- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
माघ महिना तुषारोको जाडो चिसो सबैतिर ठण्डी चलिरहेकै थियो । कलेज, स्कुलहरु विदा हुने समय हो यो । भाइ शाश्वत र मेरो कलेज जाडो विदा भएको हुनाले विदाको सदुपयोग गर्न बाबा रामचन्द्र घिमिरेले मम्मी गंगादेवी घिमिरे र म सहित पोखरा, चितवनको यात्रामा जाऔं भन्नुभयो । त्यसपछि हाम्रो कान्छो मम्मी शोभा घिमिरे र बाबु आभाषसहित पोखरा तर्फको यात्रामा निस्क्यौं ।
केही दिन अघि नै कान्छो बाबा शिवचन्द्र घिमिरेसँग बाबु शाश्वत पोखरा गईसक्नु भएको थियो । हाम्रो पहिललो गन्तव्य कान्छो बाबाको बासस्थान रहेको शिसुवा थियो । परिवारसँग घुम्न जाँदा छुट्टै किसिमको आनन्द थियो । ठाउँठाउँमा छोटो विश्राम लिदैं, मिठामिठा गफ गर्दै, सानोबाबुसँग जिस्किदै, खेल्दै, गीत सुन्दै, सुन्तला, मकै, चीज, भुजिया खाँदै रमाइलो गर्दै हाम्रो यात्रा अगि बढिरहेको थियो । दमौलीमा बाबाको भान्जिदिदी सुविद्या भट्टराईको निवासस्थान छ । त्यहाँ पुगेर एकछिन बस्यौं, दिदीको स्वास्थ्य र घरायसी कुरा गरेर पानी खाएर हाम्रो यात्रा फेरि अघि बढ्यो ।
दमौलीबाट केही किलोमिटर अगाडि बढेपछि म्याग्दे गाउपालिकाको केन्द्र रहेको ठाउँमा हाम्रो जमिन र घर छ । घर कोही नबसेर भत्किएको जस्तो देखियो । हिजो हामी सबैलाई खुवाउने र बास दिने घर, जमिनको यस्तो अवस्था भयो भनेर बाबाले हामीलाई सुनाउनु भयो । तर हामी यहाँ रोकिएनौं । हाम्रो यात्रा अघि बढीनै रहेको छ । माइलो बाबा पूर्णचन्द्र घिमिरेको ससुराली कोत्रेमा हामी पस्न भ्याएनौं । किनभने, सानोबाबु छटपट छटपट गरिरहेका थिए ।
हामी कतिखेर कान्छोबाबा बस्नुभएको ठाउँ कास्कि जिल्लाको शिसुवा तालचोक स्थीत न्यू लाईट माध्यमिक विद्यालयमा पुग्न हतारिरहेका थियौं । त्यहाँ पुग्दा बाबु शाश्वत र कान्छोबाबा शिवचन्द्रले हाम्रा लागि खाजामा थुक्पा बनाएर राख्नु भएको रहेछ । हाम्रो बाबा रामचन्द्रको मिठो खाजा हो थुक्पा, हामी सबै दिनभरको यात्रा रसिलो खाजा खान पाउदा शरिरको थकाई एकैछिनमा मेटियो । सानोबाबाले थुक्पा मिठो बनाउनु हुदो रहेछ । साच्चिकै स्वादिलो थियो त्यो थुक्पा ।
एकछिन विश्राम गरेर बाबा, मम्मी, बाबु शाश्वत र म पोखरा काँहुखोला स्थित हाम्रो ठूलो मामा रामभक्त पौडेलको निवासमा पुग्यौं । निवासमा भाइ अमोल र माईजु तारा पौडेल हुनुहुँदो रहेछ । माईजुले मिठो खाना बनाउनु भयो । मामा पनि आइपुग्नु भएपछि हामी सबै भएर खाना खायौं । सबैजना एकै ठाउँमा बसेर भाइ अमोलको ब्रतबन्धको बारेमा कुरा ग-यौं । अमोल निक्कै अग्ला भएका छन्, सानै उमेरमा पनि कम बोल्ने, परिपक्व जस्ता देखिन्छन् । त्यसपछि बाबु र बाबा एकछिन टिभी हेर्न थाल्नु भयो । हामी भने सुत्न लाग्यौं ।
मंगलबार मेरो ब्रत परेकोले विहानै उठेर नुहाएँ, पूजा गरे । हामी सबैले आफ्नो नित्यकर्म सकेर बाटुलेचौरस्थित ठूलो मम्मी नारायणी तिमिल्सिनाको निवासमा गयौं । त्यहाँ ठूलोबाबा पुष्पराज, ठूलोमम्मी, भाइ प्रभात हुनुहुँदो रहेछ । मैले खाना नखाने भएको हुदा मलाई अरुनै खानेकुरा बनाई दिनुभयो । अरु सबैले सँगैबसेर खाना खानुभयो । एकछिन हामी बसेर मिठामिठा कुरा गर्याैं र हिड्यौं ।
हाम्री ठूलो फुपुको निवास महेन्द्रपुल नजिक नयाँ बजारमा छ । हामी त्यहाँ गयौं । १०३ वर्षको हजुरआमा, फुपाजु मातृका सिग्देल, फुपु हरिमाया सिग्देल, दिदी अञ्जु, छोरी आर्या र मानष्वीसँग भेट भयो । नजिकै विशाल घर बन्दै गरेको हामीले गएर हे-यौं । घर भव्य र आकर्षक ढंगले बन्दै रहेछ । फुपुले छोरा आराध्यको ब्रतबन्ध चैतमा गर्ने हो फागुनको पहिलो हप्तासम्ममा हामी त्यो घरमा सर्छौं होला भन्नुभयो । हामी कुरा गर्दा गर्दै दिज्जु प्रमिला र भिनाजु कविराज सुवेदी आइपुग्नु भयो । तनहुँको पुट्टार हाम्रो बुढा हजुरबाको माओली रहेछ । उहाँहरुको सन्तान मध्येकै हाल पोखरा सिसुवामा बस्ने परिवारको विवाह कार्यक्रम रहेछ । हामी पनि संजोगले पोखरा आइपुगेको हुदा फुपुले हामीलाई पनि जान भन्नुभयो ।
फुपु हरिमायालाई हाम्रो मोटरमा राखेर म भने भिनाजु कविराजको मोटरमा बसे । हामी सबै विवाहमा सरिक हुन गयौं । पहिलो पटक देखेको भएपनि हामी भान्जाभान्जी भएको हुदा निक्कै आत्मिय स्पर्श पाइयो । मलाई अत्यन्त खुसी लाग्यो । हाम्रो हजुरबुवा रुद्रनाथ घिमिरेलाई संझदै एकजना बुवा रुनुभयो । हजुरबुवालाई भानिज दाजु भन्दै हुनुहुन्थ्यो, उहाँको गुन हामीले संझिरहेका छौं बाबु भनेर हाम्रो बाबालाई उहाँले भन्दै हुनुहुन्थ्यो । बाबाले आफुले संपादन गरेको किताव र शाश्वत बाबुको किताव लिन पठाएर उहाँलाई दिनुभयो । उहाँहरु खुसी हुनुभयो, शाश्वत बाबुलाई धेरै आर्शिवाद दिनुभयो । आफ्नो भनेको आफ्नै हुन्छ भन्ने अनुभूति यो विवाहले मलाई गरायो ।
फर्कने बेलामा हाम्रो मोटरमा फुपाजु मातृकालाई राखेर आयौं । रामघाटमा फुपाजुहरुको जग्गा भाडामा लिएर बनाएका ससाना पसलहरु देखाउन फुपाजुले हामी सबैलाई लैजानु भयो । हेरेर हामी घर तर्फ लाग्यौं । घर पुग्दा हाम्रो मोटर र कविराज भिनाजुको मोटर सँगै पुग्यौं । छोरी आर्या र मानष्वीले मिठो कफि बनाएर खुवाए । भुटेको मकै पनि खायौं । त्यसपछि विदा भएर हामी अमरसिंह चोक नजिक सूर्यकला दाहाल सानोमम्मीकोमा आयौं । नारायण अंकल बाहिर हुनुहुदो रहेछ । हामी पुगेको एकछिनमा आइपुग्नु भयो । नानीहरु सुजिना र सुमिना स्कुलको कार्यक्रममा नाचेर आउनु भएको रहेछ । उहाँहरुले खिचेको भिडियो देखाउनु भयो । नानीहरु सानै भएपनि क्षमतावान छन् । रमाइलो भइरहेको थियो । गफ गरिरहेका थियौं प्रसङ्गवस पोखरा महोत्सवमा जाने कि भन्ने कुरा आयो । नजिकै अमरसिंह चोकमा भएको र आज अन्तिम भएको हुदा खाना खाएर महोत्सव हेर्न जाने निर्णय ग¥यौं ।
गायक सिसन श्रेष्ठले “बुझ्नेलाई माया संसार” बोलको गीत गाउदै थिए । हामी गाउदै आनन्द लिदै रमाउनु थाल्यौं । बाबु, नानीहरु र म कोलम्बस खेल पनि खेल्यौं । महोत्सवमा केही फोटो खिचेर हामी फर्कीयौं । रातको १० बज्न लागेको थियो । माईजु तारा, मम्मी, बाबु, बाबा र म मामाको घरमा आयौं । सबैजना फ्रेस भएर हट्लेमन खायौं । दिनभरको हिडाईले हामी सबै थकित थियौं । बाबाले ड्राइभिङ्ग गर्नु भएको हुदा उहाँलाई हामीलाई भन्दा अझ बढी थकाई लागेको थियो होला । यसपछि हामी सबै सुत्यौं ।
साच्चिनै पोखरा प्रकृतिक सुन्दरताले भरिपूर्ण छ । यहाँबाट देखिने हिमालयको मनोरम दृश्य मनमोहक छ । यो पर्यटक स्थल पनि हो । यहाँका बाटाहरु फराकिला छन् । धुलो, धुवा रहितको वातावरण छ । पृथ्वीको सुन्दर सहर र मनोरम स्थान पोखरा हो । पोखरा जतिपटक घुमेपनि कहिल्यै अगाईदैन जस्तो लाग्छ मलाई । आहा कति रमाईलो हाम्रो ठाउँ पोखरा ।
बिहान उठेर नित्यकर्म सकेर हामी सबैले खाना खाएर अर्को यात्राको गन्तव्य चितवन तर्फको यात्रामा लाग्यौ । कोत्रेमा हामीले बा, आमालाई भेट्ने भनेर मोटर रोक्यौं । ढोकामा साचो लगाएको रहेछ । हामी अगाडि बढ्यौं । म्याग्देको हाम्रो पुख्र्यौली घरमा हामी पस्यौं । घर भत्कीएको रहेछ, बाबा, मम्मीले चारैतिर हेर्नुभयो । हाम्रो घर माथि ठूलोबाबा नरहरि आचार्यको घर–जग्गा रहेछ । बाबा, मम्मीले आफुहरुले पहिला गरेको कुरा हामीलाई सुनाउनु हुन्थ्यो । उहाँहरुको यादा ताजा भएको हुदा उहाँहरु खुसी देखिनु हुन्थ्यो । बाबा, मम्मीलाई खुसी देखेर बाबु र म पनि धेरै खुसी थियौं । हाम्रो घरको वरपरका घरमा पनि हामी पस्यौं । वरपरका सधियाराहरुको आत्मिय स्पर्श साच्चिकै अद्भूत थियो । उहाँहरुले हाम्रो हजुबालाई सझनु भयो । हजुरआमालाई सोध्नु भयो । हामी सबैप्रति खुसी प्रकट गर्नु भयो । साह्रै रमाइलो लाग्यो, यो मेरो घर हो भनेर मलाई मेरो भित्री मनले भन्यो ।
बाटोमा हामीहरुले विभिन्न प्रसङ्गका कुरा गर्दै, ठाउँहरुको अवलोकन गर्दै यात्रा ग¥यौं । हामी हाईवे छोडेर उकालो, घुमाउरो बाटो हुदै बन्दीपुर उक्लियौं । बन्दीपुरको रमाईलो दृश्यको अवलोकन ग¥यौं । पुरानो शैलीको घरहरुबाट हिमालको दृश्यावलोकन बेग्लै हुदो रहेछ । हिऊँ घामले टल्केको हेर्दा कस्तो आनन्द आयो । त्यसैले यहाँ धेरै पर्यटक पुग्नुको कारण पनि यहि हो जस्तो लाग्यो । पुरानो शैलीबका आधुनीक होटलहरु पनि रहेछ बन्दीपुरमा पर्यटकलाई आकर्षण गर्ने एक महत्वपूर्ण स्थान रहेछ बन्दीपुर । त्यसपछि केही तस्वीरहरु हामीले खिच्यौं । खाजा खायौ र हामी हाम्रो गन्तव्य तर्फ लाग्यौं ।
चितवनमा हजुरआमा १ महिना अघिदेखि विरामी पर्नुभएको कुरा हामी काठमाडौं हुदा नै थाहा पाएका थियौं । बाबा, मम्मीले हजुरआमा धेरै विरामी हुनुहुदो रहेछ भने काठमाडौं लिएर आउने कुरा गर्दै हुनुहुन्थ्यो । हामी ४ बजे चितवन पुगेर हजुरआमालाई भेट्यौं । हजुरआमा हामीले सोचेको भन्दा सन्चो र राम्रो अवस्थामा देखेर बाबा, मम्मी खुसी हुनुभयो । मामा मनोहरि पौडेल र भाइ सुसान्त घरमा नै हुनुहुदो रहेछ ।
माइजु रमा विवाहमा जानु भएको रहेछ । भाइ सुसान्तले चिया बनाएर खान दिए । नजिकै मम्मीको मामा हाम्रो ठूलो हजुरबुवा, हजुरआमालाई भेट्न गयौं । चितवन समथर भूभाग यहाँ अर्कै किसिमको रमणियता छ । यसपछि हामी गैडाकोट फुपाजु कृष्णशरण लम्साल र फुपु राधा लम्सालको निवासमा गयौं । बेलुकिको खाना खाएर गफ गर्न बसेको रातको १२ बजेको हामिलाई पत्तै भएन । बाबाले भोलिविहान चाडै उठेर मौलाकालीका देवीको दर्शन गर्न जाऔं भनेर बाबु र मलाई भन्नु भयो । मम्मीलाई उकालो उक्लन गाह्रो पनि होला, दिदीलाई पनि साथी बस, खाना बनाउनु भन्नुभयो ।
चितवनमा पनि हाम्रो थुप्रै इष्टमित्रहरु हुनुहुन्छ । चीरञ्जीवि पौडेल हरिकला पौडेल अंकल आन्टीको आमा स्वर्गारोहण हुनुभएकोले हामी उहाँहरुलाई भेट्न गयौं । त्यतैबाट फर्केर आउदा चन्द्रकान्त, शान्ति घिमिरे अंकल–आन्टीलाई भेट्यौं । त्यसपछि भुवनी, भागिरथी सापकोटा अंकल–आन्टीलाई भेट्यौं । घरमा आमा, बुवा र भाइ आवेश बहिनी सिर्जना सापकोटालाई भेट्यौं । सिर्जनाले मोही र मकै खाजा खुवाईन् । त्यसपछि हामी मामाघर शान्तिपुर निर्मला माइजुलाई भेटेर आमा, मामा, माइजु र बहिनीहरुलाई भेट्न हिड्यौं ।
हजुरआमा चिजमायाँ, माइजु सुनिता र बहिनीहरुले हाम्रो बाटो हेरेर बस्नु भएको रहेछ । मामा श्यामभक्त पौडेल भने आफ्नो पसलमा नै हुनुहुदो रहेछ । मामा आएपछि हामी सबैले खाना खायौं र सुत्यौं । विहान उठेर नित्यकर्म सकेपछि आमाले मलाई स्वस्थानी वाचन गर्न भन्नु भयो मैले स्वस्थानी वाचन गरे । खाना खायौं र हामी सबैसँग विदा मागेर काठमाडौं प्रस्थान ग-यौं । पारिवारिक यात्रा भएपनि साथी भाइसँगको यात्रा जस्तो छ हाम्रो यात्रा । सबैले सबैको माया, प्रेम गरिन्छ । बाबा, मम्मीले हामीलाई गर्ने माया देखेर म संझन्छु हामी भाग्यमानी छौं । यो यात्रा रमाईलोको साथै अविश्मरणीय पनि रहेको छ । (घिमिरे त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिचन्द्र कलेजमा एम.एस्.सी. केमेस्ट्री अध्ययनरत छिन्)