arrow

धार्मिक पर्यटनस्थलको विकासका लागि पाँचवटा करिडोर बनाएर काम गरिने :  मुख्यमन्त्री भट्ट 

logo
गोविन्द बीसी,
प्रकाशित २०७६ फागुन ४ आइतबार
chief-minister-bhatt.jpg

बौनिया। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको धार्मिक पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन्। शिवशक्ति श्रीविद्यापीठ लम्की कैलालीको ८ औं बार्षिक उत्सव तथा श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञको उद्घाटन गर्दै मन्त्री भट्टले यस्तो बताएका हुन्।

सो अवसरमा मुख्य मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशको धार्मिक पर्यटनस्थलको विकासका लागि प्रदेश सरकारले पाँचवटा करिडोर बनाएर काम अगाडि बढाउने लक्ष्य लिएको बताए । उनले भने, 'हामीले हिमाल, पहाड तराईसम्म एउटा करिडोर निर्माण गर्ने र त्यो भनेको के हो भने, बाटोमा पर्ने यस्ता महत्त्वपूर्ण मठ मन्दिरहरु, पुल, ताल तलैयाहरु, ऐतिहासिक स्थलहरु, बनजंगलहरु र  पर्यटकीय सुन्दर ठाँउहरुलाई भौतिक पूर्वाधार सहितको बिकास गरेर लैजाने योजना रहेकोे छ।'

त्यो बीचमा भएका गाउँहरुलाई होमस्टेको रूपमा बिकास गरेर आर्थिक रूपमा पनि आम जनतालाई लाभ हुने गरेर हामीले धार्मिक पर्यटन क्षेत्रलाई अघि बढाउन खोजी राखेका छौं । यसमा तपाईंका मागहरु केके छन् प्रदेश सरकारबाट हुनुपर्ने सहयोग हामी गर्छौं । पहिले पनि केही सहयोग आएको छ मलाई लाग्छ तपाईंहरुको यत्रो ठूलो लगानी छ जनताको, प्रदेश सरकारले अब तपाईंहरुले के काम गर्न चाहनुहुन्छ यसका लागि सम्बन्धित मन्त्रालय मार्फत विधिवत रूपमा माग ल्याएर डकुमेन्ट प्रस्तुत गर्नुहोस् हामी तपाईंका मागलाई सम्बोधन गर्न तयार छौं।

कार्यक्रममा शिवशक्ति श्रीविद्यापीठका संरक्षक एक हजार आठ श्री निषेषानन्द महाराजले समाजलाई सही बाटोमा डोर्याउनको लागि धर्मको संरक्षणको आवश्यकता रहेको बताए । उनले आध्यात्मिक चेतना र योगबाट नै संस्कारको जन्म हुने भएकाले प्रत्येक घरबाट एकजनाले गुरुकुलिए शिक्षा अपनाउनुपर्नेमा जोड दिए ।  चन्द्रमौलीश्वर धाम परिसरमा शनिबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ फागुन ९ गते शिवरात्रीसम्म संचालन हुनेछ।

महायज्ञबाट संकलन भएको रकमबाट गुरुकुल विद्यालयको बिकासमा खर्च गरिने आयोजकले जनाएको छ । महायज्ञमा सातै दिन दैनिक पुजन, विबाह, ब्रतबन्ध लगायतका शुभकार्यक्रम हुनेछन् । स्वामी श्री निषेषानन्द जी महाराजको सत्संकल्पबाट सुरु भएको महायज्ञमा प्रखर भागवत वक्ता युवा पण्डित प्रभव धमालाको मुखारविन्दबाट संगीतमय कथा वाचन हुनेछ । भागवत कथा वाचन प्रत्येक दिन बिहान ११ बजेदेखि सुरु भइ अपरान्ह ४ बजेसम्म हुनेछ। 

महायज्ञ मूल आयोजक समितिका संयोजक चुडामणी भण्डारीको सभापतित्वमा भएको महायज्ञ उद्घाटन समारोहमा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट रहेका थिए । विशिष्ट अतिथिमा राष्ट्रिय सभा सदस्य कमला ओली र प्रदेश सांसद रतनबहादुर थापा रहेका थिए ।
चन्द्रमौलीश्वर धामका उपाध्यक्ष बद्रीप्रसाद लम्सालले स्वागत मन्तव्य राखेको कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका सभापति सुर्यबहादुर थापा, लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाई, उपप्रमुख टीका थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ