arrow

जुर्मुराउँदै मधेशको पर्यटन

logo
सिबी अधिकारी, रासस,
प्रकाशित २०७६ फागुन १० शनिबार
janakpur1.jpg

राजविराज। तराई–मधेश अर्थात् मिथिला संस्कृतिको समृद्ध क्षेत्र। मधेशको पर्यटन भन्नासाथ धनुषाको जनकपुरधामलाई लिइन्छ। यो क्षेत्र जानकी मन्दिरका कारण पनि मिथिला संस्कृतिको पर्यायवाची बनेको छ। तर मिथिला सभ्यता–संस्कृतिमा जनकपुरजत्तिकै ऐतिहासिक धार्मिक महत्वको सप्तरी भने पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको छ।

सप्तरीको पर्यटन विकासमा सेतुको भूमिका निर्वाह गरेको छ हवाई यातायात सेवाले। सप्तरी हनुमान नगरका देवेन्द्र झालाई पनि राजविराज विमानस्थलमा हवाई जहाज सेवा शुरु भएपछि जिल्लाको मुहार फेरिने आशा पलाएको छ। उनी भन्छन्, “सप्तरी मिथिला संस्कृति र धार्मिक पर्यटनको प्रचूर सम्भावना भएर पनि ओझेलमा परेको छ, अहिले जहाज ओहोरदोहोर गर्न थालेपछि मानिसको चहलपहल बाक्लिएको छ, पर्यटनका गतिविधि बढ्ने देखिन्छ।”

विश्वप्रसिद्ध हनुमान मन्दिर हनुमानको कालो मूर्तिले प्रख्यात छ। तत्कालीन समयमा सप्तकोशीले आफ्नो धार परिवर्तन गरेपछि हनुमानगर डुबानमा पर्‍यो। हनुमान मन्दिरको नजिक आइपुगेपछि कटान रोकियो। सदरमुकाम राजविराज सारियो। मधेश पर्यटन भन्नसाथ जनकपुरको सम्झना आउने भए पनि जनकपुरलाई बिर्साउने पर्यटकीय सम्भावना सप्तरीले बोकेको साहित्यकार धीरेन्द्र प्रेमर्षी बताउछन्।

राजविराजको आफ्नै ऐतिहासिक महत्व छ। देशकै पहिलो योजनाबद्ध सहर। दुई हजार वर्षदेखि मिथिला संस्कृतिको विकास भएको सप्तरी मन्दिर र पोखरीको जिल्ला भए पनि पर्यटकीय दृष्टिकोणबाट निकै पछि परेको साहित्यकार प्रेमर्षीको भनाइ छ। “सांस्कृतिकरुपले मिथिला संस्कृतिको केन्द्रका रुपमा जनपुरको चर्चा हुन्छ तर जनकपुर बजारमा बढी छ, व्यवहारमा सिरहा, सप्तरी, सुनसरी, मोरङलाई मिथिला संस्कृतिको क्षेत्र मानिन्छ”, साहित्यकार प्रेमर्षीले भने।

अघिल्लो वर्षदेखि राजविराज विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आएको छ। श्री एयरलाइन्सको ठूलो जहाजले सेवा आरम्भ गरेको यो विमानस्थलमा अहिले बुद्ध एयरले एटिआर ७२ जहाजबाट काठमाडौँ–राजविराज दैनिक उडान गरिरहेको छ। बुद्ध एयरका राजविराज स्टेशन म्यानेजर अनिल राजवंशीले यो रुटमा फूल अकुपेन्सीका साथ बुद्धले उडान गरिरहेको बताए। राजधानी काठमाडौँदेखि राजविराजको झण्डै ३५ मिनेट अवधिको उडान हुन्छ। यो उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुलाई सुविधा पुग्नेछ।

राजविराजमा हवाई सेवाले सप्तरी मात्र नभई समग्र तराई क्षेत्रको पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रदेश नं २ का आठ जिल्लाको पर्यटन विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ। जनकपुर र सिमरामा पहिलादेखि नै हवाई सेवा थियो। राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण शहर हो। यहाँबाट छिन्नमस्ता, बराहक्षेत्र, कोशीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ। सीमापारिका सहर्सा, सुपौल, निर्मली, वीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडिया र लौकहालाई पनि सजिलैसँग जोड्न सकिन्छ।

छिन्नमस्ता भगवती मन्दिरका पिठाधीश महाकान्त ठाकुर राजविराजमा हवाइजहाजको नियमित उडानले राजधानी काठमाडौँका पाहुनालाई मधेशभर र विहारका मन्दिर तथा मधेश र विहारका पाहुनालाई पशुपतिनाथ दर्शनमा लैजान सकिने सम्भावना रहेको बताउछन्। सप्तरी र आसपास क्षेत्रको मात्र नभई प्रदेश नं २ को पर्यटकीय सम्भावना खासगरी धार्मिक पर्यटन प्रवद्र्धनलाई ध्यान दिएर राजविराज गन्तव्यमा उडान गरिएको बुद्धका सूचना व्यवस्थापक दीपेन्द्रकुमार कर्णले बताए।

होटल एशोसिएसन सप्तरीका अध्यक्ष शैलेश चौधरी पनि राजधानीसँगको हवाई सम्पर्क विस्तार भएसँगै यहाँको पर्यटन फस्टाउने बताउछन्। सदरमुकाममा अहिले तीन वटा मात्र सुविधायुक्त होटेल छन्। अथाह पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको सप्तरीको पर्यटन विकासका लागि सरोकार भएका निकाय पनि कस्सिएका छन्।

भ्रमण वर्ष अभियान प्रदेश नं २ का संयोजक मनिष झाले अन्तर निकायको समन्वय तथा सहयोगमा सप्तरीको पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवद्र्धनको कामलाई प्रभावकारीरूपमा अघि बढाइने बताए। सप्तरीको पर्यटन विकासका लागि सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले सहयोग गर्ने भए पनि स्थानीय सरोकारवालाले स्वामित्व नलिएसम्म पर्यटन विकास नहुने संयोजक झाको भनाइ थियो।

धार्मिक हिसाबले महत्वपूर्ण राजविराजमा प्रख्यात हनुमान मन्दिर, छिन्नमस्ता, कङ्कालिनी आदि मन्दिर पर्यटक तथा भक्तजनको केन्द्रविन्दु मानिन्छ। यी मन्दिरको दर्शनका लागि नेपालभरि तथा भारतका विहार, उत्तर प्रदेश, आसामलगायत राज्यबाट भक्तजन आउने गर्छन्।

सप्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष किशोरकुमार प्रधान पनि पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको सप्तरीमा आउने पर्यटकलाई राजधानी लैजान सके आर्थिक समृद्धिमा समेत टेवा पुग्ने बताउछन्। राजविराज नगरपालिकाका नगर उपप्रमुख साधना झा पर्यटकीय सम्भावना भएर पनि सप्तरी ओझेलमै रहेको भन्दै पर्यटकीय पूर्वाधार र सेवास्तरीकरणका कामलाई सँगै अघि बढाइने बताउछन्।

नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये बिदा र मनोरञ्जनपछि धार्मिक क्षेत्रमा आउने पर्यटक बढी छन्। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ६२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यसमध्ये १४ प्रतिशत धार्मिक पर्यटक रहेका छन्। त्यस्तै सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो सङ्ख्यामा पनि उल्लेख्यरुपमा धार्मिक पर्यटक छन्। नेपाल आउने पर्यटकमध्ये तराई–मधेश घुम्न करिब १० प्रतिशत पर्यटक निस्कन्छन्। उनीहरुको बसाइँ अवधि दुई दिनको हुन्छ भने दैनिक औसतमा ११ डलर खर्च गर्छन् । सन् २०१८ को तथ्याङ्कमा नेपाल आउने पर्यटकले कम्तीमा १२ दिन बस्ने र दैनिक ४५ डलर खर्च गर्ने देखाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ