arrow

प्रधानमन्त्रीद्वारा खोरुङ्गाखोला आयोजना उद्घाटन

logo
रासस,
प्रकाशित २०७६ फागुन १० शनिबार
pm-oliss.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले खोरुङ्गाखोला साना जलविद्युत् आयोजनाको आज उद्घाटन गरेका छन्। तेह्रथुम पावर कम्पनीले निर्माण गरेको कूल ७.५ मेगावाट क्षमताको सो आयोजना आज उनले आफ्नै निवास बालुवाटारमा रहेको ‘एक्सन रुम’बाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन्।

उद्घाटनलगत्तै तेह्रथुमको खोरुङ्गामा निर्माण भएको सो आयोजनाले आजदेखि व्यवसायिक विद्युत् उत्पादन शुरु गरेको छ। प्रधानमन्त्रीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्नका लागि सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढिरहेको बताए। नेपालको जलविद्युत् उत्पादनको इतिहासमा निजी क्षेत्रले गरेको योगदान महत्वपूर्ण रहेको भन्दै उनले समयभन्दा अगावै आयोजना सम्पन्न गरेकामा प्रवद्र्धक कम्पनीलाई धन्यवाद दिए।

सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई राखेको उल्लेख गर्दै सबैको सार्थक प्रयासबाट मात्रै सफलता हासिल हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री ओलीले आयोजना समयमै सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै कम्पनीका प्रबन्ध सञ्चालक मोहन डाँगीलगायत सम्पूर्ण लगानीकर्ता तथा तेह्रथुमवासीलाई आभार व्यक्त गरे।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायतको उपस्थिती थियो। गत माघ २६ गतेदेखि सो आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो। कम्पनीका प्रबन्ध सञ्चालक डाँगीका अनुसार आयोजनाबाट उत्पादन भएको विद्युत् विद्युतगृहदेखि ४.७ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको जिरी–खिम्ती सवस्टेशनमार्फत राष्ट्रिय प्रणालीमा जोडिएको छ। सवस्टेशनसम्म आवश्यक पर्ने ३३ केभी क्षमताको प्रसारण लाइन प्रवद्र्धक कम्पनी आफैँले निर्माण गरेको प्रबन्ध सञ्चालक डाँगीको भनाइ छ।

समयमा काम नगरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खारेज गरेका आयोजनामध्ये एक हो खोरुङ्गाखोला आयोजना। “ठूलो मेहनत गरेर आयोजना निर्माण सम्पन्न गरी उद्घाटन गराउन पाउँदा मलाई असाध्यै खुशी लागेको छ”, प्रबन्ध सञ्चालक डाँगीले भने, “काम शुरु भइसकेको आयोजनालाई काम नभएको भन्दै आयोगले अनुमतिपत्र नै खारेज गरिदिएको थियो। तीन वर्षको अवधिमा विद्युत् खरिद बिक्री सम्झौता, वित्तीय व्यवस्थापन गरी आयोजना नै सम्पन्न गर्‍यौं।”

विसं २०७३ माघबाट निर्माण शुरु भएको आयोजनाको गत पुस पहिलो साता नै निर्माण सम्पन्न गरिएको थियो। नेपाल विद्युत् प्राधिकरणले आवश्यक परीक्षण गरी १५ दिन परीक्षण उत्पादन गरिएको थियो। आवश्यक तयारी तथा अन्य प्राविधिक परीक्षण पछि आजदेखि व्यावसायिक उत्पादन शुरु भएको हो।

स्थानीय खोरुङ्गाखोलाको पानी इवाखोलामा झारेर विद्युत्गृहमा पठाइ  विद्युत् उत्पादन गर्ने गरी डिजाइन गरिएको छ। आयोजनाको शुरुमा कूल लागत रु एक अर्ब ३७ करोड अनुमान गरिए पनि रु एक अर्ब ३२ करोडमात्रै खर्च भएको छ। आयोजनाको प्रतिमेगावाट लागत करिब रु  १७ करोड ६० लाख छ। आयोजनामा स्वपूँजी २७ प्रतिशत र बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ७३ प्रतिशत छ। आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा नेपाल बङ्गलादेश बैंक र साविकको जनता बैंकले ऋण लगानी गरेका छन्।

आयोजनाको हाइड्रोमेकानिकलको काम श्रीभगत् कन्स्ट्रक्शन, इलेक्ट्रोमेकानिकलतर्फ एण्ड्रिज हाइड्रो रहेको छ।  आयोजनाको विद्युत्गृह तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिका ६ मा पर्दछ। आयोजनाको  इन्टेक र एलाइन्मेन्ट भने वडा नं ४ र ५ मा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ