता गर्न आउनुहोस भनेर बारम्बार पत्राचार गरेपनि ठेकेदारहरुले आनाकानी गरि रहेका छन्। 

खाद्यको चामलमा ढुवानी अनुदान पाएपछि झण्डै ४३ रुपायाँ पर्ने मोटो चामलको मुल्य अहिले साईपाल गाउँपालिकाको स्थानीय बजारमा भने एक सय बिस रुपयाँ पर्ने गरेको छ। जिल्लाको खाद्य संकटका हिसावले यो गाउँपालिका उच्च जोखिममा रहेको छ। हाल जिल्लाका ३ वटा डिपो कार्यालय र सदरमुकाम चैनपुर नजिकै रहेको देबलबाट खाद्यान्न बितरण हुदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ