- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। स्याटेलाइटबाट इन्टरनेटको लागि अहिले विभिन्न कम्पनीहरुले काम गरिरहेका छन्। उनीहरु स्याटेलाइटको माध्यमबाट इन्टरनेट सेवा प्रदान गर्दै अहिले विश्वले इन्टरनेटका लागि भोगिरहेको भौगोलिक अवस्थाबाट भने पार पाउन सहयोग पुग्नेमा कुनै दुईमत छैन। त्यसैले यो योजना साकार पार्न अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले भने स्याटेलाइटबाट इन्टरनेट प्रदान गर्ने दिशामा अघि बढिरहेको छ।
अहिले कम्पनीले विभिन्न चरणमा गरी स्याटेलाइट प्रक्षेपण गरिसकेको छ। यसले मानिसहरुमा अबको केही समयमा नै स्याटेलाइटबाट इन्टरनेट सेवा पाउने आशा धेरै मानिसहरुले गर्न थालिसकेका छन्। तर, मानिसहरुको यस किसिमको आशा पूरा गर्न अहिले अन्तरिक्षमा सबैभन्दा ठूलो अवरोधको सामना गर्नुपर्ने जरुरी छ। यो अवरोध अन्तरिक्षमा देखिएको फोहोर हो। अन्तरिक्षको फोहोरले अन्तरिक्षको मिशनको लागि निकै ठूलो जोखिम थपेको छ। यसैबीचमा अन्तरिक्षको फोहोरको विषयमा अनुसन्धान तथा नियमनको माग पनि उठिरहेको छ।
के हो अन्तरिक्ष फोहोर ?
कुनै पनि स्थानमा काम नलाग्ने र ठाउँ ओगटेर अल्झाउने वस्तु नै फोहोर हुन्। त्यस्तै फोहोर अन्तरिक्षमा पनि छ, त्यो पनि पृथ्वीको कक्षमा। यसले अहिले सञ्चालनमा रहेका स्याटेलाइटमाथि पनि खतरा बढेको छ। स्याटेलाइट सेवा अहिलेको निकै महत्वपूर्ण बन्दै गएको अवस्थामा स्याटेलाइट माथि नै अर्को चुनौती देखिनु भने पक्कै पनि राम्रो संकेत होइन।
अहिले मानिसको जीवनलाई सहज बनाउने दूरसञ्चार, रेडियो, टेलिभिजन, इन्टरनेटलगायतका सबै सेवाहरु स्याटेलाइटको कारणबाट नै काम गर्न सक्छन्। अहिले प्रत्येक २ देखि ३ महिनामा कुनै न कुनै मुलुकले आफ्नो उपग्रह छाड्ने गरेका छन्। तर, यसरी छाडिने यी उपग्रहहरुबाट एक खतरा पनि उत्पन्न भइरहेको छ । यसबारे धेरैले ध्यान त दिइरहेका छन् तर प्रभावकारी कदम भने कसैले पनि चालेका छैनन्।
अहिलेसम्म प्रक्षेपण गरिएका स्याटेलाइटमध्ये आधाभन्दा धेरै त काम नलाग्ने स्याटेलाइट छन्। त्यसका साथै स्याटेलाइट प्रक्षेपण गर्दा प्रयोग हुने विमान र त्यसको बाहिरी भाग अन्तरिक्षमै रहन्छ । यसले अन्तरिक्षमा हुने फोहोर बढाउँछ। यी फोहोर स्याटेलाइटजस्तै अन्तरिक्षमा घुमिरहन्छन्। यसले कुनै पनि समयमा स्याटेलाइटसँग यी फोहोर ठोक्किएर स्याटेलाइट ध्वस्त हुने समस्या हुन्छ।
सन् १९५० को दशकयता अहिलेसम्म अहिलेसम्म ५ हजार स्याटेलाइट प्रक्षेपण भएका छन्। यी पाँच हजारमध्ये केवल २ हजारले मात्र राम्रोसँग काम गरिरहेका छन्। यीनै मानव निर्मित उत्पादनहरु नै अन्तरिक्षमा फोहोरको रुपमा चिनिन्छन् । यूरोपेली अन्तरिक्ष नियोगका अनुसार अहिले अन्तरिक्षमा २२ हजार ३ सय टुक्रा अन्तरिक्षमा पहिचान गर्न सकिने किसिमका छन्। तर त्यस्ता हजारौं टुक्रा भने पहिचान गर्न नसकिने अवस्थामा छन्।
पछिल्लो समय अन्तरिक्षको फोहोरको विषय झन् झन् जटिल बन्दै गएको छ। त्यसैले अहिले अन्तरिक्षमा कुनै फोहोर बाँकी नराखी स्याटेलाइट प्रक्षेपण गर्ने विमान पनि निर्माण गरिएको छ। साथै अन्तरिक्षको फोहोर सफा गर्ने विषयमा पनि आवाज उठिरहेको छ। सन् २००९ मा दुई स्याटेलाइट आपसमा ठोक्किँदा त्यसबाट २ हजार ३ सय टुक्रा निस्किएको छ। त्यसका साथै पछिल्लो समय विभिन्न मुलुकले प्रयोग गर्ने एन्टि स्याटेलाइट मिसाइल सबैभन्दा ठूलो समस्या हो।
सन् २००७ मा चीनले एन्टि स्याटेलाइट मिसाइलबाट ध्वस्त पारेको थियो। यसले अन्तरिक्षको फोहोर २५ प्रतिशत बढेको थियो। सन् २००९ मा भारतले पनि त्यस्तै किसिमको मिसाइल प्रहार गरेको थियो। यस किसिमको कार्यले आगामी दिनमा अन्तरिक्षको फोहोर झनै बढ्न सक्ने बताइएको छ। अन्तरिक्षको फोहोर बढेसँगै अन्तरिक्षमा स्याटेलाइटको सुरक्षाको जोखिम पनि बढेको छ। अन्तरिक्षमा घुमिरहेको स्याटेलाइटको गति पनि धेरै हुन्छ। त्यसैले फोहोरसँग यी स्याटेलाइट ठोक्किने र त्यसका टुक्रासँग पनि टुक्राहरु ठोक्किँदै जाने र फोहोर बढ्दै जाने जोखिम हुन्छ । त्यसैले त्यसबाट बच्न बेलैमा सही कदम चाल्नु जरुरी रहेको छ।
वास्तविक मुद्दा के हो ?
अहिले सबैभन्दा ठूलो चिन्ताको विषय विभिन्न विभिन्न कम्पनीले प्रक्षेपण गर्ने हजारौं स्याटेलाइट हो। यी कम्पनीमध्ये स्पेसएक्स पनि एक हो। उसले इन्टरनेट प्रदानका लागि विभिन्न चरणमा गरी स्याटेलाइट प्रक्षेपण गरिसकेको छ। यो कार्यक्रमबाट पृथ्वीको सबैभन्दा विकट क्षेत्रमा पनि इन्टरनेट सेवा पुग्ने अपेक्षा स्पेसएक्सको छ। उसलाई वानवेबले पनि स्याटेलाइट प्रक्षेपण गरिहेको छ।
अहिले अन्तरिक्षमा रहेको फोहोर अन्तरिक्षमा पठाइने मानिससहितको रकेट वा अन्तराराष्ट्रिय स्पेस स्टेशनमा पनि ठोक्किन सक्छ। यो सबैभन्दा ठूलो चुनौती हो। अहिले अन्तरिक्षको वातावरणको सुधार गर्नु निके महत्वपूर्ण रहेको बेलायतको नर्थम्बुरा यूनिभर्सिटीका प्रोफेसरले बताएका छन्। पछिल्लो समय लगातार प्रक्षेपण भइरहेका रकेट तथा स्याटेलाइटले पृथ्वीको कक्षमा निकै भीडभाड पनि बढिरहेको छ। अन्तरिक्षको सबै स्थान यति धेरै जोखिमपूर्ण छैन। तर, पृथ्वीको स्याटेलाइट अटाउने क्षेत्रमा भने भीनभाड बढेको हो। यसले कुनै पनि स्याटेलाइटको काममा असर पार्न सक्छ।
के काम भइरहेका छन् त ?
अन्तरिक्षको फोहोर सफा गर्न केही आधिकारिक योजना अघि सारिएका छन्। गत वर्ष यूरोपेली अन्तरिक्ष नियोगले अन्तरिक्षको फोहोर सफा गर्न एक कार्यक्रम अघि सारेको थियो। उसले कसरी अन्तरिक्षको फोहोर सफा गर्न सकिन्छ भनेर एक भिडियो पनि सार्वजनिक गरेको थियो। त्यसको लागि एक विमान अन्तरिक्षमा पठाइनेछ र त्यसले त्यहाँको फोहोर संकलन गरेर आउनेछ। यो योजना सन् २०२५ मा मात्र शुरु हुनेछ।
जापानको अन्तरिक्ष नियोग जाक्साले पनि अन्तरिक्षको फोहोर सफा गर्ने योजना अघि सारेको छ। उसको योजना भने सन् २०२२ देखि शुरु हुनेछ। विज्ञहरुले पनि अहिले अन्तरिक्षमा फैलिएको फोहोरप्रति चिन्ता व्यक्त गर्दै तत्काल यो समस्या समाधान गर्नु जरुरी रहेको बताइसकेका छन्। अन्तरिक्षमा बढ्दो फोहोरको विषयमा भने स्पेसएक्सले कुनै जानकारी दिएको छैन। अहिलेको गतिमा अन्तरिक्षमा फोहोर बढ्नाले सूर्यको प्रकाश पनि मधुरो बन्दै गएको बताइएको थियो । साथै अबको केही वर्षमा नै अन्तरिक्षको यात्रा पनि सम्भव नहुने बताइएको छ।
त्यसो त पछिल्लो केही समययता केही कम्पनीले अन्तरिक्षमा भ्रमणका लागि मानिस पठाउने योजना पनि त्याएका छन्। तर, सो योजना पूरा गर्न भने निकै ठूलो कसरत गर्नुपर्ने देखिन्छ। त्यसको लागि पनि अहिले देखिएको अन्तरिक्षको फोहोर एक समस्या बन्ने निश्चित छ। त्यसका साथै अहिले हामीले प्रयोग गरिरहेको हरेक कुरामा पनि यस किसिमको फोहोर बढ्ने हो भने समस्या नआउला भन्न सकिँदैन। स्याटेलाइट अन्तरिक्षमा रहनसक्ने अवस्था भएन भने अहिले काम गरिरहेका स्याटेलाइटलाई पनि जोखिम हुनु स्वाभाविक हो।