arrow

कतारले क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न चाह्यो

logo
प्रकाशित २०७६ फागुन १२ सोमबार
Hon_Sapkota_and_HE_Yousuf_1.JPG

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसुफ बिनले आज शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत युसुफले सभामुख सापकोटालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

सभामुख सापकोटाले ४२ बर्षदेखि नेपाल र कतारबीच मित्रवत सम्बन्ध रहेको स्मरण गर्दै यस्ता भेटले सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे । उनले भ्रमण बर्ष २०२० मा सहयोग गर्ने कतारको प्रतिबद्धताप्रति धन्यवाद पनि ज्ञापन गरे ।

सभामुखले सन् २०२२ मा कतारले आयोजना गर्न लागेको विश्वकप फुटबलको सफलताको शुभकामना व्यक्त गरे । उनले विश्वव्यापी रुपमा देखिएका जलवायु परिवर्तन लगायतका समस्या समाधनका लागि नेपाल र कतारले संयुक्त रुपमा पहलकदमी लिनुपर्ने बताए ।

भेटमा राजदूत युसुफले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलको तयारीमा कतारमा कार्यरत नेपाली श्रमिकले ठूलो योगदान गरिरहेको बताए ।

उनले नेपाली बिमानस्थलमा पार्किङको अभावका कारण कतार एयरलाइन्सले घाटा बेहोर्नुपरेको जानकारी गराउँदै यहाँको एयरपोर्ट सुधारमा सहयोग गर्न कतार तयार रहेको बताए ।

राजदूत युसुफले नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई आवश्यकता अनुसार अद्यावधिक गर्न कतार तत्पर रहेको बताए । उनले  नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“हामीले नेपालमा क्रिकेट रंगशाला निर्माणमा पनि सहयोग गर्न चाहेका छौं”, राजदूत युसुफले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ