arrow

ट्रम्पको भ्रमणले भारत—अमेरिका सम्वन्धमा इट्टा थप्ने विश्वास

logo
एएनआई,
प्रकाशित २०७६ फागुन १२ सोमबार
trump-india-visit.jpg

ग्रेटर नोइडा। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणले भारत र अमेरिकाबीचको सम्वन्धमा सकारात्मक प्रभाव पर्ने विज्ञहरुले विश्वास व्यक्त गरेका छन्। पूर्वराजदूतद्वय जितेन्द्र कुमार त्रिपाठी र अशोक साज्जान्हारले दुई देशको रणनीतिक सहकार्यमा ट्रम्पको भारत भ्रमणले प्रभाव पार्ने अपेक्षा गरेका छन्।

“सन् २०२० देखि दुई देशको सम्वन्धमा उतार चढाव आइरहेको छ, ट्रम्पको अहिलेको भ्रमणले अमेरिकासँगको भारतको सम्वन्धलाई उचाईमा पुर्‍याउने देखिन्छ,” त्रिपाठीले भने। भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीका बीचमा रक्षा, उर्जा, ‘एच–वन बी–वन’ भिषा, भ्रष्टाचार नियन्त्रण र व्यापारलगायतका विषयमा छलफल हुने त्रिपाठीले अनुमान गरे।

अर्का पूर्व राजदूत अशोकले भने उनीहरूका बीचमा रणनीतिक साझेदारीता, आतङ्कवाद, रक्षा आणविक उर्जा सहकार्य, इन्डो प्यासेफिक रणनीतिलगायतका बारेमा कुराकानी हुनसक्ने बताए। तीव्र गतिमा विकास गरेको चीनलाई कसरी चुनौती दिने भन्ने विषयमा पनि उनीहरुले महत्वका साथ छलफल गर्ने अशोकको बुझाई छ। 

“चीनको वन बेल्ट वन रोड (ओविओआर) परियोजनाको विकल्पमा छुट्टै परियोजना आफुहरुले पनि ल्याउने र त्यसका लागि अमेरिका, भारत, जापान, अष्ट्रेलियालगायतका देशहरुका बीचमा गठबन्धन गराउने विषयमा पनि उहाँहरूले छलफल गर्नुहुन्छ जस्तो मलाई लाग्छ,” उनले भने। अफ्गानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजाने अमेरिकाको योजनाका बारेमा पनि ट्रम्प र मोदीले विचार विमर्श गर्नसक्ने उनले बताए।

व्यापार तर्फको विषयमा भने दुवै विज्ञले समान धारणा राखेका छन्। उनीहरुले यो भ्रमणबाट व्यापारको क्षेत्रमा केही सुधार भने अवश्य हुने अपेक्षा गरेका छन्। तर अमेरिकी विदेश मन्त्रालयले शनिबार भ्रमण कार्यक्रमबारे दिएको जानकारीमा यस भ्रमणका अवसरमा दुई मुलुकबीच व्यापार सम्झौता नहुने तर यसका विविध क्षेत्रमा छलफल गरिने र निकट भविष्यमा सम्झौता गर्ने आधार तय गरिने बताइएको थियो। 

ट्रम्प र मेलानियाद्वारा ताज महलको अवलोकन भ्रमण
अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाले सोमबार नै ताज महलको भ्रमण गरेका छन्। उनीहरूलाई उक्त अवसरमा सत्रौँ शताब्दीमा निर्मित विश्व प्रसिद्ध  भारतीय पर्यटकीय स्मारकबारेमा जानकारी गराइएको थियो। अहमदाबादबाट आग्रा पुगेका अमेरिकी उच्च पदाधिकारीले मुगल शासक शाहजहाँले आफ्नी प्रिय पत्नी मुमताज महलको सम्झनामा निर्माण गरेको स्मारकको ध्यानपूर्वक अवलोकन गरेका थिए।

आग्रा एयरपोर्टमा आइपुगेपछि ट्रम्प दम्पत्तीले उत्तर प्रदेशका गभर्नर आनन्दीबेन पटेल र मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए। पाहुनाहरूलाई स्वागत गर्न विमानस्थलमा लोक नृत्य तथा झाँकीहरू प्रस्तुत गरिएका थिए। उनीहरूलाई विमानस्थलबाट ताजमहलसम्म पुग्ने बाटोमा हजारौँको सङ्ख्यामा उपस्थित स्थानीयहरूले भारतीय तथा अमेरिकी झण्डा हल्लाएर स्वागत गरेका थिए। भ्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्पले ताजमहलमा राखिएको आगन्तुक पुस्तिकामा लखे, “ताजमहलले मोहित तुल्याउँछ। यो भारतीय संस्कृतिको समृद्ध र विविध सौन्दर्यको शाश्वत प्रमाण हो।”

ट्रम्प दम्पत्तीले भ्रमणका लागि विशेष छानेको उक्त ऐतिहासिक स्थलमा बेलायती राजकूमारी डायना, राजकूमार विलियम, केट मेडल्टन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको परिवार र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँलगायतका विश्वका उच्च पदस्थ अधिकारीहरूले पनि भ्रमण गरेका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीद्वारा ‘नमस्ते ट्रम्प’ कार्यक्रमलाई सम्वोधन
भारतको अहमदावादस्थित एक विशाल कार्यक्रमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एक विशाल सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेकाछन्।

अहमदावादस्थित सरदार पटेल स्टेडियम (रंगशाला) मा आयोजित ‘नमस्ते ट्रम्प’ शीर्षकको कार्यक्रममा विश्वका दुई शक्तिशाली अर्थतन्त्रको नेतृत्व गरेका दुवै नेताले आफ्नो सम्वोधनमा एकअर्काको प्रशंसामा व्यापक समय खर्चिएका थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतको आफ्नो पहिलो औपचारिक भ्रमण गुजरात राज्यबाट आरम्भ गरेका हुन्। गुजरातमा उनको भव्य सार्वजनिक स्वागत गरिएको छ। विमानस्थलमा राष्ट्रपति ट्रम्पलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कसिलो अङ्कमाल गरेर स्वागत गर्नुभएको थियो। दुई नेतावीच पटक पटक अङ्कमाल गरी विशेष निकट सम्बन्धको सन्देश दिइएको थियो। महात्मा गान्धीले १३ वर्ष बिताएका सावरमती आश्रमको अवलोकन भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पलाई साथ दिएका थिए।

राष्ट्रपति ट्रम्पको भ्रमण संसारका दुई सबैभन्दा ठूला प्रजातान्त्रिक देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउनमा केन्द्रित हुने बताइएको छ। ट्रम्पलाई स्वागत गर्न गुजरातमा हजारौँ मानिसहरू सडकका दायाँबायाँ उभिएका दृश्य देखिएको थियो।

भारतीय प्रधानमन्त्री मोदीले ट्रम्प र उनकी पत्नी मेलानियाको मन खोलेर प्रशंसा गरेका थिए। उनले ट्रम्पको भ्रमणले दुई देशको मित्रतालाई विशेष उचाइमा पुर्‍याएको बताएका थिए।

ट्रम्पले पनि भारतीय हिन्दुवादी नेता तथा प्रधानमन्त्री मोदीको प्रशंसा गरेका थिए। “सामान्य परिवारमा जन्मिएर भारतको कार्यकारी बन्नु भारतीय प्रधानमन्त्री मोदीको सफलता हो,” अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “मोदीको नेतृत्वमा भारतले मलाई दर्शाएको आतिथ्यता मेलै कहिल्यै भुल्ने छैन।”

भारत र अमेरिकाको नेतृत्व इन्डो–प्यासिफिक रणनीतिमा साझेदारीका साथै विश्व अर्थतन्त्र विकासका लागि महत्वपूर्ण रहने भनाई ट्रम्पको थियो। “हामीले इन्डो प्यासिफिक कार्यक्रममार्फत विश्वकै प्रगतिमा योगदान गर्नसक्छौं।”

उक्त अवसरमा अमेरिकी राष्ट्रपतिले आतङ्कवादसँग लड्न अमेरिकाले भारतलगायतका एशियाली मुलुकसँग विशेष सहकार्य गरिरहेको प्रसङ्ग जोड्दै अमेरिकाले आतङ्कवादलाई परास्त गर्न पाकिस्तानसँग पनि राम्रो सम्बन्ध रहेको उल्लेख गरेका थिए।

यसै प्रसङ्गमा राष्ट्रपति ट्रम्पले संसारबाट स्लामिक स्टेटजस्ता आतङ्कवादी सञ्जाललाई परास्त गर्न विश्व समुदाय एक हदसम्म सफल बनेको र आगामी चुनौतीको पनि एकतावद्ध भएर सामना गर्ने ट्रम्पको भनाई रहेको थियो। सम्वोधनलगत्तै उहाँ भारतको प्रसिद्ध ऐतिहासिक स्थल ताजमहलको अवलोकन भ्रमण गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ