काठमाडौं। कोरोना भाइरस अर्थात् कोभिड–१९को प्रकोपले छिमेकी चीनमा महामारीको रुप लिएको छ। चीनसँगै सीमा जोडिएको नेपालमा संक्रमण नदेखिए पनि मान्छेको दैनिक जीवनमा भने प्रत्यक्ष प्रभाव परिरहेको छ। कोरोनाले प्रकोपको रुप लिनेवित्तिकै चिनियाँ नाकाहरु बन्द भए। नाकाबन्द हुनासाथ चीनबाट आयात हुने सामाग्रीहरुको अभाव हुने नै भयो। अहिले स–साना कुराहरुमा पनि प्रभाव देखिन थालेको छ। कोरोनाको सोझो आक्रमणबाट बच्न प्रयोग गर्ने गरिएको मास्क समेत अभाव भएको छ।
पूर्ण रुपमा सुरक्षित मानिएको एन–नाइन्टी फाइभ मास्क पाउन त कठिन हुने नै भयो । नेपालमै उत्पादन हुने सर्जिकल मास्कको समेत अभाव भएको छ। विक्रेताहरुले सामान्य पेपर मास्क पनि छैन, भन्न थालिसके । एकातिर मास्कको अभाव र अर्कोतिर कालोबजारीको मारमा छन्, प्रयोगकर्ता।
नेपालमा ७५ प्रतिशत मास्क चीनबाट आयात हुने गरेको छ। तर, चीन आफैँलाई मास्क अभाव भएपछि पठाउन छाड्यो। चीनबाट ७५ र भारतबाट २५ प्रतिशत मास्क आउने गरेकोमा चीनले जनवरी ३१ मा मास्क पठाउन रोक्यो। नेपालमा मास्क उत्पादन गर्ने ठूला कम्पनी छैनन्। साना कम्पनीले उत्पादन गरेका मास्कले बजार धान्ने सरकारी दाबीलाई कोरोना भाइरसले चुनौती दियो। अहिले नेपालमै उत्पादन भएको मास्क पनि सजिलै पाउन छाड्यो । कि महँगो तिर्नु पर्ने हुन्छ, कि त सामान्य कपडाको मास्क लगाएर हिँड्नु पर्ने हुन्छ।
मास्क नपाएपछि फार्मेसीवालाहरु पनि तनावमा छन् । शिवशंकर फार्मेसीका विनोद अधिकारीले भने, ‘बजारमा मास्क नआएको एक डेढ हप्ता भइसकेको छ। मैले पहिले ल्याएको मास्क बेचिसकेर फेरि ल्याउन खोज्दा पाइन।’ मास्कको मूल्य बढेकोबारे भने आफुलाई थाहा नभएको उनले बताए। उनले भने, ‘खोई, मैले त ल्याएकै मूल्यमा बेचिरहेको छुँ। खुल्ला एक पिसको ५ रुपैयाँ पर्छ । मैले त्यसैमा बेचिरहेको हो । हामीले प्याकेट किन्यौँ भने १२० पर्छ । कम्पनी अनुसार रेट फरक हुन्छ । ग्राहकले त्यही प्याकेट किन्दा २०० पर्छ ।’
अधिकारीले पेपर मास्क एक पिसको ५ रुपैयाँ लिएपनि अन्य फार्मेसीवालाले १० देखि १५ रुपैयाँ लिइरहेका छन् । सामान्य पसलेहरुले त २० देखि २५ रुपैँया पनि लिएको भेटियो । औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहाल पनि नेपालमा मास्क नै नपाउन छाडेको बताउँछन् । उनले भने, ‘नेपालमा नै मास्क उत्पादन गर्न त्यसलाई चाहिने कच्चा पदार्थ भारतबाट ल्याउनुपर्ने हुन्छ, जसमा भन्सार कर ३५ प्रतिशतसम्म लागत लाग्छ तर तयारी मास्क ल्याउँदा १५ प्रतिशत मात्र भन्सार लाग्ने हुँदा नेपालमा मास्क उत्पादन कम भएको हो ।’ नेपालमा सबैभन्दा बढी मास्क चीनबाटै आउने गरेको उनले पनि बताए।
उनका अनुसार एन–नाइन्टी फाइभ मास्क चीनबाट आयात गरिन्थ्यो, जसको नेपाली मूल्य २ सयदेखि ५ हजारसम्म पर्छ तर पछिल्लो समयमा मास्कको अभाव हुन थालेपछि त्यसको पनि कालोबजारी बढ्यो। चीनको वुहानमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा समेत मास्क र स्यानिटाइजको कृत्रिम अभाव भएको हो। विशेषज्ञका अनुसार नेपालमा उत्पादन हुने सर्जिकल मास्क हो, जुन मास्क चिकित्सकले बिरामीको शल्यक्रिया गर्दा नाक, मुखबाट थुकका छिटा नजाओस् भनेर प्रयोग गरिन्छ । सर्जिकल मास्कले आँखाले नदेख्ने प्रदूषण भने रोक्दैन, भन्छन् विशेषज्ञहरु।
औषधि व्यवस्था विभागले बजारमा मास्कको अभाव देखिन सक्ने भन्दै माघ १७ गते रसायन तथा मेडिकल आपूर्ति संघलाई चिठ्ठी नै लेखेर ग्लोभ्स, मास्क, र ह्यान्ड स्यानीटरी सामग्रीको मौज्दात राख्न आग्रह गरेको छ। तर, नेपालमा धेरै औषधि र स्वास्थ्य सामाग्री विरण गर्ने नेपाल सिआरएस कम्पनीले भने अहिलेसम्म मास्क वितरण गरेको छैन । मास्क वितरण गर्नु परे सिआरएसले पत्रिकामा टेण्डर नै निकाल्नु पर्छ । सिआरएसका एक जना पदाधिकारीले भने, ‘अहिलेसम्म मास्कको वितरण गरिएको छैन।’ बजारमा कृत्रिम अभाव हुँदा पनि सरकारी निकाय भने मौन प्राय छन् । मास्क अभाव भएको भन्दै व्यवसायीहरूले भने ५ रुपैयाँ पर्ने सर्जिकल मास्कलाई २० देखि २५ रुपैयाँसम्म लिने गरेका छन् भने एन नाइन्टिफाइभ मास्क जसको मूल्य ७ सय पर्नेलाई ६ हजारसम्म लिएको घटना फेला परेको छ ।
औषधि व्यवस्था विभाग मास्कमा भएको भनिएको कालोजारी आफूले हेर्न नमिल्ने बताउँछ । मन्त्रालय अन्तर्गतको उपभोक्ता हित संरक्षण विभागले भने औषधि व्यवस्था विभागसँग मास्कबारे जानकारी राख्ने व्यक्तिलाई अनुगमन टोलीमा राख्न औषधि व्यवस्था विभागसँग नाम मागिएको जानकारी दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकाल मुलुकभित्रै आवश्यक मास्कको माग स्थानीय उत्पादकले नै पूरा गर्न सक्ने बताउँछन्।
अस्पताल र साधारण प्रयोगमा ल्याउन सकिने सर्जिकल मास्क नेपालमा उत्पादन गर्ने व्यवसायीहरूले कच्चा पदार्थको मूल्यमा बढी भन्सार लाग्ने हुँदा आफूहरूलाई चीनबाट आयात गरिने मास्कहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको बताएका छन्।
धुलिखेलस्थित मास्क उत्पादन गर्ने उद्योग क्लिन सिटी प्रालिका सञ्चालक सुकदेव जोशी भन्छन्, ‘हाम्रो फ्याक्ट्री एक हिसाबले डुबिसकेको छ किनभने हामीले उत्पादन लागतको आधा पैसामा मास्कहरू बेच्नुपर्छ । हामीले ३५ प्रतिशतसम्म कच्चापदार्थका लागि भन्सार शुल्क तिर्छौँ तर आयातकर्ताहरूले तयारी अवस्थाको मास्कका लागि १५ प्रतिशत भन्सार तिरे पुग्छ ।’ यस्तै, चिकित्सकले कोरोना भाइरसकै कारण मास्कको पछाडि दौडिनु नपर्ने बताएका छन् । उनीहरु भन्छन्–मास्क नपाउँदा कपडाको मास्क प्रयोग गर्न सकिन्छ । मास्ककै लागि मरिहत्ते गर्नु पर्दैन ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुन कोरोनाकै लागि भनेर मास्क लगाइरहनु पर्दैन, भन्छन् । उनका अनुसार कोरोना भाइरस सर्ने संक्रिमतको प्रत्यक्ष सम्पर्कमा आए मात्रै हो।