arrow

राष्ट्रिय लोकदोहोरी व्यवसायी सङ्घको अध्यक्षमा खत्री

logo
प्रकाशित २०७६ फागुन ४ आइतबार
lok_dohori.JPG

काठमाडौं । राष्ट्रिय लोकदोहोरी व्यवसायी संघको अध्यक्षमा रिमबहादुर खत्री निर्वाचित भएका छन् । संघको आइतबार सम्पन्न दोस्रो अधिवेशनले खत्रीको अध्यक्षतामा १५ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको हो ।

 संघको वरिष्ठ उपाध्यक्षमा दलमान गुरुङ, उपाध्यक्षमा शङ्कर गुरागाईं, दीपसागर थापा, प्रकाश कटवाल, महिला उपाध्यक्षमा माया गुरुङ, महासचिव गुणराज खनाल, सचिव भीम श्रेष्ठ, कोषाध्यक्ष नवराज पाण्डे र सहकोषाध्यक्षमा सविन पौडेल रहनुभएको छ । यस्तै सदस्यमा कमल विसी, नवीन बानियाँ, चरित्र विष्ट, दिलु सलामी र नीरा गुरुङ निर्वाचित भएका छन् ।

सो अवसरमा नेपाली कांग्रेसका नेता एवं सांसद भीमसेनदास प्रधानले दोहोरी साँझलाई मर्यादित पेशाका रूपमा विकास गर्दै लैजानुपर्ने बताए । “एक्काइस वर्ष उमेर समूहभन्दा कम उमेरका व्यक्तिलाई दोहोरी क्षेत्रमा प्रतिबन्ध गर्ने गरी सरकारले कानून बनाएर लागू गर्नुपर्छ”, उनले भने । पूर्वरक्षामन्त्रीसमेत रहेका प्रधानले राष्ट्रिय पहिचानका रूपमा लोकदोहोरी क्षेत्रको विकास गर्नुपर्ने बताए ।

काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले मुलुकको आर्थिक मेरुदण्डका रूपमा दोहोरी व्यवसाय भएकाले दर्ता गरेरमात्र व्यवसाय सञ्चालन गर्नुपर्ने बताए । सामुदायिक सेवा केन्द्र गोङ्गबुका अध्यक्ष राकेश सिंहले विकृति, विसङ्गतिमुक्त बसपार्क निर्माणका लागि दोहोरी साँझको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

संघका अध्यक्ष चूडाबहादुर कार्कीले लोकदोहोरी क्षेत्रमा रहेका समस्या समाधान गर्दै संघलाई सम्मानित पेशा बनाउनका लागि संघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । विसं २०६९ मा स्थापना भएको संघमा हाल काठमाडौँका ५० व्यवसायी आबद्ध रहेको संस्थापक अध्यक्ष हिक्मत शेरचनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ