arrow

कोरियामा कोरोना फैलिने क्रम तिब्र

logo
एएफपी,
प्रकाशित २०७६ फागुन ११ आइतबार
coronavirus-molecular.jpg

सोल। दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण तिब्र रुपमा फैलिएको पाइएको छ ।

केहीदिनदेखि सङ्क्रमितहरुको संख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५६ पुगेको छ । 

त्यसैगरी मृत्यु हुनेको संख्यामा पनि दुई जना थपिएर चार जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

मृत्यु भएका चार जनामध्ये एक पुरुषको चेङ्दुस्थित अस्पतालमा मृत्यु भएको हो । देशको दक्षिणी क्षेत्रमा पर्ने सो सहरमा रहेको अस्पतालमा अरु १०० जना विरामी रहेका छन् ।

पछिल्लो समयमा भेटिएका सङ्क्रमितमध्ये ७५ जना अर्को दक्षिणी सहर डाएगुमा रहेको शिन्चेन्जी इसाई चर्चमा भेटिएका हुन् ।

कोरियाली प्रकोप नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारी अनुसार चर्चमा सहभागी भएका मध्ये सयौंलाई कोरोना सङ्क्रमण भएको छ । चर्चमा पहिलो सङ्क्रमण यही फेब्रुअरी १० तारिखका दिन ६१ बर्षीया एक महिलामा देखिएको थियो । त्यही नै पछि फैलिंदै गएको अधिकारीहरुले जनाएका छन् ।

कोरियाको डाएगु सहर देशकै चौथो ठूलो शहर मानिन्छ जहाँ २५ लाख मानिस बस्छन्। 

यसैबीच दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरोना भाइरस नियन्त्रणका लागि देशभरी सबैभन्दा उच्च सतर्कता अपनाइएको बताउनु भएको छ ।

सङ्क्रमित हुनेहरुको संख्या एकाएक अत्यधिक तिब्र गतिमा बढ्न थालेपछि सतर्कता बढाइएको उनले आइतबार जानकारी दिए । 

आगामी केही दिन सङ्क्रमणकालीन अवस्था रहने भएकाले नियन्त्रण तथा उपचारमा पर्याप्त ध्यान दिनु पर्ने उनको भनाई छ ।

राष्ट्रपति मुनले भाइरस नियन्त्रणका लागि अपनाउनु पर्ने उपायहरुका बारेमा छलफल तथा तयारी भइरहेको पनि जानकारी दिए ।

“सरकारले भाइरस नियन्त्रणका लागि पर्याप्त गृहकार्य र सतर्कता अपनाएको छ, ती सबै काम विज्ञहरुको सुझावका आधारमा गरिएको छ,” उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ